पिँडालु पण्डितसुशासनको शैली र सिंहदरवारको सूचना
'बोली फुटेका लाटा हो । सुशासन स्वदेशीलाई चखाउन हो र ? विदेशीलाई सुनाउन पो हल्ला गरिएको हो त । यति कुरा पनि बुझ्दैनौं । बरु हाम्रो स्याहार सुसार गर न, दूधसम्म त खान पाउँछौ ।' भैंसी भट्टयाउँदै थिई ।

पिँडालु पण्डित :
जैसीथाेकको जमाने जैसी भैंसी चराउन जाँदा पनि कानमा रेडियो छाड्दैनथ्यो । सुशासनका कुरा उसले रेडियोमा धेरै सुनेको छ । त्यसैले ऊ आधुनिक सुशासनको प्रशासनिक शैलीमा कराइ र गराइ कति फरक होला जात्र उत्सुक छ । सुशासनलाई सुनु अघि सात दिनमा हुन्छ भनेको काम सत्तरी दिनमा पनि नभएको देख्दा उसलाई भानुभक्त बोलाएर भट्ट्याइदिऊँकि जस्तो लाग्थ्यो । तर भैरव अर्यालले भकुर्लान् भनेर ऊ चुपचाप लाग्यो । अनि अर्को मनले फेरि के विचार्यो भने भानु र भैरव जस्ता भोलिपीडित भाले पण्डितहरूलाई आजै बोलाएर भोलिको पटक-पटक बेइज्जत गर्नुभन्दा माजका कटमेरे कविहरूलाई कोट्ट्याएर भोलिको भजन भट्टयाउन सके कविहरूको कीर्ति पनि रहने र भोलिको भविष्य पनि सुरक्षित हुन्थ्यो होला । मान्छे कुरै नबुझी भोलिको विरोध गर्छन् । आखिर भोलिकै भरोसामा आजका मान्छे बाँचेका छन् भने भोलिकै विरोध गरेर पक्कै पनि कसैको पेट भरिन्न । आज भकारी भर्न सके भोलि बसीबसी भकुर्न पाइने भएकाले नै कहिल्यै कसैको भोलिको झोली नभरिएको हुन सक्छ ।
आज बिहान रेडियो खोल्नेबित्तिकै जमानेले सिंहदरबारको सूचना सुन्यो । ‘सिहदरबारमा जनगुनासो पेटिका राखिने ।’ सूचनाको सुनाइ पछि उसको मन सन्तोषले सुस्तायो र मनमनमा कुरा खेलायो। अहो, सिहदरबारलाई सबैले गाली गर्थे । सिंहदरबारले केही गरेन/गर्न सकेन । सबैको भनाइ यस्तै हुन्थ्यो । तर बिचरा । उतातिर सिहदरबारलाई भने जनताको पीरमर्का केही चाहै रहेनछ। अनि जनताका लागि के गर्नु पर्ने भन्ने नै थाहा नपाएपछि विचरा उसले पनि के नै गर्न सक्थ्यो त ? फेरि, जनताको बुझाइ पनि उल्टै छ- ‘चन्द्र शमशेरले सिंहदरबार बनाउँदा नै सुत्नका लागि बनाएका हुन्, सुन्नका लागि होइन । त्यसैले त्यहाँ पस्नेबित्तिकै आँखा बन्द हुनु, कान टालिनु र दिउसै निन्द्रा लाग्नु स्वाभाविकै हो ।’
वास्तवमा जनताको भनाइ र बुझाइ यस्तै छ । हामी जनताको पनि जातै त्यस्तो । कुरै नबुझी कराउँछौं। अब जे भए पनि कमसेकम पेटिका मार्फत् नै सही, जनताका पीरमर्का र गुनासो त सुनिने भयो । सुशासनको उदय भयो। आशा गरौं, आजको वैज्ञानिक युगमा त्यसैलाई अलिअलि प्राण दिएर उभ्याइदिने हो भने गुनासोप्रतिको कारवाहीको जिम्मा पनि उसैले तिन्थ्यो । जमानेले फेरि मनमनै गुनगुनायो – गाउँ-गाउँमा सिंहदरबार नआए पनि गाउँ-गाउँको गुनाना सिंहदरबार पुग्ने भो । गुनासोपेटिका पनि सिहदरवारको ढोकैमा राख्ने रे । कति सजिलो, कति सजिलो । भित्र जानै नपर्ने ।
‘यति काम त आज सकेरै जानुपर्छ ।’ जमानेले जोर हात ठड्याए पनि प्रतिक्रिया केही आएन । ‘जङ्गलमा भैंसी छाडेर आएको छ। अन्यत्र पनि दुईचारवटा काम छन् । सदरमुकाम आएका वेला सबै काम सकेर जान पाए घरिघरि घरतिरको काम छाडी यतातिर आएर अलमलिइरहन पर्दैनथ्यो।’ उसले अझै नम्रतासाथ आफ्नो कुरा राख्यो ।
अझै पनि केही प्रतिक्रिया नआएपछि उसले काठमाडौंका खानेपानीका धारा सम्झ्यो । जति घुमाए पनि, जति घोचे पनि पानी आउँदै नआउने। ऊ मुख नखोलीकन एकमन हाँस्यो। अनि रेडियो खोलेर सुशासनका कुरा सुनाइदिऊकि जस्तो लाग्यो उसलाई । गाउँ-गाउँमा पुगिसकेको खबर सदरमुकाम त पक्कै आइसकेको हुन्छ होला भनेर उसले अहिले रेडियो खोल्ने हतार गरेन । बरु, एकपटक फेरि विन्त्यायो ‘हजुर, म के गरौं त ?’
