बद्रीप्रसाद दाहाल ‘भस्मासुर’मात्र गर्छौ त ठट्टा ?
चरम गरम जस्तै, भाउ बढ्दैछ हेर ।
मुलुकभर कतै क्यै, छैन उद्योग धेर ।।
लसुन सुनसरी भो, साग खागै समान ।
मितितिथि सकिएका, प्याक झिल्के तमाम ।।१।।
भुटन र मसलामा, बीखका बीख हाली ।
फल–जल–तरकारी, नक्कली मृत्युकारी ।।
सडक सकस धूलो, गन्ध बोक्छन् कवाडी ।
घरर थरर गर्छन्, थोत्रिएका सवारी ।।२।।
कसिँगर सडकैमा, श्वानका शौच चल्छन् ।
मुखभर महलामा, यात्रुका यात्रु चल्छन् ।।
कमिसन घुसखोरी, तस्करी चल्छ औधी ।
जति–जति अगुवा हो, खान्छ मासु र रौसी ।।३।।
समय कति गए खै, छैन उद्योगशाला ।
मुलुक गरिप बन्ने, मन्त्री छन् उग्र काला ।।
कति दिन किनी खाने, फुट्टी आम्दानी छैन ।
चरम– गरम भाउ, पेट कस्नै हुँदैन ।। ४।।
नव युवक युवाका, जोसिला रक्त बेची ।
कति दिन भुँडी भर्ने, नानीका बैस बेची ? ।।
मुटुनिर कर राखी, ब्रम्हले बोल नेता ।
अझ पनि किन भाउ, टाकुरामै छ नेता ? ।।५।।
धादिङबेंसी
Subscribe
Login
0 Comments
Oldest







































