साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ताल्चा

Nepal Telecom ad

ताल्चा हातैमा लिएर बसिरहेकी हुन्थिन् उनी । अनि ‘कतिपटक नुनबेसार हराइसको’ भन्दै किचनमा ताल्चा मार्ने गर्थिन् उनी । ‘यस्तो हाहाकाराँ पानीमा त पौडी नै पो खेल्छन् ए’ भन्दै धारामा ताल्चा मार्ने गर्थिन् उनी ।

‘यी काम नलाग्ने छाउराहरू डुङडुङ उफ्रन्छन्’ भन्दै छतको ढोकामा ताल्चा मार्ने गर्थिन् उनी । उनी अर्थात् त्यस घरकी घरवेटी दिदी । उमेरले ५० औं पतझड पोहोरपरारै पार गरिसकेको भए पनि उनलाई सबैले यहाँसम्मकी स्कूले केटाकेटीहरूले समेत) घरबेटी दिदी नै भनेर बोलाउनु पथ्र्यो नत्र थर्काइहाल्थिन् ‘तेरो कोठाँ ताल्चा मार्दिम् ?’

‘भएभरको ढोकामा ताल्चा मारेपनि त्यसले आफ्नो मुखमा भने कहिल्यै ताल्चा मार्दिन । त्यै भएर त त्यसको दिनरातको कचकच सुन्न नसकेर विष खाएर मरेको हो त्यसको पोइ’ भन्थे भन्नेहरू । दैव जानोस् यो कूरा कतिको सत्य हो तर विहान उठेदेखिन् ‘ताल्चा नमारी भएन’, ‘ताल्चा नमारी छोड्दिन’, ‘…ताल्चा… ताल्चा… ताल्चा…’ भनेर उनी फत्फताइरहेको देख्दा साँच्चै हो कि ? जस्तो लाग्थ्यो । यदि कुनै बेला उनको बोली सुनिएन भने चाहिँ पक्का भए हुन्थ्यो कि त उनी मस्त निदाइरहेकी छन् कि त केही न केही चपाइरहेकी !

अनि ‘भाडा तिर्न ढिलो गर्नु’ जस्तो जघन्य र अक्षम्य अपराध अरु केही थिएन उनको नजरमा । त्यसैले पटकपटक कठोर सजाय पाइसकेका थिए त्यस घरको भाडामा बस्नेहरूले– सबभन्दा बढी भने हर्कमान अर्थात स्कुलका पालेदाइले । नभए सोध्दा हुन्छ उनैलाई, भन्दिहाल्छन् ‘अब भो, स्कुलमा रातभरी पहरा दिएर विहानपख कोठा आइपुग्दा त ढोकामा आफ्नो ताल्चामाथि त अर्को ताल्चा पो बुइ चढिराखेको !’

त्यस घरमा बस्नेहरूको दिनकै जसो केही न केही हराउने गरेकोले एकदिन पल्लाकाठे पोखरेल दाई कोठामै बसेछन् ड्युटी हापेर । बाहिरबाट ताल्चा मार्दिए हर्कमानले र साँचो ढोका मुन्तिरबाट पसाइदिएर सोझै गए आफ्नो खाटमा अनि घोप्टिहाले बुटै नखोली । घोप्टिेपछि फेरी उनी मूढा बराबर !

बिहानको नौ बज्यो सबै सानाहरू हल्ला गर्दै स्कुलतिर गए । दश बज्यो सबै ठूलाहरू सल्लाह गर्दै कामतिर गए । एघार बज्यो । फेरी बाह« बज्यो । हैन हैन, बाह« बज्नै आँटेको थियो कोही पोखरेल दाइको ढोका बाहिर उभियो, ताल्चा समायो र साँचो घुमायो । मिलेन ! फेरि अर्को साँचो घुमायो । मिल्यो । ताल्चा फुक्लियो । त्यसपछि चुकुल खुल्यो र ढोका ह्वाङ्ग भयो ।

