साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हास्यव्यङ्ग्यको अवधारणा र प्रयोग

Nepal Telecom ad

हास्यव्यङ्ग्य साहित्यका विविध विधामा अन्तर्भाव भएर प्रस्तुत हुने प्रवृत्तिगत रचना हो । पूर्वीय र पाश्चात्य साहित्यमा यसको प्रयोग ब्यापक रूपमा हुँदै आएको छ । अझ व्यङ्ग्यको बढोत्तरी हास्यका तुलनामा झन् तीब्र हुन्छ । हास्य–व्यङ्ग्यलाई कसैले एक आपसको सहसम्बन्धबाट बाँच्न सक्ने वा मितेरी साइनो गाँसेर हातेमालो गर्दै अघि बढ्न सक्ने रचनाका रूपमा लिएका छन् भने कसैले हिजोआज हास्य–व्यङ्ग्यलाई आफ्नोे स्वधर्म रक्षा गर्न सक्ने सामथ्र्य रचनाका रूपमा पनि स्वीकार्न थालेको पाइन्छ । यस किसिमको दृष्टिकोणलाई हास्य–व्यङ्ग्यप्रतिको फराकिलो सोचाइका रूपमा लिन सकिन्छ ।

झट्ट हेर्दा हास्य–व्यङ्ग्य छुट्टिनै नसक्ने अर्थात् सँगसँगै प्रयोगमा आउने रचना जस्तो लागे पनि यथार्थतः हास्य–व्यङ्ग्यले एक अर्कालाई परिपाकको स्थितिमा पु¥याउन सहयोग मात्र गरेका हुन् भन्नमा अत्युक्ति नहोला किनभने यी दुवै चोखो रूपमा बेग्ला–बेग्लै प्रकटित हुनसक्ने शैलीगत स्वरूप हुन् । सामान्यतः नेपाली साहित्यमा पनि यी दुवै स्वरूपमा भिन्न र मिश्रित अवस्थामा घटित हास्य–व्यङ्ग्य रचनाहरू प्रशस्त छन् तापनि तुलनात्मक रूपमा हास्य–व्यङ्ग्यमा मिश्रित रचनाको मात्रा नै बढी देखिएको छ । फेरि हास्यभित्र व्यङ्ग्य र व्यङ्ग्यलाई दुई खोलाको दोभान बनाएर राष्ट्र र समाजमा देखिएका विसङ्गति, विकृति, एवम् कुरीतिहरूलाई एकसाथ प्रस्तुत गर्नेगरेको पनि पाइन्छ ।

हास्य–व्यङ्ग्यको विधागत अस्तित्वको खोजी गर्दा यसलाई छुट्टै विधाका रूपमा चर्चा गर्न गाह्रो छ । हुन त हास्य–व्यङ्ग्यलाई विधाको रूपमा उलेख गरिएको पनि पाइन्छ । वास्तवमा हास्य–व्यङ्ग्य एउटा प्रवृत्ति एवम् विशेषता मात्रै हो । यसलाई साहित्यिक विधाका रूपमा उभ्याउन सकिँदैन किनभने यो एउटा विधा नभएर शैली हो । यसरी हास्यव्यङ्ग्यको सैद्धान्तिक अवधारणालाई विधाको रूपमा होइन स्पष्टतः प्रयोगात्मक शैलीको रूपमा चिनाउनु पर्ने देखिन्छ । उक्त कुरालाई निम्नाङ्कित अभिव्यक्तिले पनि पुष्टि गर्दछ ।

—“हास्यव्यङ्ग्य प्रस्तुतिकरणको एउटा पक्ष र शिल्प मात्र हो ।” —राजेन्द्र सुवेदी
—“हास्यव्यङ्ग्य छुट्टै विधा नभएर सबै विधामा प्रयुक्त र प्रविष्ट हुने एक किसिमको विशिष्ट शैली हो ।” —गोविन्द भट्ट
—“हास्यव्यङ्ग्य विधा होइन बरु सबै विधामा व्यक्तिने एक प्रकारको मनमोहक शैली हो ।” —खगेन्द्र सङ्ग्रौला
—“सम्पूर्ण साहित्यिक विधाहरूमा हास्य–व्यङ्ग्यको अन्तरविधात्मक उपस्थिति हुन सक्छ र त्यहाँ यो विषयवस्तुलाई अभिव्यक्ति दिने उत्तम शैलीगत प्रवृत्तिका रूपमा आलोकित हुन्छ ।” —भरतकुमार भट्टराई
—“हास्यव्यङ्ग्य भाव प्रस्तुतीकरणको मीठो तरिका हो ।” —नरनाथ लुइँटेल

