अनिल कोइरालालुटको खेती
जुटको खेतीबाट भन्दा लुटको खेतीबाट मनग्ये आम्दानी हुने भएपछि नै हाम्रो देशमा यस किसिमको खेती फस्टाएको हो । हाम्रो देशै कृषिप्रधान भएकोले पनि यहाँ हरेक किसिमको खेती फस्टाउनु अस्वाभाविक मानिँदैन । फेरि लुटको खेती गर्न त्यति साह्रो गाह्रो पनि छैन । चाहे वर्षा होस् चाहे हिउँद, जुनसुकै याममा गर्न सकिने यो खेतीले थुप्रैलाई रोडपतिबाट करोडपति बनाएको छ । कतिपयले यसलाई खानदानी पेशाकै रुपमा अँगाल्दै आएभने कतिपयले अवसरवादीका रुपमा सुरु गर्न पुगे । यो खेती निश्चित जातजातिले मात्रै गर्ने भन्ने पनि छैन । दरबार हुनेदेखि लिएर घरबार नहुनेसम्मले यसलाई मुख्य आम्दानीको स्रोत बनाउन सक्छन् । मौसमले खासै असर नपार्ने यस खेतीका लागि कीटनाशक औषधीको बारेमा भने विस्तृत जानकारी हुनु आवश्यक छ । नत्र त फेरि पतेरो सल्क्यो भने सखापै पो हुन्छ त !
लुटका विभिन्न जाति–प्रजातिहरु भने हुन्छन् है ! जमीन र सिँचाईको पूर्वमुल्याङ्कन गरेर मात्र लुटको खेती ग¥यो भने चोखो आम्दानी हुने निश्चित हुन्छ । थोरै जमीनमा धेरै बिऊ हाल्न खोजेर पनि हुँदैन र धेरै जमीन छ भन्दैमा धेरै रोपेर मात्रै पनि हुँदैन । रासायनिक मल, सिँचाई र कीटनाशक औषधीको राम्रो व्यवस्था हुनुप¥यो । ‘धम्की’, ‘छलकपट’ र ‘मिलेमतो’ नामका रासायनिक मलहरु बढी प्रभावकारी हुन्छन् । कीटनाशक औषधीहरुमा ‘सफाया’ नामको कीटनाशक औषधी उत्तम हुन्छ भने भण्डारणको लागि देशी–विदेशी बैङ्कहरु, फाइनान्स कम्पनीहरु अथवा आफ्नै घरका ट्वाइलेट, पानीट्याङ्की, गाग्रो, जमीन आदि जे पनि प्रयोगमा ल्याउन सकिन्छ । रासायनिक मल, रोगव्याधि, कीटनाशक औषधी, बीउ–बीजन र भण्डारण आदिका बारेमा जानकारी भैसकेपछि यसका प्रजातिहरुका बारेमा जानकारी लिनु जरुरी छ ।
पहिलो नम्बरमा ‘अति–उन्नत’ जातको लुट पर्न आउँछ । यस अन्तर्गत पर्छ ‘परम्परागत लुट’ । साठीदिने मूला भनेझैँ यो चैँ दुईसय चालीस वर्षे लुट हो । जिजुबा, हजुरबा, बा, छोरा, नाति, पनाति, खनाति हुँदै वंश बिग्रिएर नानाभाँती हुँदासम्म पनि खेती फस्टाएको फस्टायै । राँको बालेर देउतालाई झुक्याउने किसान भन्दा जण्ड किसानहरु परेपछि खेती नफस्टाउने कुरै भएन । यस प्रजातीमा पनि पुर्खौली, सरकारी भत्ता, अपुताली जस्ता विभिन्न उपजातिहरु छन् । तर यो खालको खेती अब आउँदाका दिनहरुमा फस्टाउने सम्भावना छैन । यसको बीउ नै मासिएकोले यस्तो खेती अब दुर्लभ हुनेछ ।
दोस्रो नम्बरमा ‘उन्नत’ जातको लुट पर्न आउँछ । चालीसदिने मूला भनेझैँ यो चैँ चारपुस्ते लुट हो । सोझासाझा जनतालाई हली बनाएर सबै जमीन आफ्नो बनाउँदै त्यसैमा बर्षौंदेखि सामन्ती नामको बीउ रोप्ने गरिन्छ । प्रतिकूल मौसमका कारण यसप्रकारको खेती पनि अब आउने दिनका लागि त्यति फलदायी मानिएको छैन । आजभन्दा अगाडिसम्म त यी दुई अतिउन्नत जात र उन्नत जातको लुटजति अरु कुनै जातको खेती फस्टाएको थिएन ।
