साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ढ्याङढ्याङ ढिस्

Nepal Telecom ad

नेपाली लोकगीत र लोक संस्कृति एकदमै काम नलाग्ने भइसक्यो । पुरानोको ठाउँमा नयाँले लिनु अस्वाभाविक होइन । पुराना पातहरू झरेपछि मात्र नवपालुवा पलाउँछ । प्रजातन्त्र प्राप्तिपछिको खुल्लापनको खुल्लमखुल्ला उपयोग गर्दै नेपाली गीत र सङ्गीतले आफूलाई पप संसारतिर प्रवेश गरायो । पपका नवपालुवाका निम्ति नेपाली लोकगीत अब नेपाली भएन । अब त यो असभ्य, पाखे, गाउँनै लाजमर्दो र इज्जत जाने ठहरियो । क्या वात, सभ्यताको विकास र श्रीवृद्धि भनेको यही हो । लोकगीत गाएरै प्रतिष्ठाको चुलीमा पुगेका घागघाग गायक र सङ्गीतकार समेत ढिस् र ढिस्यु गीत र सङ्गीततर्फ लहसिए किनभने आफ्नो प्रतिष्ठालाई चुलीमै कायम राख्न त्यसो नगरी नहुने भयो । लोकगीत जस्ता थाङ्ना गीत गाएर पपुलर र प्रतिष्ठित हुने जमानाले अब नेटो काटिसक्यो । लोकगीत पनि अब कुनै गीत हो र ? पप नगाउँने पानीमरुवा गायक त सिर्फ गाइने हो गाइने । गीत सङ्गीतका क्षेत्रमा आएको यो क्रान्तिलाई कसैले पनि भ्रान्ति नदेखे हुन्छ ।

आधुनिक नेपाली गीत सङ्गीतको चिन्तन, चेतना र अभिरुचिलाई रेडियो नेपालले खूवै महत्व दिएको छ । रेडियो नेपालले आम स्रोताहरूको प्रचण्ड आग्रह र अनुरोधको उचित कदर गर्दै आफ्ना धेरैजसो कार्यक्रमहरूमा यिनै पप गीतहरू घुसार्न थाल्यो । नेपाल टेलिभिजनमा समेत पपको थप दबाव पर्नु स्वाभाविक थियो । दनादन ढ्याङढ्याङ ढिस् प्रकृतिका गीतहरू निर्माण गरिए, तिनीहरूलाई मेहनतपूर्वक भिजुलाइज्ड गरियो । राष्ट्रिय र क्षेत्रीय प्रशारणहरूमा तिनीहरूलाई खुरुखुरु घचेडियो । तर त्यतिले मात्र आम स्रोताहरूको अभिरुचिको मात्रालाई तीब्र गतिमा वृद्धि गर्न सकिएन । अनि त मौकामा चौका फाल्दै निजी क्षेत्रमा एफ.एम. नामका स्टेसनहरू स्थापित हुनुको अनिवार्य आवश्यकता टड्कारिंदै गयो । बस्, एफ.एम. स्टुडियो बज्न थालेपछि भने पपगीत सङ्गीतले नेपाली माटोलाई पप मात्रै उम्रिने बाटो दिन थाल्यो । दुई चार वर्षमै नेपाली गीत सङ्गीतको कोठेवारीमा पप बाहेक केही नफल्ने भयो । क्या वात ! सभ्यताको विकास र विस्तार यसरी न हुन्छ ।

देखासिकी गरी खा, आहारिसे मरिजा भन्ने उखानलाई चरितार्थ गर्दै ओठ निचोर्दा दूध झर्ने कलिला केटाकेटी आङ मर्काउन र खुट्टा उफार्न थाले । उनीहरूको पप गीत गायन यति स्तरीय सावित भयो कि एफ.एम.को कुरै नगरौं रेडियो नेपाल र नेपाल टेलिभिजनमा एकै दिन चारचार पटक प्रशारण हुन थाले । अब हाम्रा थाङ्ने लोकगीतहरू छानीछानी फलप । त्यसका सङ्कलक र गायकहरू सबका सब फलप । राष्ट्रिय गीतका राष्ट्रियता पनि फलप । जागरण गीतका जाँगर पनि फलप । अन्य आधुनिक गीतका आधारहरू पनि फलप । गीत सङ्गीतका बडेबडे सम्राट नारायण गोपाल, बच्चु कैलास, रामेश, रायन र शम्भूजीतहरू समेत फलप भएको देखेपछि विचरा कुमार बस्नेतहरूको होसहवास नउड्ने कुरै भएन । गायकको प्राण भनेकै उसको प्रतिष्ठा हो, अब त्यही बाँकी नरहने भएपछि “मर्नुभन्दा बौलाउनु निको” सम्झेर बबुराहरू ओर्लिए पपतिर । ढ्याङढ्याङ् ढिस्, ढ्याङ्ढ्याङ ढिस्… ।

