साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मट्याङ्ग्राको ट्याङट्याङ

Nepal Telecom ad

फित्कौलीमा मट्याङ्ग्रा हान्न सम्पादकज्यूले सम्झाउनुभएको धेरै भया’थ्यो । हस्हस् र भैहाल्छ नि भनेर बस्दाबस्दै बार, हप्ता गर्दै धेरै महिना चिप्लिए । एक दिन फित्कौली फेरि हात पर्यो । अनि केही लेख्नैपर्यो भनेर कलम समाती घोत्लिएँ ।
कलम समातेर घोत्लिँदै थिएँ– टेलिफोनको घण्टी घन्किन थाल्यो । कलम त्यतै फालेर रिसिभर उचालेँ । कानमा लगेँ । भनेँ– हलो । सुनेन । चिच्याएँ–
–हलो –हलो !
–यो कहाँ पर्यो ?
–मेरो दायाँ कनमा । कसलाई खोज्नु भो ?
–भट्ट….राईलाई (भकभके रहेछन्, जिल्लातिरका)
–भट्ट हुनुहुन्छ यहीँ, उहाँसँग कुरागर्दै गर्नुस् म राईजीलाई बोलाइदिउँला ।
–होइन म किस्ताबन्दीमा कुरा गर्दिन, होलसेलमै भन्नु छ ।
–लौ भन होलसेलमा ।
मैले रिसिभर राखिदिएँ र घोत्ल्याइँलाई निरन्तरता दिन थालेँ । कलम समात्नै नपाई पुःन घण्टी बज्यो । उनै सज्जन रहेछन् । जोडले जङ्गिए । भने– त्यत्रो फोन राखेर बस्नेले यौटा भट्टराईलाई दुई किस्तामा बोलाउने ? राजधानीमा बस्ने, फोन राख्ने अनि त्यस्तो पनि हुन्छ ? हामी गाउँमा कत्राकत्रा काम गर्छौँ तपाइँहरू त्यतिलाई पनि …. । ती राँक्किए । म मौन रहेँ । फोन राखेँ । मनोदशा भाँडियो । मुड मोडियो । कलम त्यो दिन त्यसै छोडियो ।
अर्को दिन केही लेख्ने दृढताका साथ सरस्वतीमातालाई सम्झेर पलेँटी कसेँ ।कताबाट हानौँ मट्याङ्ग्रो…. गम्दै थिएँ । विषयका पोकापन्तुरा छाम्दै थिएँ , मुड पनि बन्दै थियो, राम्ररी निशाना लाउनु पर्छ– मनले भन्दै थियो । फ्याट्ट मोबाइलमा म्यासेज आयो । साथीले एसएमएस गरेछ । मास छर्न जाने मन्त्रीकै बाउ परेछ । लोकतन्त्रका मन्त्रीको बाउजस्ताको मलामी नजानु ? मनले मानेन । चक्काजाममा लोकतान्त्रिक पुलिसले ‘हल्का लाठीचार्ज’ मात्र गर्दा मान्छे चिलिम । उता लाठीले लागेल मान्छे सुइँकिरा’छ म मट्याङ्ग्रो ताकेर भो ? कलम फ्याँकेर कुदिहालेँ ।
अर्कोदिन फोन होल्ड राखेँ, मोबाइलको स्वीच अफ गरेँ र लागेँ फित्कौलीमा मट्याङ्ग्रो हान्ने उद्योगतिर । कत्रो चाहिँ मट्याङ्ग्रो हान्ने हो त अब ? कुन तोडले हान्ने हो ? कतापट्टि हिर्काउने – चल्लीतिर, कन्पारोपट्टि या घुच्चुकाँ ? मट्याङ्ग्रा खुत्रुक्कै हुने गरी हान्ने कि, खँजाहा मात्रै पार्ने या छ्यास्सछुस्स ?
फित्कौली पल्टाएर त्यसमा दिइएको मट्याङ्ग्रा हान्ने फर्मुला हेर्दै थिएँ– बाहिर कसैले कलबेलको स्वीच थिच्यो । ढोका खोलेँ । अन्तर्वाताकार रहेछन् । म मट्याङ्ग्रे शिरोमणिको इन्टरभ्यु लिन आ’का । इन्टरभ्यु छाडेर मैले मट्याङ्ग्रोभ्यु सोच्न के सक्थेँ । त्यो दिन पनि त्यत्तिकै !
आज बिहान सखारै साढ सात बजे उठेँ । नित्यकर्म गरेँ । दिन पनि सफा टक्टकाउँदो थियो । मनमा लाग्यो– आज पक्कै पनि मट्णङ्ग्रो हानिन्छ । खाना खाइयो । चुठियो । काउचमा प्रशन्न मुद्रामा बसियो । मन त्यसैत्यसै फुरूङ्गिएको थियो– कारण मट्याङ्ग्रो आजलाई हानियो–हानियो । टिभीमा रसिक सिरियल प्रशारण भइरहेथ्यो । बेडमा यसो पल्टिएँ । शरीरमा आराम महसुस भो । आँखा लागेछन् । भुसुक्कै निदाएँछु । उठ्नेबित्तिकै पत्नीले लखेटिन् छोराछोरीको स्कुल फि तिर्न– जाँच रोकिन्छ, प्रवेशपत्र पाइन्न…..।
सम्पादकज्यू, आज पनि मट्याङ्ग्रो हान्ने साइत जुरेन । उठेकै साढे सातमा के साइत पथ्र्यो ? धन्दा नमान्नुस् अर्कोपल्ट अखबारमा हानिसकेकै मट्याङ्ग्रो भए पनि पुछपाछ गरेर फित्कौलीमा हानौँला , कसैलाई नभन्नू… ।
उही मट्याङ्ग्रे शिरोमणि,
पोल्ट्री प्रतिष्ठान काँठेमण्डप

(फित्कौली– अङ्क १० बाट)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x