साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डिभी, मेरी स्वास्नी र म

Nepal Telecom ad

कहिं नभएको जात्रा हाँडीगाउँमा भने जस्तो हिजोआज काठमाडौंमा अमेरिका जाने सपना देख्नेहरूको जात्रा नै लागेको छ । यता जाउँ डिभी, उता जाउँ डिभी । घरघर, टोलटोल बाटो–घाटो जहाँ तहिं डिभी भर्ने–भराउनेहरूको कुँडुलो नै लागेको छ । घरघरमा डिभी भराउनेको मुहुनीदार होर्डिङ बोर्ड झुण्डेका छन् । बाटामा हात हातमा आ–आफ्ना पक्षमा मपाइत्वले भरिएका कागजका आकर्षक लिखत बोकेका लड्काहरू छन् । बाटो हिंडी साध्यै छैन, घर गईसाध्यै छैन, अफिस पुगीसाध्यै छैन, होटल, रेस्टुराँ, सार्वजनिक स्थल सबका सब उही काइते सपनाका खेती गर्नमा ब्यस्त छन् । चोर डाँका, फटाहा, हेपाहा, लुटाहा, कुटाहादेखि ज्यानमारा, घरमारा, देशमारा, भेषमारा, सभ्यता र संस्कृतिमारा, सबका सब डिभीको वायुपंखी घोडा चडेर अमेरिका जाने धुनमा ब्यस्त छन बा !
हुँदा हुँदा डिभीको टिबीले मेरी सोझी बाहुनीलाई पनि छोएछ, आधा बिहानाँ उठेर सुचीखोरतिर के पसेको थिएँ एक्कासि मेरो सुचीखोरको ढोका ढ्याक टकटक ढ्याक टकटक, ढ्याक टकटक गर्न थाल्यो । पहिले त म झस्किएँ एकोहोरो आवाजले, बोल्नु बास्नु छैन ढोकै हान्या छ, हान्या छ, उठुँ उठी साध्यै छैन, मितव्ययीको बिल्ला भिरेर महँगीको आतङ्कमुन्तिर जसोतसो बाँच्न खोजेको म नाथे बुढी भैंसीको सिनो जस्तो मोमो सेतो पकौडी जनैलाई दाउमा राखेर लुकी लुकी खाएको पेटभित्रको खिर्लिप्पै झर्ला जस्तो गरी बुढी भैंसीले आतङ्क मच्चाई रहेको छ । भर्खर भर्खर हनुमाने कट्टुु खोलेर कमट नाउँधारी चईनामट्टीको ओखल मास्तिर चढेर एक फायर के गाथ्यो आमाशयै झर्ला जस्तो गरी ढोका बज्न थाल्छ बा ! यता बुढी भैंसीको आतङ्क, उता ढोका बजाउनेको आतङ्क, अनि छोड्दैन त म मुलो सोझो बाहुनचरीको हंसले बस्नु पर्ने आफ्नो ठाउँ । जमाना अनुसारको कुरो पनि त हुन्छ, बन्दुकेहरूको जमानामा बिहान बिहानै सुचीघरमै सातो खाने गरी ढोका बज्नु चानचुने कुरो हैन । मृत्युका ठेकेदारहरूलाई आ–आफ्ना भागको कोटा पूरा गर्नु छ, कोटाको गोटामा तिनका कुरुप चित्तमा म मुलो भातेको नाम लेखिन के बेर ! कालले कुत्कुत्याएपछि मर्दिन भनेर धर पाइने हैन । जे त होला यही सोचेर म छेर्दाछेर्दै चिच्याएँ को हो हँ ?