त्यसदिन बल्ल पो थाहा भयो पोखरेल दाइलाई ताल्चा मार्न मात्रै होइन, खोल्न पनि सिपालु रैछिन् घरबेटी दिदी त । त्यसयता अरुको चाहिँ थाहा भएन तर पोखरेल दाइको कोठाबाट भने एउटा सिन्कासम्म पनि हराएको थिएन् । त्यसैले त्यस घरमा बस्नेहरू तीन छक्क परिरहेका थिए ।

तर, तीन मात्रै होइन छ छक्क परिरहेका थिए, त्यो अविस्मरणीय साँझ त झन् सबैजना । ‘साहै« फोहर गरे’ भन्दै जुनदिन घरबेटी दिदीले दुबै तलाको ट्वाइलेटमा समेत ताल्चा मार्न बाँकी राखिनन्, तल्लो ट्वाइलेटको साँचो हर्कमानलाई जिम्मा दिँदै भनिन् ‘भुलेर नि ताल्चा मार्न नभुल्नु र माथ्लो ट्वाइलेटको साँचो झुप्पामा थपेर कम्मरमा बाँध्दै भनिन्– ‘अबदेखि यो चै घरबेटी दिदीको मात्रै– त्यसदिनदेखि त्यो साँझ मात्रै हो, माथ्लो ट्वाइलेटमा ताल्चा मारिएको थिएन ।

त्यसको कारण के, कसो थियो? त्यतातिर नजाउँ तर तब पाँच मिनेट पनि बितेको थिएन पाँचौ पटक घरबेटी दिदी ट्वाइलेट गएर आको फेरि पेट ‘गुडुङडुङडुङ…. गुडुडुडु…..’ गर्न थालिहालेछ । उनी छैटौं पटक जुरुक्क उठेर हत्तनपत्त दौडीहालिन् ट्वाइलेटतर्फ ।

ताल्चा नमारिएको मौका छोपेर अघि को पसिसकेको रहेछ ट्वाइलेटमा त । घरबेटी दिदीले रिसाएर ढोकामा ‘ढ्वाङ’ हिर्काउँदै सोधिन् ‘को छ है’ ? भित्रबाट जवाफ आएन् ।

‘को छ भनेको ?’ ढोकामा फेरी ‘ढ्वाङ ढ्वाङ’ हिर्काउँदै भनिन् ‘याँ मान्छेलाई गाह«ो भैसको, छिटो निस्की !’ भित्रबाट फेरि पनि जवाफ आएन् । ‘ढ्वाङ ढ्वाङ ढ्वाङ ढ्वाङ’ ढोका भत्काउलै जस्तो गरेर उनी चिच्याइन् ‘अहिले निस्कन्छस् कि तँलाई भित्रै थुन्दिम् ?’

‘म छु । भरखर पसेको ।’ उफ् ! पल्लाकोठे पो– माने पोखरेल दाइ पो । उनी परे कब्जीयत प्लस रोगी कब्जीयती । एकपटक ट्वाइलेट छिरेपछि दश मिनेट अघि निस्केलान् भनेर त कसैले नचिताए पनि हुने बाबै ।

अस्ति दुईचार दिन अघि त थियो गएको भैंचालो । सबै ‘मेरो…. मेरो….’ भन्दै भागाभाग गर्दै निस्किए घरबाहिर । जमिन थामिएपछि फर्किए सबै । तल्लाकोठे थरले अधिकारी, उमरले आमै, स्वरले ‘मेरी आमुइ नि त …’ भन्दै डरले थरथर थरथर कामीरहेकी थिइन् । घरबेटी दिदीको त झन् सातो अझै फर्केको थिएन । सातो फर्कनेवित्तिकै ‘मेरो घर झण्डै भत्को !’ भन्दै डाँको छोडेर रुन थालिन् । अरुहरू उनलाई सम्झाउन थाले । यत्तिकैमा पोखरेल दाइ निस्किएर ट्वाइलेट्बाट सोझै आए सबैको अगाडि र दुबै हातले भुँडी छोएर फूर्तिसाथ भने ‘कस्तो ठिक टाइममा आएछ भने यो भैचालो पनि । कन्नै परेन सर्लक्कै गयो !’

