सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हेल्लो लक्ष्मण गाम्नागे, सन्चै ?

Nepal Telecom ad

लक्ष्मण गाम्नागे
एउटा साधारण नाम
प्रकृतिको एकछिनको एउटा काम
परिवार नियोजनको जमानामा नपरेर मात्रै
जन्मिएको
पहाडबाट तराई र तराइबाट शहरतिर
अन्मिएको
सुखी जीवन बाँच्ने
थुप्रै लक्ष्मीप्रसाद भट्टराईहरूका
रुमानी रहरहरूमध्येको एक रहर
लक्ष्मण गाम्नागे ।

अहिलेसम्म एउटा घडेरीको सपना पनि
नदेखिसकेको
आफ्नै एउटा बूढो साइकल बाहेक
नाइटबससम्म चाहिँ चढिसकेको
यत्ति हो
एसएलसी गरेपछि
जानेर वा नजानेर
शहरले तानेर
हलो जोत्न छाडेको छ
जागिरको पिलपिले झण्डा गाडेको छ
सन्तुष्ट असन्तुष्ट
असन्तुष्ट सन्तुष्ट
नून नहालेको तरकारी जस्तो खल्लो खल्लो
दाना नपुगेको ब्रोइलर कुखुराको चल्लो जस्तो
जिन्दगीलाई जागिरसँग विनिमय गरेर
उमेर नपुग्दै आफैँले आफैँलाई बलात्कार गरेर
रक्ताम्मे
ऊ हेर्नोस् न आउँदैछ
लक्ष्मण गाम्नागे –लख्¥याक् लख्¥याक् ।

लक्ष्मण गाम्नागे
मात्र एउटा परिचय
माया गर्नेले लच्छु भने पनि हुने
रिस उठ्नेले लच्छे भने पनि केही नहुने
मनमनको भारीले भरिएको
एकदम बिखलबन्द मन भएको
लक्ष्मण गाम्नागेले–प्यासी पिँडाली वा प्रश्रितजस्तै
नामी हुने धुनमा
कलमको बाँसुरी बजाएको छ
आफ्नै कविता पढेर बिचरा
आफैँ लजाएको छ ।

लक्ष्मण गाम्नागे,
माथि पुग्न हिँडेको
तीनबित्ता मास्तिर चढ्छ
र अढाई बित्ता तल्तिर झर्छ
लौ भन्नुहोस्,
अरबौँ मानिसहरूको खाडलबाट
लक्ष्मण गाम्नागे कहिले बहिर निस्कन्छ ? कहिले ??
मास्तिर फलानो सेठले पैसाको पर्खाल ठड्याएको छ
नाघ्नै सक्तैन
तल्तिर आफ्नै प्रतिष्ठाले तरबार ओछ्याएको छ
बस्नै सक्तैन
यसरी चिण्डो झुन्डिएर भीरमा
उझिण्डिएर सर्कसको डोरीमा
कठीन सन्तुलनले हिँडिरहेछ
लक्ष्मण गाम्नागेले स्वास्नीका सपना पूरा गर्न
बाबुआमाका विपना गिँडिरहेछ ।

तपाई सबैको जस्तै उसलाई पनि 
पैसा कमाउने रहर नलागेको होइन
आमाको ढुङ्ग्री बेचेर
दूईचार पटक दिल्लीतिर नभागेको होइन
उसले ग्रिनकार्डको फाराम पनि भरेकै हो
दुईचार वटा बैँकको शेयर पनि किनेकै हो
गाँस काटेर बनाएको पासपोर्ट पनि कुहिएर गयो
डलर कमाउने सपना पनि तुहिएर गयो
कहिले जोरपाटीतिर जग्गाको कुरा गर्न गयो
कहिले बागबजारतिर बम्परको फाराम भर्न गयो
जागिरदेखि दिक्क भयो र पनि जागिर मै बसिरह्यो 
शहरदेखि वाक्क भयो र पनि सहरमै फँसिरह्यो
यसरी लक्ष्मण गाम्नागे सयौँपटक म¥यो 
र हजारौँपटक बौरियो ।

लक्ष्मण गाम्नागे
आफ्ना लालावालाहरूसँगै
कहिले घट्टेकुलोतिरबाट आउँदै देखियो
कहिले ज्ञानेश्वरतिरबाट धाउँदै देखियो
कुरा बुझ्दा ऊ
बारम्बार डेरा सरिरह्यो
र फेरि डेरा नै खोजिरह्यो

यसरी कहिल्यै नटुङ्गिने कामदेखि थाकेर
उसले डिल्लीबजार पीपलबोटको चौतारामा बसेर
एकदिन मलाई डेराको कथा सुनायो
अर्थात् लाखाँ डेरावालको व्यथा सुनायो
उसले सुनाएका थुप्रै कथाहरूमध्ये
एउटा कथा यस्तो छ, 
झण्डै तपाईकै जस्तो छ सुन्नुहुन्छ ?

–एउटी घरबेटी थिइन्
ट्वाइलेटमा लक्ष्मण गाम्नागे छि¥यो कि 
लट्ठी बोकेर उनी ढोकामा ढुक्थिन्
र लक्ष्मण गाम्नागे बाहिर निस्केपछि सोध्थिन्
ए लछ्मन, प्वालैमा हगिस् के ??

यस्ता थुप्रै रोचक कथा छन् लक्ष्मण गाम्नागेसँग
डेरा सर्दादेखि घरबेटी मर्दासम्मका
ग्रेड झर्दादेखि स्वास्नी चिट्ठा पर्दासम्मका
धेरै कुरा तपाईँको जस्तै धमिलो
धेरै कुरा मेरै जस्तो अमिलो
यस्तो उदेकको जिन्दगी बाँचिरहेको
लक्ष्मण गाम्नागे
तपाईलाई थाहा भए राम्रै हुनेथियो
यही शहरमा त बस्छ नि !
ऊ हाँस्तै हाँस्तै ठ्याक्कै आइपुग्यो
त्यही त हो नि लक्ष्मण गाम्नागे
हेल्लो लक्ष्मण गाम्नागे –सन्चै ?
भनेर सोध्यो भने
मुसुक्क हाँसेर उसले भन्नेछ– सन्चै ।।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
आमाको चिठी

आमाको चिठी

लक्ष्मण गाम्नागे
यो घर हो

यो घर हो

लक्ष्मण गाम्नागे
भूमिका भूमिका जस्तो एक शुभकामना मन्तव्य

भूमिका भूमिका जस्तो एक...

लक्ष्मण गाम्नागे
उल्काउल्काका शुल्कहरू

उल्काउल्काका शुल्कहरू

लक्ष्मण गाम्नागे
भूमिकाको भुमरी

भूमिकाको भुमरी

लक्ष्मण गाम्नागे