रुद्र ज्ञवालीपिर्के सलामी
सुक्दै मर्दछ सुस्त सुस्त रुख नै लाग्यो भने ऐँजेरू त्यस्तै घातक देशनिम्ति चटके राजा रजौटाहरू सत्ताको जग या धरातल भुली उन्मादमा उम्लिँदै नेता घुम्दछ टोल टोल चटके पिर्के सलामी लिँदै ।

रूद्र ज्ञवाली :
गाउँ टोल र चोक-चोक लुटका चल्छन् मेला उत्सव
चम्चा, चाप्लुस, चाटुकार चटके छन् मुख्य आयोजक
माला फूल बुके र भक्ति रसका सम्मोहमा लठ्ठिदै
नेता मक्ख छ हेर टेबल चढी पिर्के सलामी लिँदै ।
कस्तो हालत देशको छ अहिले कस्तो जनादेश छ
वास्ता किञ्चित छैन भाषण भने नौतालका ठोक्दछ
पाए मञ्च पुग्यो भुक्यो थुक लिई बेअर्थमा रौसिँदै
नेता देख्छु निमग्न भाट गणको पिर्के सलामी लिँदै ।
भन्दै देश विकास जोत्दछ धरा त्यो राक्षसी डोजर
देख्दै जर्जर छन् चलेर पहिरो पाखा पखेरा वन
वर्षायाम विकास पुग्दछ बगी बङ्गालमा हुत्तिदै
नेता हाँक्छ विकासका गफ बडा पिर्के सलामी लिँदै ।
उस्तै देख्छु म राजपाठ अघिकै संस्कार यो देशको
उस्तै लाग्छ चरित्र केवल कमी हो मात्र श्रीपेचको
मायाका उपहार भक्ति रसका चास्नी पिई मक्खिदै
नेता बाँड्छ हजार लाख सपना पिर्के सलामी लिँदै ।
के ल्याइस् गणतन्त्र यो मुलुकमा यस्तो नयाँ सभ्यता
राजाका अवतार प्रान्त अथवा छन् पालिका-पालिका
पैलेका मुखिया महाजन सबै श्रीसात जस्ता भए
राजा एक गयो बिना मुकुटका राजा सयौं जन्मिए।
सुक्दै मर्दछ सुस्त सुस्त रुख नै लाग्यो भने ऐँजेरू
त्यस्तै घातक देशनिम्ति चटके राजा रजौटाहरू
सत्ताको जग या धरातल भुली उन्मादमा उम्लिँदै
नेता घुम्दछ टोल टोल चटके पिर्के सलामी लिँदै ।
०००
भैरहवा
सीमान्त स्वर (२०८०)
Subscribe
Login
0 Comments
Oldest






































