राजेन्द्रप्रसाद अधिकारीयुग नायकको प्रतीक्षा र अभिशप्त झोलाहरु
एक कुशल र विवेकी कुनै युग नायकको व्यग्र प्रतीक्षा गरिरहेको छु जसले अभिशप्त झोलाहरुबाट टाउकाहरु झिकिदेवोस् र टाउकाहरुलाई टाउकोकै स्थानमा इमान्दारीपूर्वक प्रतिस्थापन गरिदेवोस्।
राजेन्द्रप्रसाद अधिकारी :
जीवनको कुनै कालखण्डमा
थुप्रै अन्तर्विरोध, विसंगति र संकटहरुको सामना गर्दै
निरङ्कुश सत्ताले लात बजार्दा
वा निर्मम भएर झोलामाथि जाईलाग्दा
अलिकति पनि विचलित नभई
अग्रपंक्तिमा रहने प्रतिवद्ध कार्यकर्ताहरुको कुममा
विचार, सिद्धान्त र आदर्शको प्रतीक बनेर
सगर्व, झन् दरिलो भएर
छिन्दा छिन्दै पनि
इमान्दार योद्धाहरुकै कुममा झुण्डिएर
आफ्नो गौरवशाली इतिहास
जोगाउदै आएका झोलाहरु
यतिखेर
टाउको विहीन ज्याद्राहरुको कुममा
तिनीहरुकै टाउको बोकेर
लत्रिएरै पनि झुण्डिनु परेकोमा
आजित देखिएका छन्
दिक्क छन्
र, विरक्तिएका छन्
झोलाहरु यतिखेर साँच्चै
विचलित छन्
विक्षिप्त छन्
र किंकर्त्तव्यविमूढ देखिएका छन्
म भने हिजोआज
एक कुशल र विवेकी कुनै युग नायकको
व्यग्र प्रतीक्षा गरिरहेको छु
जसले अभिशप्त झोलाहरुबाट
टाउकाहरु झिकिदेवोस्
र टाउकाहरुलाई
टाउकोकै स्थानमा
इमान्दारीपूर्वक प्रतिस्थापन गरिदेवोस्।
०००
१३ असार २०८२
चण्डाेल, काठमाडाैं








































Govendra
वैचारिक लेपले कुदिएको सुन्दर कविता । बधाई छ कबिज्यू ।