अब यस्ता मान्छेलाई धम्की ? त्यस्तै प¥यो भने ‘अहिले नकरा बजै तेरो पोल खोल्दिन्छु’ भन्न बेर लाउँदैनन् । कुरो बुझेर हो, घरबेटी दिदी पेट समातेर बायुवेगमा दौडिन् तल्लो तलामा । त्यहाँ पनि ट्वाइलेट कब्जा गरेर बसेका रहेछन् ट्वाइलेट इन्चार्ज अर्थात हर्कमान । उनी त झन् पोखरेल दाइभन्दा पनि चर्को ।

अस्ति भैंचालो गएकै साँझ ड्युटी जानु लागेको बेला ‘मेरी आमुइ नि त … त्यात्रो भैंफाट्ला जस्तो भैंचालो आउँदा नि था‘पाइनस् ? सुतेको सुत्यै मर्ने रैछस्’ भनेर अधिकारी आमैंले भन्दा भने ‘ए … त्यै भर पो, निद«ामै के के हल्ले हल्ले जस्तो त लाग्या थ्यो !’

अब यस्ता औतारी मान्छे । उनी त झन् सधैं डयुटी जानु अघि आए पनि नआए पनि ट्वाइलेट बस्नै पर्ने, बसेपछि एक खिल्ली चुरोट तान्नै पर्ने, चुरोट मजासित तानिसकेपछि धोद«ो स्वरमा गाउनै पर्ने, गाइसकेपछि हातमुख र खुट्टा सफासित धुनै पर्ने, अनि बल्लबल्ल सुसेली मार्दै निस्कने र निस्केपछि पालो पर्खेर जो बसेको छ उसलाई भन्नै पर्ने ‘दिसापिसाबको अगाडि अब समयको त के हिसाब होइन ?’

थाहा भएरै हो, घरबेटी दिदी फेरि मास्तिरै दौडिन् । दौडेर दोस्रो तलाको भर्याङ दुई खुड्किला के उक्लेकी थिन्, एक्कासी पेट कटक्कै काट्यो । ‘हे भगमान्’ भन्दै उनी थचक्कै बसिन् जहाँको त्यहीँ । त्यसपछि खुरुक्क उठिन् र एकैचोटी भर्याङ नाघेर आफ्नो कोठाभित्र फुत्तै पसिन् ।

त्यसपछि ऐतिहासिक शान्ति छायो त्यस घरमा त्यस समय ! केहीबेर पछि ‘मेरी आमुइ नि त …’ दिँउसो छतमा सुकाएको लुगा टिप्न उक्लेकी अधिकारी आमैको परिचित आवाज सुनियो ‘त्यसको बाउको लादी त कुनचाहिँ मर्न नसकेको… भर्याङ्गभरि ? राम राम राम राम … कस्तो घरै गन्हाएको ? बाबाबाबा ….’ भन्दै उँधो नै हाम फालिन् ।

फेरी चुप शान्ति छायो । अनि सदाझैं उक्लिए सुसेली मार्दै हर्कमान ड्युटी जान । दोस्रो तलाको भर्याङ एक खुड्किलो के चढेका थिए ‘आच्या… छया … छया… छया… झन्नै कुल्चेछु’ भनेर बुट हेरे । कुल्चिसकेका रैछन् । त्यसपछि रिसले बुट बजार्दै घरै थर्कने गरी कराए ‘ए घरबेटी दिदी लु झट्टै आइहाल्नु त, अब कुनचाहिंको चाकमा ताल्चा नमार्दी भएन ?’

किन हो घरबेटी दिदी त आइनन् बरु पोखरेल दाइ चैं आए ‘के भो हर्के, किन हल्ला गर्छस् ?’ भन्दै आइपुगे । ‘लु तपाई आफूनै आएर हेर्नुस् न ह्याँ, छेर्नु छेरेको छ’ हर्कमानले भुइँतिर चोर औंलाले देखाए, अलिक निहुरिए अनि भने ‘अब भो, यत्रो चाँबीको झुप्पै निलेपछि छेर्दैन त मान्छेले ?’
समाप्त

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x