वस्तुतः कुनै पनि विधाको अभिव्यक्तिमा भाषाको एउटा स्वरूप र विधागत संरचनाको बनोटको आकार प्रकार हुन्छ । तर हास्य–व्यङ्ग्यको भने कथा, कविता उपन्यास आदि विधामा देखिने स्पष्ट संरचनागत स्वरूप पाइँदैन । यो त कुनै विधाको आड लागेर आउने अभिव्यक्तिगत स्वभाव मात्र हो, जसको अस्तित्वको खोज र बोध एक्लै सम्भव छैन । बरु हास्य–व्यङ्ग्यलाई जुनसुकै विधामा पनि अटाएर हुर्कन, मौलाउन र बाँच्नसक्ने गुण भएको साहित्यधर्मी रचनाका रूपमा स्वीकार्न सकिन्छ । तापनि यसको विशेष प्रयोग र विकास एवम् विस्तार भने निबन्ध विधामा भएको देखिन्छ ।

हास्य के हो ?
हास्य पूर्वीय साहित्यशास्त्रमा वर्गीकृत नवरसमध्ये एक रस हो । हास् स्थायी भावबाट परिपाकमा पुग्ने रसलाई हास्यरस मानिन्छ । आचार्य विश्वनाथले हास्यलाई स्मित, हसित बिहसित, अवहसित र अतिहसित गरी ६ भेदमा विभाजित गरेका छन् । उनका दृष्टिमा हास्यका ६ भेदमा स्मित र हसितलाई उत्तम मानिएको छ । समग्रमा हास्य र प्रसन्नताको उपज र मानवीय विकृति, त्रुटि, दोष, असामान्य व्यवहार वा चरित्रको प्रतिफल हो । हास्यलाई सशक्त र मार्मिक बनाउन व्यङ्ग्यले भिटामिन ए.बी.सी.को काम गरेको हुन्छ । यही शक्तिले हास्यलाई मार्मिक एवम् प्रभावकारी ढङ्गले प्रस्तुत गर्न सहयोग पु¥याएको हुन्छ । हास्य व्यङ्ग्यविना पूर्ण रूपले व्यक्त हुनसक्ने भए पनि यसको नजिकको साइनो व्यङ्ग्यसँग नै भएका कारणले प्रायः व्यङ्ग्यका साथमा हास्य प्रदर्शित हुन्छ । यसरी प्रदर्शित हुने हास्यकोे कर्म हाँसो उमार्दै केही भन्नु र पाठकका लागि मनोरञ्जन एवम् आनन्दको अनुभव गराउनु हो ।

