राजेन्द्र तारकिणीदेश, सपना र ऊ
रातभरि पेटीमा जाडोसँग ‘लभ’ गरेर
ऊ बिहानै पुलमाथि सरेको छ
कठ्याङ्ग्रिएका औँला ठोक्किएर
मादलको खरी मधुरो भएको छ !
उपत्यकाजस्तो उसको भाँडोमा देशको गरिबी अटेको छ
उसका आँसुबाट देश टिलपिल रोइरहेछ
उसको ध्वनिमा देशको आर्तनाद घन्केको छ ।
सपनाका चल्ला कोरल्ने भनिएको उसको दाह्रीमा
तुषारो ओइरिन थालेदेखि देशभित्र सपनाहरू मरिरहेछन्
उसका चिथरा फाट्दै गएर निरन्तर
देश नाङ्गो भइरहेछ
उसका नयनभरि मडारिएको अँध्यारोमा देश घुलेको छ
उसको जिन्दगीजस्तै
मैलिएर बिस्तारै रङ्गहीन भइरहेछ देश ।
घामको मायावी स्पर्शसँगै
ऊ पुलमाथि चढेर बेपत्तासँग मादल ठोक्छ
मादल बज्दा रन्केको खरीमा
युगयुगको व्यथा छचल्किन्छ
यस्तो सङ्गीत कहिल्यै सुनेन सिंहदरबारले
तर, ऊ ताराहरूलाई जगाइरहन्छ ।
नठान्नू– देश सिंहदरबार हो
ठान्नू– देश कर्णाली पनि हो, कालापानी हो
देश सुस्ता पनि हो, कञ्चनजङ्गा हो
साँचो अर्थमा देश यही आकाशे पुल हो
जहाँ देशको प्रतिबिम्ब ऊ,
उसको प्रतिबिम्ब देश भएको छ !
जिन्दगीको भाँडो बज्न छोड्यो भने
मानवहिर्दयबाट सिक्काहरू तप्किन छोडे भने
ऊ विलुप्त हुनेछ एकाएक
छायाँ हराउनेछ पुलको सुन्तले भित्तोबाट
उसको छायाँ हराएको दिन
नठान्नू– गरिबी हरायो देशबाट
ठान्नू– एउटा देश कठ्याङ्ग्रिएर म¥यो !
उसको छायाँ देशको छायाँ,
उसको कथाव्यथा देशको कथाव्यथा,
जो छचल्किरहेछ रानी पोखरीमा
पारिपट्टिबाट घण्टाघरले देखिरहेछ यो सब
र, बेलाबेला अलर्ट गरिरहेछ
किनभने, उसको हालत झन् खराब भइरहेछ !
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