‘तपाईको काम आज बन्दैन । हाकिम सा’व बाहिर जानु भएको छ’-वल्लतल्ल सुशासन बोल्यो। ‘हाकिम सा’व कहां जानुभएको हजुर ?’ जमानेले बोलीसहित टाउको झुकायो । यसपटक भने छिट्टै जवाफ आयो ‘हाकिम सा’ब गोश्वारा जानु भएको छ ।’ जमाने अघिपछि पनि जफती मान्छे, झन् सुशासन मौलाएका बेला ऊ किन पछि हट्यो र ? फटाफट सोदै गयो- ‘त्यसो भए कहिले आऊँ त हजुर ?’ उसले पक्का गर्न खोज्यो ।
‘अब कहिले भनौं । आजको कामलाई कुनै पनि हालतमा भोलि नभन्नू भन्ने माथिदेखिकै आदेश छ। त्यसैले पर्सि आउनुस् न ।’- सुशासनले कारणसहित जवाफ दियो। ‘हवस् त’ भन्दै जमाने जतावाट जसरी आएको थियो त्यसै गरी त्यतै फर्क्याे ।
कहिलेकहीं यस्तै हुन्छ। ठीकै छ। अब, वरु अर्को कार्यालयको काम सक्नु पर्छ । उसले जे निश्चय गर्यो त्यही बाटो समात्यो । काम भएका दुईचारवटा कार्यालय नबिराईकन धायो र पटापट काम सक्यो ।
कति सजिलो- ‘हाकिम सा’ब हुनुहुत्र । गोश्वारा जानुभएको छ । पर्सि बाउनुस् न ।’ ऊ जुनजुन कार्यालयमा गयो, फटाफट यसै गरी काम भयो । न कसैले काम गर्दिन भन्यो, न ‘भोलि’ नै भन्यो । अनि त अलमलिने कुरै भएन ।
जमानेले गाउँ फर्कनु अघि जिल्लातिरै कुनै अफिसमा काम गर्ने गाउँकै एउटा केटो भेट्घो र खुसुक्क सोध्यो- ‘ए, बाबू । होइन, यी जिल्लाका हाकिमहरू कोही पनि कुर्सीमा भेटिंदा रहेनछन् । सबै गोश्वारातिर अरे। होइन, यो के खालको गोश्वारा रहेछ ? तिमीले बुझेका छौ ?’
