सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

स्वतन्त्र कि छाडातन्त्र ?

Nepal Telecom ad

‘लौ आयो आजको ताजा खबर !’ हातमा पत्रिका बोकेर फुच्चा मार्केटिङ अफिसरहरू चिच्याउन थाल्छन् । दरबारमा अर्को हत्याकाण्ड ! सुन्धारा क्षेत्रमा चिच्याउँछन् । सरकार फेरि राजाकै खुट्टामा ! रत्नपार्कमा चिच्याउँछन् । माओवादी आजैदेखि जङ्गल छिर्ने ! उपत्यकाबाट बाहिरिने गाडीमा चिच्याउँछन् । राजेश हमाल र निरुता सिँहको बिहे ! बाटो–बाटोमा दौड्दै चिच्याउँछन् । मान्छे देख्यो कि चिच्याउँछन् । ग्राहकहरूको कान दुखेपनि चिच्याउँछन्, आफ्नै घाँटी सुकेपनि चिच्याउँछन् । मानिसहरूको भीडसँगै दुई–चार पत्रिका बिक्री पनि हुन्छ । धेरैजसो हेडलाइन सुनेर अविश्वासको हाँसो हाँस्ने गर्छन् किनकि भीडबाटै आवाज आउन थाल्छ–‘ए ! दरबारमा त बिरालो पो मरेको रहेछ, कुकुरले मार्दिएछ ।’ अर्कोले मुख फोर्छ– ‘चलचित्र ठाइँलादाइका लागि राजेश हमाल र निरुता सिँहको बिहेको सुटिङ बालाजुमा सम्पन्न भएछ ।’

पत्रिका बिकाउन र रोजीरोटी टिकाउन टाइटलमा मात्र ध्यानदिने हाम्रा छ्याप्छ्याप्ती निस्कने पत्रिकाहरूको दैनिकी हो यो । ‘ए ! पत्रिकामा लेखेको हो ? त्यसोभए सत्य होइन होला !’ पाठकहरू यस्तै भन्न बाध्य छन् । हाम्रा पत्रिकाहरू पाठकहरूलाई सुसूचित गर्न छापिएका हुन् कि बच्चाको आची पुछेर फाल्न ?

‘सरकार फेरि राजाकै शरणमा गएभने जनताले छाड्ने छैनन्’ भन्ने वाक्यबाट सरकार फेरि राजाकै शरणमा भन्ने टाइटल बनाइदिन्छौँ हामी । ‘आफ्ना मागहरू पूरा नभएमा माओवादीहरू पुनः जङ्गल फर्कन बाध्य हुने अध्यक्षको भनाइ’ भन्ने वाक्यबाट माओवादी आजै जङ्गल छिर्ने भनेर हेडलाइन बनाइदिन्छौँ । पाठकहरूलाई झुक्याउनु र पैसा मुठ्याउनु हाम्रा उद्देश्यहरू बन्ने गर्छन् । तर पाठकहरू भन्ने गर्छन्–‘पत्रिकाहरू जे पनि लेख्छन्, कल्ले पत्याउँछ ?’ नपत्याए हामीलाई के मतलब ? हामी हाम्रो परम्परा तोड्नेवाला छैनौँ । प्रेस भनेको जनतालाई सुसूचित गर्ने एउटा महत्वपूर्ण र सशक्त माध्यम हो भनेर म किन भनुँ ? बहुला कुकुरले टोकेको छ र मलाई ? प्रेस भनेको त चाहिँदो नचाहिँदो समाचार सम्प्रेषण गरेर उट्पट््याङ टाइटल राख्दै पाठकहरूलाई मनोरञ्जन प्रदान गरेर फ्रेस बनाउने संस्था पो त ! सत्यतथ्य कुराहरूको छानविन गरेर सही समाचार दिने प्रेसको दायित्व हो भनेर को बेवकुफले भन्छ ?

हो म पनि एउटा पत्रकार नै हुँ । कारमा बस्न पाए पत्र लेख्न मलाई पनि आउँछ । एक प्लेट मासुको रसभरी पाए त झन् जे भन्यो त्यही लेख्दिन मज्जाले आउँछ । तर पत्रकार भएर पनि आज चाहिँ बडो रङ्गको कुरो ग¥यो भनेर पक्कै पनि तपाइँ दङ्ग पर्दैहुनुहोला । पढ्दैजानुस् आज म मेरो परम्परागत दायित्वलाई बिर्सेर काँचोकुरालाई चटक्कै छाडेर साँचो–साँचो कुरा मात्र गर्दैछु ।

