साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एकै ड्याङ्का मूला

Nepal Telecom ad

के छ मित्र हालखबर ? यतिखेरसम्म सार्वजनिक सवारी साधनमा सवार हुने सुअवसर प्राप्त गर्नु भ’को छैन भने त पक्कै पनि सञ्चो सुबिस्तै हुनुहुन्छ होला । हैन भने त खै के ? खै के ? भन्ने जस्तो भैसक्यो होला तपैँको पनि हालचाल । आफ्नो त आजकल दन्तबझानबाटै शुभ दिनको सुरुवात हुन्छ भन्दा पनि फरक नपर्ने भ’को छ । हैन कस्तो छुच्चो मान्छे भन्ठान्नु भयो कि क्या हो !

त्यस्तो चैँ पटक्कै हैन है ! कठै बिचरा ! म त नाम्चे बजाराँ छाडेर नयाँ बजाराँ जत्ति खोज्दा पनि फेला नपर्ने खालको मान्छे पो हुँ त ए ! अनि यस्तो वाइवाई नुडल्स्जस्तो सिधा, सोझो मान्छेले के कुराँ झगडा गर्नु प¥यो त भन्नु होला । के भन्नु र खै ? आफ्नोे हाल बेहाल भएको कुरो ! तै पनि भन्दैछु । लौ सुन्नुस्, यो मेरो मात्र हैन, मजस्ता धेरै भुक्तभोगीको रामकहानी हो ।

बडो भाग्यले राजधानीमा डम्म ला’र विराजिएको छ । यसो हातमुख जोड्ना खातिर कुनै न कुनै उद्यम नगरी भा’छैन । दौडधूपले थाकिएला भनेर ११ नम्बरेलाई आराम दिनकै लागि भनेर नानाथरीका चारपाङ्ग्रे भरमार भित्र्याइएको छ । हो, दुःखको जड् पनि यसैसँग जोडिएको छ । अब हेर्नुस् न, सडकाँ सलहजस्तै चारपाङ्ग्रे गुडे पनि चाहिएको बेलामा कहिल्यै पाइन्न क्यारे ! भाग्यले पाइहाले पनि मल्लयुद्ध नगरी चढ्नै सकिन्न । अरूलाई धक्याउँदै, मुक्याउँदै, छक्याउँदै बल्लबल्ल चढ्यो अनि यसो बसौँ भनेर हेर्दा सिटरूपी सिंहासनमा सिन्को राख्ने ठाउँ पनि खाली देखिन्न बा ! लौ भैहाल्यो नाम बस भए पनि यात्रा गर्ने काम चै उठै गरौँ न त भन्यो टेक्ने, समाउने ठाउँ नै हुँदैन । बसाएर, उठाएर, कोच्याएर, थच्याएर, खप्ट्याएर, सासै पास नहुने गरी टँस्याएर मान्छे खाँद्या छ खाँद्या छ भन्या ! सारसौँदा मान्छे कोच्या हो कि रायोमुलाको साग सम्झेर खिया प¥या टिनको ट्वाकाँ गुन्द्रुक खाँद्या हो खुट्याउनै हम्मेहम्मे हुन्छ ए गाँठे ! के गर्नु र, ‘खाऊँ भने कान्छा बाउको पिलन्धरे अनुहार नखाऊँ भने दिनभरिको सिकार’ भनेझैँ आफ्नोे पुग्नुपर्ने ठाउँमा ठीक ट्याम्मा नपुगी हुन्न । पुग्नका लागि बस, माइक्रोबस नचडी हुन्न । चढेपछि बज्रदन्ती दन्तमञ्जनले उजिल्याएका दन्तपङ्क्ति नबजाई धरै पाइन्न ।

साँच्चै भन्ने हो भने अरू कुरामा मेरो उन्नति, प्रगति खै के कसो भ’को छ कुन्नि ? म यसै भन्न सक्दिन । तर बसको बच्चा याने कि माइक्रोबसका गुरुजी र उनका चेलाचपेटासँग वाकयुद्ध गर्ने कलामा चैँ पक्कै दिनानुदिन मेरो उन्नति हुँदैछ । भाडा तिर्दातिर्दा बगली खाली भए पनि केही छैन । गाली गर्न, बाझ्न प्रयोग हुने ठेट नेपाली शब्दले मेरो शब्द भण्डार टनाटन भरिँदै छ क्यार !

पैलापैला त म झगडाको ‘झ’ले गोडा झार्नु अगाडि नै झटपट झिटिझाम्टा झट्कार्दै झुन्ड्याएर कुलेलम ठोक्थेँ । तर हिजोआज त विशेष गरी बच्चाबसका खलासीसँग वाकयुद्ध गर्नका लागि तीखातीखा वचन वाण सधैँ मुखरुपी तरकसमा जिब्रोमै झुन्ड्याएर राखी प्रहारका लागि तम्तयार हुन्छु । के गर्नु, यसरी रेडिमेड युद्ध सामग्री स्टोर नगरीकन त हुँदै हुँदैन ।

सबैभन्दा बढी कल पर्ने कुरो हो, पछाडि जाने र भाडा लेनदेन सम्बन्धित् मामिला । खलाँसी सधैँ पछाडि खाँद्न चाहने, आपूm पछाडि गएपछि ओर्लिन अगाडि आउनै नसक्ने हुनाले ज्यानजाला तर पछाडि जानै नमान्ने । अनि त के चाहियो र परिहाल्छ चर्काचर्की । जाने र नजाने विषय शेष भएकै हुन्न फेरि भाडाको कुरामा भाँडभैलो सुरू भैहाल्छ । तोकिएको भन्दा बढी भाडा मागेपछि भीमनिधि तिवारीकी सहनशीला सुशिलाले जस्तै चुपचाप लागेर अन्याय सहने कुरो पनि त भएन नि !

ल भन्नुस् त, यसरी क्षमताभन्दा छ गुना बढी मान्छे सिन्की झैँ खाँद्न अनि मनपरी तरिकाले भाडा लिन पाइन्छ त ? जति बढी खाँद्यो उति गुन्द्रुकसिन्की अमिल्या झैँ मन पनि अमिलिने भैहाल्यो । अनि त जस्तोसुकै सोझो मान्छे पनि नबाङ्गीकन सुखै छैन । त्यसैले मजस्तो मान्छे पनि चन्द्रमुखीबाट ज्वालामुखी, फूलमतीबाट शूलमती बन्दा के दसौँ आश्चर्य भो र !

के भन्नु भो ? तपैँको कथाव्यथा पनि यस्तै छ रे ! ए, लौ हामी त एकै ड्याङका मूला पो परेछौं ?

‘झिँगापुर’ हास्यव्यङ्ग्य सङ्ग्रह’ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मोबाइल महिमा

मोबाइल महिमा

सुमी लोहनी
कठैबरा !

कठैबरा !

सुमी लोहनी
बाका बथान

बाका बथान

सुमी लोहनी
0
Would love your thoughts, please comment.x
()
x