‘ए, बाजे । यो पनि कहीं हल्ला गर्ने कुरो हो र ? खुसुक्क थाहा पाइराख्ने भए थाहा पाइराख्नोस्, त्यो गोश्वाराको नाम मेरिज गोश्वारा हो । त्यहाँ सानुमा जुटपत्तीदेखि ठूलोमा मेरिजसम्म चल्छ । खान-पान-भिडान सबै एकै ठाउँमा हुने भएकाले यसलाई उनीहरू गोश्वारा भन्छन् । यो गोप्य नाउँ हो। यो नाम बाहिरियो भने फेरि अर्को न्वारन हुन्छ। कसैले पत्तै पाउँदैनन्। नयाँ जमाना नयाँ दाउ ।’ केटाले आफ्नै मान्छे ठानेर रहस्य खोलिदियो ।
कसलाई के भन्नू । जमाने लुखुरलुखुरे घर फक्यों। घरको आँगन टेक्नेवित्तिकै छोरी कराई- ‘बाबा, छिटो आउनुस् न, काठमाडौंबाट दाइको फोन आएको छ ।’ हस्याङफस्याङ गर्दै जमानेले फोन उठायो । ‘हेलो, अँ बाबू काम बन्यो ?’ ‘छैन बाबा, आज पनि बनेन ।’ ‘अँ, आज के भएर बनेन त ? छोराको जवाफ पूरा हुन नपाउँदै जमानेले बीचैमा आफ्नो जिज्ञासा राख्यो ।
‘खोइ ! मन्त्रीज्यूकै कुन्नि के काम बनेको छैन अरे । तारनतार बैठकको बैठक भइरहन्छ भन्छन् । मन्त्रालयमा कतिखेर आउने नआउने नै ठेगान हुँदो रहेनछ । मन्त्रीज्यू नभएपछि अरू सबै कुवाका भ्यागुता जस्ता पाखा लागिहाल्दा रहेछन् ।’- उसले बाबुको चित्त बुझाउन खोज्यो ।
जमाने त्यसै जिल्लिने मान्छे होइन । उसले छोरालाई हकार्याे- ‘आजै मेरो काम हुनुपर्छ भनेर भनिनस् त ?’ ‘भनें नि भन्न त । भनेर मात्र के गर्नु । मन्त्रीज्यू नै आए पनि आज काम नहुने रहेछ । जिल्लातिर बुझ्नुपर्छ रे। पर्सि आउनू भनेका छन् । मैलै त आजै सकिदिनुस् नभए भोलि भनेको, मान्दै मानेनन् । उनीहरूलाई गाल पर्छ रे। आजको कामलाई कुनै पनि हालतमा भोलि नभन्नू भन्ने माथिको कडा आदेश छ रे । त्यसैले आजको काम भोलि गर्न मिल्दै मिल्दैन अरे ।
नीतिगत रूपमा नै त्यस्तो कुरा भएपछि म एक्लैले कसरी जोड गर्नु’- उसले आफ्नो निरीहतां प्रकट गर्दै बेलीबिस्तार लगायो ।
… लौ जा । कुरा गर्दागर्दै फोन काटियो । अनेक प्रयत्न गर्दा पनि फोन सम्पर्क हुन सकेन । जमानेलाई एकपटक जङ्गिन मन लागेको थियो । फेरि यसो सोच्यो- जमिन परे जनता जनार्दनको जमघट जुराएर मात्रै जङ्गिनु वेस होला । ऊ चुप लाग्यो । तर बाउभन्दा छोरी निकै सचेत रहिछ । र, एक्कासि नारा लगाइहाली- ‘भोलिवाद मुर्दावाद ।’ जमाने झसङ्ग झस्क्यो । भोलिवाद-‘मुर्दावाद’ कि ‘जिन्दावाद !’ उसले भवाट्टै खुट्टयाउन सकेन । सुशासनको प्रशासनिक शैली र सिंहदरबारको सूचना फेरि एक/एक सम्झन थाल्यो । अनि एकपटक आँट गरेर मुख खोल्यो, ‘भोलिवाद…’ फेरि अड्कियो। अझै पनि पछिल्लो शब्द के भन्ने, के भन्ने ? ऊ यहींनेर अलमलियो ।
साँझ परिसकेकाले यतिखेर जङ्गल छाडेकी जमानेकी भैंसी पनि घर फर्किसकेकी थिई । भैंसी उनीहरूका मुखमा हेरेर वाई-वाई कराउन थाली । जमानेले भैंसीलाई हेर्दै आँखा जुधायो । उसलाई यतिखेर यस्तो लाग्यो- ‘बोली फुटेका लाटा हो । सुशासन स्वदेशीलाई चखाउन हो र ? विदेशीलाई सुनाउन पो हल्ला गरिएको हो त । यति कुरा पनि बुझ्दैनौं । बरु हाम्रो स्याहार सुसार गर न, दूधसम्म त खान पाउँछौ ।’ भैंसी भट्टयाउँदै थिई ।
जमानेले मुन्टो हल्लायो । अहो, भैंसीले पनि नपत्याएका कुरा हामी पत्याउने । हो, बोली फुटेर मात्र के गर्नु ? हामी लाटै हौं ।
०००
गोरखापत्र’ २०६१/६/९
थाेते हाँसाे (२०५१)
Subscribe
Login
0 Comments
Oldest







