तेस्रो नम्बरमा पर्न आउँछ ‘मध्यम’ जातको लुट । यस अन्तर्गत भ«ष्टाचार, कमिसन र घुस सबै प्रजातिहरु पर्दछन् । हाम्रो देशमा असाध्यै प्रभावकारी ढङ्गबाट सप्रिएर गएको खेती नै यै हो । यसको खेती प्रायः प्रधानमन्त्री, मन्त्रीगण, ठूला नेता, सचिव–सहसचिवहरु, न्यायाधीशहरु, अधिकृतहरु लगायत साामन्य कर्मचारीहरुले समेत गर्ने गरेको पाइन्छ । यस किसिमको खेतीले अधिकांश किसानहरुलाई प्रशस्त आम्दानी गराएको छ र आउँदाका वर्षहरुमा पनि यो नै मुख्य आयस्रोतको बाटो हुने सम्भावना रहेको छ । त्यसैले पनि यसप्रकारको खेतीमा अझै निरन्तर किसानहरुको लगाव रहिरहने निश्चित छ । हुरी–बतास, असिना–पानीले समेत लछारपाटो लगाउन नसक्ने यस किसिमको खेतीमा ढुक्क भएर निर्भर हुन सकिने भएकोले किसानहरुको मन तानिनु स्वाभाविकै हो ।
चौथो नम्बरमा ‘सामान्य’ जातिको लुट पर्न आउँछ । यस किसिमको खेती प्रायः व्यापारी व्यवसायीले गर्ने गर्दछन् । खेती नै गरेको पनि झ्याप्पै देख्न नसकिने तर भित्र–भित्र आफ्नो घरखर्च गज्जवले टार्न सक्नेगरी आम्दानी हुने । यस्तो खेतीलाई सामान्य खेती नै मानिएको छ र निरन्तर रुपमा अँगालिने पनि पक्कापक्की छ ।
पाँचौँ नम्बरमा पर्न आउने लुट ‘निम्न’ जातिको लुट हो । यस अन्तर्गत धम्क्याएर चन्दा लिने, खोस्ने, कब्जा गर्ने, चोर्ने आदि प्रजाति पर्दछन् । यो किसिमको खेतीले वास्तवमा खेती नै नगर्ने किसानहरुलाई फाइदा पु¥याउँछ । अरुको खेतबारीमा फलेको चीज आफूले टिपेर ल्याएजस्तो । आफ्नो जग्गाजमीन नहुनेले अथवा भएर पनि खेती गर्न अल्छी मान्नेले प्रायः यो खेती रुचाउँछन् । बाह्रवर्षे द्वन्द्वताका त यो टट्टीमाथिको मूलाझैँ हर्लक्कै बढेको थियो । त्यो बेलामा त “गाउँ–गाउँबाट लुट, बस्ती–बस्तीबाट लुट” भन्ने गीत घन्काउँदै, बारुली कम्मर भाँच्दै, छम्छम् नाच्नु पर्लाजस्तो भएको थियो । तर यस किसिमको खेतीले अचाक्ली फाइदा गराएपनि समाजमा इज्जत भने दिलाउँदैन । यस किसिमको खेतीबाट स्याहारिने अन्नबाली लुकीचोरी खानुपर्ने हुनाले पनि समाजमा यसलाई ‘घटिया’ जातको खेती मानिन्छ ।
हवस् त ! आजको कृषि कार्यव्रmममा लुट खेतीका बारेमा समेटिएका यिनै कुराहरुलाई राख्दै र जतिसुकै थुप्रैलाई फाइदा पु¥याउने भएपनि तुलनात्मक रुपमा लुटखेती भन्दा जुटखेती नै इज्जतदार हो भन्दै अर्को कार्यक्रममा ठूला मान्छे भनाउँदा मूलाहरुको बिभिन्न प्रजाती र खेतीको बारेमा जानकारी लिएर यही समयमा उपस्थित हुने वाचा सहित आजलाई बिदा चाहन्छु नमस्कार !
‘फित्कौली’ वर्ष–३, अङ्क–१, भदौ २०६५
Subscribe
Login
0 Comments
Oldest







































