प्रेम ओली ढकलपुरेबुढो भएपछि
बुढोले निहुँ खोज्छ भन्छन्
तर कसरी भन्ने
बुढोसँग ककस्ले निहुँ खोज्छन्
बुढीले भन्छे
गुलियो नखानुस् सुगर लाग्छ
छोरोले भन्छ
कर्कलो नखानुस् बाइ जाग्छ
बुहारी भन्छे
चिल्लो नखानुस् पाइल्स लाग्छ
हुँदा हुँदा
नाति पनि खान छेक्ने
टन्न दन्काइ दिन्छु म त पार्टीमा
त्यहा खाको कसले देख्ने ?
भान्सामा मासुको बासना
मगमग आउँछ
आफ्नोे मुखमा रस
भगभग आउँछ
खान खोज्दा श्रीमती हकार्छे
टन्न हसुरेर मासु बुहारीले डकार्छे
खाना खायो भने पनि
अब त
सबै खानाले पनि निहुँ खोज्छन्
पेटमा हाल्यो कि कोखा जोत्छन्
खसीको मासु खायो भने
बाली खाँदा कुटेको बद्ला लिन्छ
राँगोको मासु खायो भने
हलो जोत्दा चुटेको बदला लिन्छ
मम खायो भने
राँगो वा… ईं गर्दै कराउँछ
रोस्ट खायो भने
कुखुरो पखेटा फट्फटाउँछ ।
जवानीमा लसुन नुनसँग
टन्न बासीभात खाइन्थ्यो
ढुङ्गै भए पनि पचाइन्थ्यो
अब त
अचारै खायो भने पनि
पेट गड्याङगुडुङ गडकिन्छ
मासु खाँदा पनि
उपियाँ झै फटकिन्छ
खुर्सानी खाँदा
आन्द्राभुँडी नै पट्क्या जस्तो
दुध खाँदा पनि
घाँटीमा अड्क्या जस्तो
हैन ए डाक्टर बाबु
मलाई मात्र हो कि
अरु बुढापाकालाई पनि हुन्छ यस्तो ?
घ्यु खायो भने दिनभर
ट्वाइलेटको यात्रा हुन्छ
दही खायो भने
खोकीले जात्रा हुन्छ
मनले मान्दै नमान्ने
तनले पचाउनै नजान्ने
जिब्रोले खोज्ने
जिउले दुःख पाउने
हैन ए वैज्ञानिक नानी
यो बुढोले खाने दिन
अब आउने कि नाउने ?
दाङ, हाल काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