प्रेसको कुरा त अलिकति गरिहालेँ अब कुरा गरौँ पत्रकारको । अहिले बजारमा पत्रकारिता पेशामा संलग्न व्यक्तिहरू खोज्दै जाने हो भने नेपालमा रहेका बेरोजगारहरूको सङ्ख्यालाई चुनौती नै दिन्छ । जो पनि पत्रकार, जस्ता पनि पत्रकार । पत्रिका र एफ.एम.सँग सम्बन्धित सबै पत्रकार । एफ.एम.हरू त खुट्टाको औँला सिध्याएर फेरि हातको औँलामा गन्दा पनि नअटाउने भैसके । पत्रिकाहरू त झन् कति हो कति । भनेपछि तपाइँ आफै भन्नुस् पत्रकारहरू कति होलान् ? कि त अरब, कोरिया, इराक, मलेसिया जाने, कि त दस–पन्ध्र दिन पत्रकारिताको तालिम लिएर पत्रकार बन्ने, आहा ! कति सजिलो । म पनि त्यस्तै त्यस्तै हो नानु ! तर आजचाहिँ मैले ढाँट्नेवाला छैन । कति ढाँट्ने ? जिन्दगीमा पहिलोचोटी सही लेख्न मन लागेर आयो, त्यसैले । तर आफूलाई सही लेख्न मन लागेर मात्र कहाँ हुँदोरहेछ र ? बाध्यता र परिस्थितिको दास हुँदासम्म र

दुईछाकको आस हुँदासम्म खास कुरा नलेखीकन बकवास कुरा लेख्नुपर्नेरहेछ ।
सत्यतथ्य नबुझी कसैको बारेमा आज जे मनलाग्छ लेखिदियो हल्लाको भरमा । भोलि सम्बन्धित व्यक्ति/पक्षले ‘होइन’ भनेर स्पष्टीकरण दिन्छ त्यो पनि छापिदियो । अनि पर्सि फेरि आफ्नो गल्ती आफैले सच्याइदियो । पाठकले विश्वासै गर्दैनन् । कसैको विश्वास गर्दैनन् । यदि यस्तै यस्तै भैरहने हो भने बिहान–बिहान केटाकेटीको आची पुछेर फाल्न बाहेक अरु के नै महत्व रहला र पत्रपत्रिकाहरूको ? नरहे रहन्न । छु मतलब !

‘आज त यस्तो भएछ नि !’ भन्दै मैले मेरा परममित्र पिलन्धरप्रसादलाई पत्रिका देखाएको त साथी रिसाउँदै के भन्छ थाहा छ ? त्यस्तो पत्रिकाको कुरो पनि पत्याउँछ कसैले ! धत् ! भोलिको पत्रिकामा हेर्न ! त्यही कुरो होइन रहेछ भनेर आउँछ । कति ढुक्क ! उसले त पत्याउनै छाडेछ । एक–दुई पत्रिकाहरूबाहेक दिउँसो÷बेलुकी तिर निस्कने पत्रिकाहरूको त झन् कसैले पनि पत्याउँदा रहेनछन् । एउटा कुरो लाज पचाएर तपाइँलाई सोध्छु है ! यो प्रेस स्वतन्त्रता भनेको जो पायो त्यल्ले जे पायो त्यहीँ लेख्न/छाप्न पाउने हो र भन्या ? म पत्रकार स्वयम्लाई त्यस्तै त्यस्तै लाग्न थालेको छ क्या ! हो, सत्य कुरा बिना रोकटोक बिना फेन्टा÷कोक लेख्नुपर्छ तर हल्लाको भरमा अथवा सल्लाहको भरमा अथवा धम्कीको भरमा अथवा चिया नमकीनको भरमा समाचार सम्प्रेषण गर्दै अश्लील सामग्रीहरू समेत प्रस्तुत गरेर पत्रिका बिकाउने र अरुलाई पनि त्यस्तै सिकाउने चाहिँ सरासर गलत होइन भनेर को भन्छ ? त्यसैले यही प्रवृत्तिले प्रेसप्रतिको विश्वास गुम्नसक्ने सम्भावना छ भनेर भन्न मलाई के डर ?

क्लाईमेक्समा म के भन्दैछु भने– सुसूचित हुने जनताको हक हुने कि नहुने ? त्यस्तैगरी सम्पूर्ण कुराको जवाफदेही सम्पादक हुने कि नहुने ? त्यसैले जनताको सुसूचित हुने हक र पत्रिकाका सम्पादक नङ र मासु जस्तै हुनुपर्छ । त्यसैगरी सक्षम र कुशल पत्रकार हुनुपनि उत्तिकै जरुरी छ । हैन ! हामी पत्रकार हौँ कि पत्रु–कार । जसरी पत्रु कारको भर हुँदैन, धक्का मार्नुपर्छ बेलाबेलामा, फेरिपनि धोका दिनसक्छ जुनसुकै बेला । त्यसरी नै हामी पत्रकारहरूले पनि धोका र भ्रम बाहेक अरु दिन जान्ने कि नजान्ने ? बधाई छ हामीहरूलाई स्वरोजगार भएकामा तर प्रेस स्वतन्त्रताको नाममा अधिक स्वतन्त्र भएर छाडातन्त्र नबनोस् । जसरी प्रेस स्वतन्त्र छ, त्यसरी नै पाठकहरू पनि स्वतन्त्र छन् । कुरो बुझे आफैलाई ।

‘फुलौरा’ हास्यव्यङ्ग्य सङ्ग्रहबाट

 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad