कुमार खड्काऊ अनि उसको मोर्चा…!
बजाउछन् मदारीले झैँ भालु नाचका डङ्काहरु, अनुनय विनयका अभिनयमा तात्तातो नगदको प्याकेज सहित, प्रतिनीधिमूलक हाजिरीमै दिलाउँदैछन् विश्वास ।

इ. कुमार खड्का :
परिवर्तनको नाउँमा
कालो मसान जगाउँदै,
खुराफाती दिमागले
सैतानलाई काँध चढाउँदै,
राहु र केतुसँग मीत लगाउँछ
अपुतालीको साम्राज्य स्याहार्न,
झुकाउन खोज्दैछ वर्तमानलाई
कर्तुतका ताण्डवमा सवारी चलाई,
मायावी जादु प्रस्तुत गर्दैछ
यथास्थितिमै रम्ने नियतिले,
धमाधम जुवाको अड्डा जमाउन
निरन्तर दुष्प्रयासमा छ ऊ ।१
पापमोचनका रसिद
वकपत्रका पर्चाहरु,
भाडावाल स्पिकरमा
नाम संकिर्तनका चर्चाहरु,
हावामा बेलुन झैँ उडाउँदैछन्
प्रतिस्पर्धाको दौडाहामा,
स्वस्थानीका नवराज झैं
शून्य समय पनि बिर्सदै अब,
ढुक्छन्, गौँडा र गल्लीहरु
जबर्जस्ती सम्हाल्छन्
किनबेचका मोर्चाहरु ।२
देखिन्नन् व्यवहारमा कतै
शुद्धताका दङ्सोहरु,
बजाउछन् मदारीले झैँ
भालु नाचका डङ्काहरु,
अनुनय विनयका अभिनयमा
तात्तातो नगदको प्याकेज सहित,
प्रतिनीधिमूलक हाजिरीमै
दिलाउँदैछन् विश्वास
र,
अझै बिछ्याउँदैछन्
आश्वासन, प्रतिबद्धताका जालोहरु,
प्रलोभन र किरिया खाँदै
तैनाथ गरिरहेछन् ,
अन्तिम शस्त्रास्त्रहरु । ३
अस्तु…!
०००
१९ नाेभेम्वर २०२२
कागेश्वरी मनोहरा-२, काठमाण्डौं ।
Subscribe
Login
0 Comments
Oldest








