म, म पिङ्कीकी मम्मी क्या ।
ए मेरी बास्सै काल त कालै त रै छ नि ! टाउको खाने काल सम्झिँदै झनक्क रिस उठेर आउँछ मलाई । हुँदाहुँदा यो काउछोले मलाई अब सुचीखोरमा चैनले सुची गर्न पनि नदिने भई । बोलुँ बोली साध्यै हुन्न त्यसको थुतुनो उहिलेका मुग्लानिया भाइले ‘छे महिने’ छुट्टीमा घर आउँदा ल्याएको ट्रान्जिस्टर रेडियो जस्तो बोल्न थालेपछि बिसाउनै नजान्ने फेरि भएन यो बजिनी मया पिरेमको तीन महिने कोर्ष पूरा गरी ल्याएकी परी, त्यो पनि ठाउँ कुठाउँ दिउँसै ‘ए प्रिया तिम्रो लागि ऊ तो अक्कासको तारा जुन टिपी दिउँ’ भनेर ल्याएकी अब झगडा गरेर बङ्गरा झार्ने कुरो परे लाजको मर्नु । बाउले गाउँबाट पढ्न पठाएको पैसा उडाएर कहिले नगरकोट, कहिले बालाकोट, कहिले धुलीखेल कहिले जाउलाखेल, कहिले सिनेमा घर कहिले डिस्को घर गरी लाको प्रेम । बाउले छोरो डाक्टर बनोस् भनी भैंसीको दुध पानीमा हाली शुद्ध घ्यूलाई वनस्पती घ्यूले झानी बेचेर पठाइदिएको पैसाले पिङ्कीकी आमालाई मिनीस्कर्ट र लिपिस्टिक किनियो । संसारमा ऊ बाहेक कसैलाई देखिएन । पढाई पनि छाडियो आई.ए. त बल्लबल्ल पास भइयो बि.ए.मा सिलटिमुर खाइयो । डाक्टर अगाडि ‘कन’ थपियो त्यो पनि स्वास्नीको थुईक्क पाजी म, इस् खा ला । बोल्नु पनि भएन नबोलेर पनि चलेन त्यसैले बडो तपस्वी परासर ऋषि जस्तो बनेर म लागें उसलाई सोध्न ।
‘किन के भयो डार्लिङ ?’ मेरो प्रश्न थुतुनोबाट खस्न पाको छैन मेरी काउछा जस्ती डार्लिङको अर्डर शुरु भयो, ‘एउटा जरुरी कुरो छ, झट्टै बाहिर आउन ।’ त्यसका जरुरी कुरोको आन्द्राभुँडी, आमाशय र ती भित्रको बिष्टाको अन्तरकुन्तरको सातपुस्ते परिचय उहिल्यै पाईसकेर पनि म मुलो फिष्टाले के गर्न सक्थें र राणा शासनाँ नजन्मेर यो बहुदल बेलाँ जन्मिएपछि तिन्का टाँगमुन्तिर नाक जोतेर बाँच्नै पर्दो रैछ, खाने बेलाँ सस्तो राम्रो भरपर्दो बुढी कचेरे भैंसीको एक चोक्टी मासुको दश गेडी पकौडी खाएको, अहिले सिङ्गै एक दर्जन बजिनी बुढी भैंसीहरूको जुधाई चले जसरी पेटाँ चलेको तुफान र आँधी बेहेरीलाई नछेराई स्वास्नीका पाउमा त्वम शरणम् श्रीमतीजी भन्नै परेको छ । खाने बेलामा आँखा चिम्लेर हसिया खाईयो हग्ने बेलामा दुःख पाइयो । थुक्क साला भाते जीवन । मलाई आफ्नै जोवनदेखि झनक्क रिस उठ्छ तर गर्नु के ? बाहिरबाट स्वास्नीले अर्डर गरेको गर्यै छ, अर्डरको बोर्डर पार गरी भने कुट्न के बेर ? बहुदल काल जो छ आईमाईको बेला आएको छ । फेरि मलाई मर्न पनि त डर लाग्छ नि । मेरी आम्मै मर्न भन्दा पनि मरेपछि त्यत्रा विधि दाउराले पुरेर दन्दनी आगो लगाएर भकाभक भदौरे मकै पोल्दा झैं पोलेको सम्झँदा मलाई साह्रै डर लागेर आउँछ । यसैले त म मरूँ भन्दाभन्दै मर्न नसकी स्वास्नीले जे भन्छे त्यही मानेर बाँचीरहेको छु । साला जीवन बिनासित्तीमा यतिखेरसम्म पनि यत्ति सोच्दै म लागें ढोका खोल्न ।