यसरी पाका पुराना र गीत सङ्गीतकै क्षेत्रमा दशकौं गुजारिसकेकाहरू सर्लक्क यता लहसिएपछि पपको इज्जत र प्रतिष्ठाले थप उचाइ टेक्ने नै भयो । फेरि नेपाली लोकगीत वा शास्त्रीय गीत गाउन गायकले जति साधना गर्नु पर्छ, पप गाउन कुनै शीप र साधनाको जरुरत पनि छैन । स्वाभाविक स्वरलाई अलिकति घोर्ले र खस्रो पारी केही अप्ठ्यारो पाराले शब्दको उच्चारण गरी ढ्याङढ्याङ् ढिस्को एकोहोरो तालमा मिसाइदिनासाथ काम तमाम । फेरि पप गीतका गेडाहरू अर्थात् शब्दहरूका निम्ति न चेतन कार्की चाहियो न रत्न शमशेर थापा, न माधव घिमिरे चाहियो न दिनेश अधिकारी ! यी गीतकारहरू त सबका सब फलप भइसके । यिनीहरूलाई फलप ख्वाउने पप गीतका शब्दहरू अर्थात् गेडाहरू यस्ता हुने गर्छन्, तपाईं सुन्नु हुन्छ ?
तिमीलाई भेट्न ओ…ओ….ओ….
तिम्रो घर गाको ढिस्
तिम्रो ड्याड रिसाउ“दा ओ..ओ..ओ…
आँखा यत्रो भाको ढिस्
दाइ मोरो सोम फेरि इ…इ..इ.
घुरेर हेर्छ ढिस्
मलाई साह्रै रिस उठ्यो
तँ मोरी भने काँ गाको ढिस् । ढ्याङ्ढ्याङ ढिस्…. ।

यस्तै शब्द, सङ्गीत र श्वरलहरीबीच लहरिंदै पप गीतले पपुलारिटी प्राप्त गरिरहेको छ । यसको विकास र विस्तारलाई टेवा दिन नयाँ र पुराना गीतकार र गायक, सङ्गीत साधक र वाध्यवादकहरू समर्पित भएर जुटिरहेका छन् । एफ.एम. प्रशारण र राष्ट्रिय स्तरका प्रशारण संस्थाहरूले भरपुर अवसर प्रदान गरिरहेका छन् । यो त शुभ लक्ष्यण हो । हिजोआज पप नै हाम्रो गीत सङ्गीतको सभ्यता बन्दै गइरहेको छ । ढ्याङढ्याङ ढिस नै हाम्रो मुटुको धमनी बन्दै गइरहेको छ । यसैमा नेपाली मुटु चल्न थालेको छ र यसैमा नेपाली माटो बोल्न थालेको छ ।

पप गीत र सङ्गीतको जङ्गलभित्र हराएर अन्यमनस्क टोलाइरहेको एउटा गायकसँग मेरो जम्काभेट भयो । धीमा स्वरमा लोकगीतको गेडा गुनगुनाउँदै टोलाइरहेको त्यो गायकलाई देखेर मलाई औधी टीठ लाग्यो । एक समयको ख्याति प्राप्त लोक गीत गायक पपको थप्पड खाएर इन्तु न चिन्तु हुँदै भन्न थाल्यो “हेर्नोस् न मलाई अब यो ढ्याङ्ढ्याङ ढिस्ले पर्देशी बनाइदियो ।” मैले सहानुभूति देखाउ“दै भनें– गीत सङ्गीतका बडेबडे सम्राटहरू त टिक्न सकेनन् भन्ने जान्दाजान्दै तपाईं किन टेक लिनुहुन्छ ? देश गुनाको भेष कपाल गुनाको केश चूप लागेर थाल्नोस् तपाईं पनि ढ्याङ्ढ्याङ ढिस् । तपाईं न त टोलाउनुपर्छ न बौलाउनु पर्छ ।” मेरो कुरा सुनेर ऊ त विछट्टसँग रिसायो– “तपाईंले पनि मलाई यस्तो सल्लाह दिने ? भैगो तपाईंको सल्लाह डल्ला पारेर आफैंसँग राख्नोस् । यो ढ्याङढ्याङ ढिस्मा मेरो यस्तो सुमधुर स्वर घोर्ले पार्नु र विनामेसै खुट्टा उफार्नुभन्दा त गाउँ फर्किएर भेडा र बाख्रा चराउनु बेस् । लौ आजै छोडिदिन्छु यो ढ्याङढ्याङ ढिस् घन्किने काठमाडौं शहर ।” यसरी मेरा आँखै अगाडिबाट एउटा राम्रो लोकगीत गायक भेडाबाख्रा चराउन हिंड्यो । पप मन नपराउनेलाई पर्देशी बनाउने पपको ल्याकत देखेर म समेत गद्गद् भए“ ।

अब त यता हेर्यो ढ्याङढ्याङ ढिस् उता हेर्यो ढ्याङढ्याङ ढिस् । बिहेबटुलो होस् या पूजा कीर्तन होस्, मञ्चतिरका सांस्कृतिक कार्यक्रम हुन् या देउसुरे गान होस् जहाँ जानुहोस् ढ्याङढ्याङ ढिस् । यही ढ्याङढ्याङ् ढिस्का बलमा राजधानीका रात्रिरेष्टुराँहरू पैसा सोहोर्न व्यस्त देखिन्छन् । यही ढ्याङढ्याङ ढिस्का प्रतापले सानातिना भोजदेखिन् ठूला ठूला मोजसम्म गर्मिने गरेका छन् । दुनिया रम्ने गरेको छ । दुनियाँ रमाउने गरेको छ । आजित भएर दिक्क मान्दै म घर पुगें । घरमा मेरो आफ्नै सानो छोरो कान्तिपुर एफएम खोलेर ढ्याङढ्याङ ढिस्मा मस्त झुलिरहेको थियो । नौ वर्षे कच्चै उमेरको छोरोमा समेत ढ्याङढ्याङ ढिस्को यति विघ्न प्रभाव ! मलाई भन्न कर लाग्यो ढ्याङढ्याङ ढिस् जिन्दावाद ।

कलङ्की, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x