साइबर अपराध सम्बन्धी सचेतना सामग्री

माग्ने

Nepal Telecom ad

‘माग्ने’ शब्दको उत्पति कसरी भयो र यसलाई सर्वप्रथम् कसले प्रयोग गर्यो भन्ने भाषाशास्त्रीहरूकै टाउको दुखाइको विषय हो । तर मलाई सोध्नुहुन्छ भने– कुनै ‘म’ बाट उठेको नामधारी व्यक्तिले कुनै बस्तु ‘गन्गन्’ गरि हैरान पारेर फुत्काउन सफल भएबाट ‘माग्ने’ शब्दको उत्पति भएको हुनसक्छ । वा कोही ‘मगन’ नामको मान्छेले कुनै साहुमहाजनलाई माया लाग्दो स्वरमा मागेकाले सो मान्छेलाई ‘मगन’ बाट एकलके लाएर ‘मगने’ भनिएको र पछि अपभ्रंश भएर ‘माग्ने’ भनियो अनि यसैबेलादेखि माग्ने चलन चलेको हो कि तर मेरो अनुमान नै मान्नुपर्छ भन्ने केही छैन । तपाईं पनि ‘हनुमान’को अनुमान लाउन सक्नुहुन्छ ।

जीविकोपार्जन गर्नलाई कसैसँग केही नमागी नहुने भएकाले मान्छेले माग्ने चलन चलाएको हुनसक्छ । वा अरुको साथ विना जिन्दगीको रथ गुडाउन कठिन हुने भएकाले नै मान्छेले माग्न थालेको हुनसक्छ । जे भए पनि नेपाल र नेपालीहरूमा माग्ने चलन चलेको इतिहास लामै छ भनेर मैले भनेँ भने कसैले कुटी हाल्दैन होला । तर कुनै बाध्यताविना सायदै कसैले माग्छ । बास्तवमा कस्तालाई माग्ने भनिन्छ र को माग्नेमा गनिन्छ भन्ने कुरा मेरो लेख पूरा पढेपछि थाहा हुन्छ । नत्र अन्त कहाँ हुन्छ धेरैजसो माग्नेहरू पेट पाल्न र चुलोमा आगो बाल्न माग्ने गर्दछन् । यिनीहरू निमुखा निम्छरा निन्याउरा निम्नस्तरका निम्छरा निर्दोष निवासमा निस्तो नास्ता निल्ने निरिह नेपाली नागरिक हुन् । यिनलाई निष्ठुरी निर्मोहीहरूले निमोठेर निचोरेर निमिट्यान्न पारेकाले नै यिनीहरू माग्ने बनेका हुन् । यिनलाई प्रगतिको पहाडमा पाइला पुर्याउनु छैन । बस् हातमुख जोड्नु छ ।

एकदिन यो संसार छोड्नु छ । तर यिनिहरू माग्ने होइनन् । राज्य शोषक धूर्त दलाल आदिले बनाएका थाङ्ने हुन् । ढुङ्ग्रो लुकाएर मोही माग्नेदेखि मुखै फुकाएर पोइ माग्नेसम्म । मललाई छर्न डोको माग्नेदेखि बाख्रीलाई भर्न बोको माग्नेसम्म । भारी बोक्न नाम्लो माग्नेदेखि चामल हेर्न नाङ्लो माग्नेसम्म । घर लिप्न पोत्न गोबर माग्नेदेखि दिइने भन्दा दोब्बर माग्नेसम्मका माग्ने नेपाली समाजमा पाइन्छन् । छोराको बिहे गर्न ऋण माग्नेदेखि कोदालोको बिँड माग्नेसम्मका माग्ने छयापछयाप्ती भेटिन्छन् । त्यसो त अचेल ज्यान माग्नेदेखि ओछ्यान माग्नेको सङ्ख्या पनि उल्लेख्य पाइन्छ । हँसिया खुर्पा कुटो–कोदालो हतासो माग्नेदेखि चिनी चियापत्ती खुर्सानी माग्नेसम्म । नुन माग्नेदेखि साबुन माग्नेसम्म । आगो माग्नेदेखि धागो माग्नेसम्म । खसी काट्दा खुट्टा मागेर पचाउनेदेखि जुत्ता मागेर लगाउनेसम्मका माग्ने नेपालभित्र निवासित छन् । ऐँचोपैँचो मागेर बर्षौं बर्ष भागेर हिँड्ने र आसामीलाई चिन्दै नचिन्नेहरूको कुरा नगरौँ ।

यो जगतमा को होला र नमागी नसक्ने ? जीवनमा कोही न कोही कसैलाई न कसैलाई केही न केही नमागी हँुदैन । तर पनि यो मान्छेको जातले ‘म माग्ने हुँ’ भनेर स्वीकार गर्दैन । ज्यान जाला आफूलाई माग्ने भनाउन चाहँदैन । माग्ने बनाउन चाहँदैन । सधैँ माग्नेले पनि आफूलाई माग्ने भनाउन चाहँदैन । बास्तवमा सवै मान्छे माग्ने नै हुन् यो धराका । मागेपछि निर्धक्क ‘मैले मागेकाले म माग्ने हुँ’ भन्नलाई के को लाज के को डर हेर्नुस् तपाईं हामी मात्र होइन विदेशीसँग अनुदान माग्ने सरकार आफूलाई ‘स्पेस’ माग्ने राजा, घुस माग्ने कर्मचारीदेखि दिनुपर्दा ‘जुस’ माग्ने पत्रकार आदि सवै माग्ने हुन् ।

दोहा, कतार

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x