ढोका खोल्न पाको हैन पिङ्ककी सिन्की त्यान्द्रे मम्मी गम्लङ्ग अँगालो हाल्न आई, बोल्नु बास्नु छैन त्यसले यत्ति चुमी यत्ति चुमी, यत्ति चुमी उफ् के भनुँ– अत्तालिएर भएको एक मुठी प्राण पनि धन्नै खुस्केको ! प्राणको मायाले त्यसका जगल्टाँ समातेर म बल्लबल्ल गरी फुत्केर पसें सुचीघरभित्रै र थुनें ढोका भित्रबाट तर उसले पिछा छाडेकी हैन । प्राण जोगिएकोमा दङ्ग परेको म आँखा चिम्लेर स्वाँ स्वाँ गर्दै ट्वाईलेट देउता रक्षा गर भनेर ध्यान गर्न के थालेको थिएँ पछाडिबाट टाउकाँ कसैले प्याट्ट हान्छ बा ! पहिले त म नराम्रोसँग तर्सें अहो चर्पी देउता मसँग रिसाएछन् बुढा भनेर तै डराई डराई हेर्छु त बजिनी मुसुमुसु हाँस्दै उभिएकी छे बा ! पत्याउनै गाह्रो ! कतै भूतै हो कि या चर्पी देउताले आफ्नी साखै स्वास्नीलाई मेरी स्वास्नी बनाएर मेरो हुर्मत लिन पो पठाएका हुन् कि ! म विलखबन्दमा परेर ट्वाँ परेका आँखाले त्यसलाई हेरिरहें तर ऊ मरीमरी हाँस्न पो थाल्छे बा । शङ्का माथि शङ्का, मेरो मन डरले उडी उहिलेको लङ्का अहिलेको श्रीलङ्का पुग्छ । हैन कतै यो शङ्काले मेरो श्रीलङ्का जलाउन नपाउँदै मोरीले हाँसो रोक्दै भन्न थाल्छे– ‘मलाई पहिल्यै थाहा थियो तिमी डरपोक छेरुवा चर्पीमै पस्छौ भन्ने कुरो त्यसैले म तिमी भन्दा पहिल्यै पसेकी थिएँ । उसको कुरोले मेरो लङ्का पुगेको मन त फक्र्याे तर मुटुको ढुकढुकी ज्यूँका त्यूँ अडेको थियो, त्यसले फेरी अँगालो हाल्न आई र फेरी चुमी मलाई । म बबुरो बुख्याँचा जस्तो गर्न के सक्थें र चुपो लागेर बस्नु बाहेक । यही त थियो मेरो बाँच्ने आधार ।
म चुपो लागेर उभिएको उभ्यै छु उसले मेरा सुकेका गालामा चुमेको चुमै छे, के जाति गर्नेलाई भन्दा देख्नेलाई लाज त्यो पनि गोब्रयाउने ठाउँमा, देउताको नाम जप्ने बेलाँ, बुझी नसक्नुको राशलीला– छ्या के भनेको थिएँ त्यसले मेरा गाला चुम्न छोडेर मेरो चुच्चे नाकमा दुई औंलाले ट्याप्प समातेर बोल्न थाली– बुढा हामी पनि अम्रिका जाने हैन ?
हँ ? अम्रिका जाने रे ? त्यसका सिङ् न पुच्छरको पुङमाङ कुराले मेरो मनमा आजकल शहरमा कहिलेकाहिँ त्रास फैलाउन आईपुग्ने सकेट बमको आतङ्क फैलिन थाल्छ– केको अम्रिका ? कहाँको अम्रिका ? हगनको बेला लगन, के भन्छे यो ?