व्यङ्ग्य के हो ?
सामान्यतया कुनै विधामा प्रयुक्त भएर छेडपेच, घोचपेच वा बक्रोक्तिपूर्ण अर्थ प्रदान गर्ने एक किसिमको अभिव्यक्ति कला नै व्यङ्ग्य हो । व्यङ्ग्य गर्दा आफूले भन्न खोजेको कुरालाई अभिधा अर्थमा नभनी लक्षणा र व्यञ्जनाको सहाराले व्यक्त गरिएको हुन्छ । व्यङ्ग्यलाई ध्वनिगत अर्थले सार्थक बनाउन मद्दत पु¥याएको हुन्छ । साहित्यका विभिन्न विधागत रचनाहरूमा हास्यको भन्दा व्यङ्ग्यको प्रयोग व्यापक र विस्तृत छ । व्यङ्ग्य पनि हास्य जस्तै चोखो रूपमा अभिव्यक्त हुन सक्छ । मानवीय दुर्वलता, आपत्तिजनक विचार, विषक्त वातावरण, अनियमिता, भ्रष्टाचार, कटुसत्य र त्रुटि आदि देखाउनु वा सातो काढ््ने जति कलात्मक आक्रमण हुन्छ, व्यङ्ग्य त्यत्ति नै तिख्खर र प्रखर बन्दै जान्छ । देश र समाजको खस्कँदो परिस्थिति, सामाजिक विकार र विषमताको जीवन भोग्न बाध्य अवस्थाले विरोध र विद्रोहलाई जन्म दिन्छ र समाज एवम् व्यक्ति जीवनको चेपबाट देखा पर्ने राजनैतिक, धार्मिक विकृति र विडम्बनाप्रति घोचघाच पारेर व्यङ्ग्यकारले उक्त कुराहरूलाई बौद्धिक एवम् चातुर्य कसरतबाट प्रस्तुत गरिदिएको हुन्छ । यस किसिमको अभिव्यक्तिलाई प्रोफेसर मोहनराज शर्माले “व्यङ्ग्य कुनै विधाको पेवा होइन सबै विधाको टेवा हो” भनी टिप्पणी गरेका छन् । प्राय निबन्ध विधामा विस्तार हुने मौका पाए पनि व्यङ्ग्यको धेरथोर प्रयोग सहजताका साथ सबै विधामा भएको देखिन्छ, –जस्तो नाटकमा एउटा पारखी विदुषकले हाँसो जन्माएर व्यङ्ग्य प्रहार गर्दा नाटक स्वाभाविक र मार्मिक बन्न जान्छ । त्यस्तै कुशल हास्यव्यङ्ग्यकारले उक्त कलालाई वशमा राखेर एक्लाएक्लै वा दुवैको मिश्रणबाट अभिव्यक्त गरेको हुन्छ ।

सम्पूर्णतामा भन्नुपर्दा हास्यव्यङ्ग्य एउटा प्रयोगधर्मी प्रवृत्ति र सशक्त अभिव्यक्तिगत कला हो । सामान्य स्थितिले भन्दा असमान्य स्थिति, व्यभिचार, दुराचार, दुव्र्यवहार, अन्याय अत्याचारी बेथिति र विसङ्गति जस्ता समाजका रोगहरू हास्यव्यङ्ग्यका लागि उपयुक्त विषय वातावरण हुन् । यी भित्रका कुराहरूलाई हाँसोका साथ तीखो छेडपेचसँग भन्नु मात्र हास्य–व्यङ्ग्य प्रस्तुतिको लक्ष्य होइन, देश समाज र व्यक्तिको विचलित अवस्थाबाट देखिने विकार र विकृतिका रोगहरूलाई देखाई आवश्यक उपचार र सुधार एवम् चेतनाका लागि बोद्धिक खुराक दिएर अभिप्रेरित गर्नु साहित्यिक शैलीगत रचनाका रूपमा देखिने हास्य–व्यङ्ग्यको लक्ष र धर्म दुवै हो ।

सन्दर्भ सामग्री
१. राजेन्द्र सुवेदी– स्रष्टा–सृष्टिः दृष्टा–दृष्टि, साझा प्रकाशन, ०४३, पुल्चोक ललितपुर, दो.सं. पृ. ३५ ।
२. गोविन्द भट्ट– प्रलेस (प्रगतिशील लेखक सङ्घको केन्द्रीय प्रकाशन) माघ–चैत्र २०५३, वर्ष ४ पूर्णाङ्क ७, पृ. ६५ ।
३. खगेन्द्र सङ्ग्रौला– प्रलेस पूर्ववत्, पृ ६५ ।
४) भरतकुमार भट्टराई– हास्य र व्यङ्ग्यको सैद्धान्तिक स्वरूप, स्नातकोत्तर शोधपत्र २०४४, त्रि.वि. नेपाली विभाग, पृ. १३९ ।
५) नरनाथ लुइँटेल– नेपाली हास्यव्यङ्ग्य (सिद्धान्त इतिहास र प्रवृत्तिहरूको अवलोकन), सिस्नुपानी नेपाल, २०५८ पृ. १७ ।
नेपाली शिक्षा विभाग, कीर्तिपुर

फित्कौली अङ्क ३ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x