दिनेश पाण्डेयजलो चलो भलो हलो र फलो साथी
झिनो नाता छ साथीको चिनजान छ केवल सकिन्छ हाइ–हेलोमै छैन केही अरू भर न पीडामा कुनै चिन्ता बधाई हर्षमा न छ हलो साथी हलो भन्दै हलोसम्मन् पुकार्दछ ।

दिनेश पाण्डेय :
१) जलो साथी
मैले उज्यालिई हिँड्दा औँसीको रात बन्छ ऊ
हाँसो मेरो कतै देखे रिसले अग्नि बन्छ ऊ
बधाई मुखले भन्छ भित्र शोक मनाउँछ
साथीको ठाउँमा बस्छ साथी बन्न डराउँछ।
मेरो सुख उसैभित्र आगो बनेर पोल्दछ
आँखामा क्रोध सल्काई ईर्ष्या बोकेर जल्दछ
ताली बाहिर ऊ दिन्छ भित्र छन् विषका घडा
शत्रु चाहिन्छ को अर्को जलो साथी भए कडा ।
२) चलो साथी
सुख दुःख र यात्रामा युद्धमा पर्वमा सँगै
भरोसाको छ पर्याय अघि लाग्छ उही सधैँ
बुझिसक्छ अलङ्कार आँआँ गर्न नपाउँदै
झोला बोकेर निस्कन्छ मुसुक्क मुस्कुराउँदै ।
बहाना न त छन् केही न त केही थकान छ
मभन्दा पहिले नै ऊ बाटामा पुगिसक्तछ
म लड्दछु जहाँ, टेक्ने ढुंगो बन्दछ ऊ सदा
जिन्दगी सजिलै चल्छ चलो साथी सँगै हुँदा।
३) भलो साथी
मित्रमा जे जसो पर्छ ऊ आफै अघि सर्दछ
टप्किए आँसुका थोपा पछ्यौरी ऊ फिँजार्दछ
माया गर्छ बिनास्वार्थ भरोसाको मियो छ ऊ
गहना जिन्दगानीको र आशाको दियो छ ऊ ।
पीडामा म परे काहीँ उसको नेत्र बग्दछ
हार मेरो भए काहीँ उसको मुटु दुख्तछ
वैरीका वशमा पर्दा आफै ऊ ढाल बन्दछ
भलो साथी भए ज्यानै दिनमा अघि सर्दछ।
४) हलो साथी
सकिन्छ हाइहेलोमै यो सम्बन्ध विचित्र छ
कस्तो सीमित नाता हो नामको मात्र मित्र छ
दुःखमा न कुनै फोन सुखमा नै न साथ छ
भेट्दा ऊ खिस्स हाँसेर आफ्नै मार्ग पधार्दछ ।
झिनो नाता छ साथीको चिनजान छ केवल
सकिन्छ हाइ–हेलोमै छैन केही अरू भर
न पीडामा कुनै चिन्ता बधाई हर्षमा न छ
हलो साथी हलो भन्दै हलोसम्मन् पुकार्दछ ।
५) फलो साथी
मात्रै फेसबुके नाता कमेन्ट अनि लाइक
नयाँ यी Virtual साथी status मा मात्र सीमित
न दुःखमा कुनै साथ न त सङ्कटमा सँगै
साथ छन् स्क्रिनमा बस्ता फलो साथीहरू सबै ।
सुखमा हरियो हुन्छ दुःखमा अफलाइन
ऊ मेरो घाउ देख्तैन फोटोमा दिन्छ साइन
जिन्दगी युद्ध हो मित्र ! मात्र यो स्क्रिन होइन
फलो अनफलो मात्रै हाम्रो सम्बन्ध होइन ।
फलो अनि हलो साथी उस्तै लाग्छन् विशेषतः
अप्रत्यक्ष र प्रत्यक्ष देखिन्छन् परिवेशत:
जलो साथी जहाँ मिल्छ सर्वदा ढोगिहाल्दछु
उसकै मेख मार्दै म सदैव अघि बढ्दछु
चलो अनि भलो साथी देवतासरि छन् अरे
साथ दिन्छन् चलोवाला माथ दिन्छन् भलो परे
परियो केकसो आफू मित्रमाहात्म्य यो सुनी
भन्नुहोला, नजानेमा पढ्नुहोला अझै पनि ॥
०००
काठमाडाैं
०८२/०९/२०/८:३०
Subscribe
Login
0 Comments
Oldest








