‘हो बुढा त्यो के जाति लोटरी डिभी कि सिभी भरेर अम्रिका जान पाइन्छ रे । हामी पनि त्यो भर्न जाउँ न है ।’ ए मैले बल्ल बुझें त्यसका चुम्मनको असल्ली आशय । लैजानेले लाने हो कि हैन जाने चाहिंले जान्छु जान्छु भनेको यही हो । हिजो आधारातसम्म रबरका चुईगम जस्ता सिमापारिका भैयाले बनाएका मुम्बैया सिरियल हेरेर सम्चार सुन्ने मेरो ईच्छामाथि निषेधाज्ञा लाउने उसले बिहान–बिहानै कहाँबाट अनिकालको सम्चार ल्याई ? पेटभित्र सोच्दा जति सोच्यो उत्ति अनौठो लाग्छ बा । अनौठो लागेर सोच्नु के छ ऊ फेरि लागि चिच्याउन– ‘ए बुढा हामी नि जाउँन अम्रिका ।’
भन्न पाको छैन कसरी लगूँ अम्रिका, तेरो बाउको घराँ जाँदा जस्तो हो अम्रिका ? छोरीसँग रिस उठे पनि उहीं पुग्ने, पोइसँग रिस उठे पनि उहीं पुग्ने, यो नभए पनि उहीं उ नभए पनि उहीं । जे होला होला भनेर उसको थुतुनाँ बुझो लाग्ने गरी भन्दिएँ मैले लौजा ।
मेरो अररो भुकाइमा हाँडीमा मकै पड्के झैं पड्किँदै गई मेरी स्वास्नी, ‘दुनियाँ साराले डिभी भरे रे, उसका कुन्नी को हुन् साथी र तिनका पोइले पनि भरे रे, सबैले तँ पनि भर्ने हैन भने रे । आफ्नो त कर्मै यस्तै, कहिल्यै न मिठो खानु न लाउनु । सबै साथीको कस्तो हाई हाई छ आफ्नो भने सधैं यही दुःख । के गर्नु पोई नै उस्तो भएपछि कसलाई दोष दिनु ! सत्ताका मालिक ओहोदाका सालिक हुँदै चोर, फटाहा, गुण्डा, लोफर, आवारा, भातमारा देशमारा भेषमारा, स्वास्नीमारा, सहेंलीमारादेखि डाक्टर–कण्डक्टर, नेता–अभिनेता, गुण्डा–मुसुण्डा, जोगी–भोगी, हिंजडादेखि पिंजडामा सुगा बेच्नेसम्मका साराका सारा वृत्तान्त सुनाउँदै मेरी स्वास्नी आफ्नो पुर्पुरोको तहसम्म ओर्ली । म नाथे अन्धाले सुने जसरी चुपो लागेर सुन्दो छु श्रीमती पुराण । पुराणको अर्को अध्यायमा ऊ भनीरहेकी थिई– ‘त्यही बोर्डिङको मास्टरी गर, यहीं कुहेर बाँच लुते कुकुर झैं । कहिले महिना मर्लार प्रिन्सिपलले तलब देला भनेर ढुकी बस्ने भाडाको टट्टुु ।’
हँ… भाडाको टट्टु…!! स्वास्नीको कुरोले एकफेर म चेतै छोडेर तर्सें । हनुमाने कट्टु र ढेडु गन्जी भिरेर सुचीखोर छिरेको म साँच्चै कति विचित्रको नमुना देखिएको रै छु आफैलाई हेर्दा कुरीकुरी लाग्ने विचित्रको नमुना । यसो सोच्छु मोरीले त्यसै भनेकी छैन भाडाको टट्टु ! जीवन खिर्लिप्पै विचित्रसँग बित्दैछ । ज्यान उस्तै । जागीर उस्तै । देश बिनाको भेष भने जस्तो । म नाथेको साराको सारा विचित्र । अनि त हेप्दिरैछ ससुराकी पुत्रीले । मलाई एक प्रकार इख लाग्छ सोच्छु– हँ भाइ थोत्रा थोते बुढाहरूले भन्थे– इख नभएको मान्छे र विष नभएको सर्पको जुनी के जुनी । लौजा जे जे होला होला, रामै्र होला नभए नराम्रै होला । अर्थोक भुत्रै नि हुने छैन । यही सोचेर म पनि सिन्की त्यान्द्रे स्वास्नीलाई अघि लाएर त्यसका पछि लिखिर लिखिर अम्रिका जाने बन्दोबस्त मिलाउनका लागि डिमी जाने निर्णयमा पुगें ।
नारायणस्थान, बागलुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x