साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घूस र जागिर : एक संस्मरण

Nepal Telecom ad

मेरा जागिरे मित्रहरूमध्ये कोही यस्ता छन् जो प्रहरी एवम् प्रशासनसँग सम्बद्ध हुनाका बावजुद औधी सोमतिला मात्र नभई मिजासिलासमेत छन् । तीमध्ये केही त कस्ता पत्रू छन् भने तिनमा प्रभावकारी गाली गर्ने हुतीसम्म छैन । पिट्ने, केरकार गर्ने र थुनछेक गर्न त तिनलाई पटक्कै आउँदैन । कोही–कोही लेखपढ गर्नसमेत जान्दछन् र तीमध्ये कतिपय त यदाकदा त्यस्ता कुरासमेत गर्दछन्, जसको लसपस ज्ञान, बुद्धि र विवेकसँग हुनेगर्छ । एकजना सन्त भ्रष्टाचारको कथित आरोपमा ढाक्रे हुन बाध्य तुल्याइएका छन् । जागिरमा छँदा नूनको सोझो गर्ने कुलत परेकाले बिचराले कान्तिपुरमा एउटा मात्र बिल्डिङ ठड्याउन पाए र नाथे बिल्डिङ पनि मात्र चारतले ! जागिर नखुस्कँदै छ तले अर्को एउटा बिल्डिङ ठोक्ने उनको धोको मनैमा रह्यो ! घूस नखाई जागिरेले घर नै ठड्याउन नसक्ने हामीकहाँको यो बुर्जुवा प्राविधिकबाट म पनि पीडित छु र कहिलेकाहीँ मलाई त घोर ग्लानिसमेत भएर आउँछ । 

जागिर खाने क्रममा मैले यदाकदा हार्दिक मूर्खतापूर्ण कामसमेत गर्नुपरेको छ । अफिसको कामको सिलसिलामा मैले एकपल्ट ट्याक्सी चढ्नुप¥यो । भ्रमण सम्पन्न गरेर ट्याक्सी भाडा दाबी गर्दा ट्याक्सी चढेको प्रमाणस्वरूप बिल पेश गर्ने आदेश भयो । ‘ट्याक्सी पाउन त कत्रो रणनीति अपनाउनुपर्छ, त्यसमाथि कुनचाहिँ ट्याक्सी–ड्राइभरले बिल दिन्छ ? जाली बिल पेश गर्ने अनैतिक कर्म मबाट जानाजान हुन सम्भव छैन’ भन्नमात्र भ्याएको थिएँ, बडालेखापालको कपाल एक्कासि रन्किहाल्यो– ‘हेर्नोस्, के नैतिक र के अनैतिक त्यसको समुचित ज्ञान भए मैले यस पदलाई अलङ्कृत गर्न पाउने नै थिइनँ, नियम भन्या नियम हो, अनि बिल नभई खर्च लेख्नै मिल्दैन, महालेखाले मरेकाटे छोड्दैन ! फेरि, तपाइँले पेश गर्नुपर्ने बिल सक्कली नै हुनुपर्छ भनी मैले अधर्म नै त बोलेको छैन नि !’ यो लेखापाल भन्ने पद कस्तो लिच्चड र जाद्रो हुन्छ भने कसैको बिलको भुक्तानी दिनुपर्यो कि उसको पेट पोल्न थालिहाल्छ । नक्कली नै भए पनि बिलचाहिँ पेश गर्नैपर्ने यो यो बेहूदा आर्थिक नीति–नियमले के खोजेको हो ? कर्मचारीलाई उसको विवेक व्रिद्ध जानाजान जालसाजी गर्न सिकाउने यस पत्रू पद्धतिको कुनै अर्को न्यायोचित विकल्प खोज्न सकिन्न र ?
‘बैङ्कमा घूस लिँदैनन्’ भन्ने उखान एकताक खूपै प्रचलित थियो । बैङ्कको एक कर्मचारीका नाताले यो उखान सुन्दा म मख्ख पर्थेँ । जसो–जसो काल खिइँदै गयो भान्सामा अनिकाल पर्नथाल्यो उसै–उसै कर्मचारीको आचरण पनि पवित्र हुनथाल्यो । अचेल कुनै ग्राहकले कोकाकोला, फेन्टाबेगर कुनै काम गराउने धृष्टता ग¥यो भने म यसरी जवाफ दिन्छु– ‘श्री ५ को सरकारका अड्डाहरूमा एउटा स्यानो कामको निम्ति सत्रपल्ट धपाउँदा भने तपाइँलाई कुनै कष्ट नहुने, बैङ्कमा चाहिँ पस्ने बित्तिकै तपाइँको चेकको भुक्तान र ड्राफ्ट तुरुन्तै बस्नुपर्ने ? जानोस्, भोलि आउनोस् !’ ग्राहक गुनासो गर्छ– ‘अब हुँदाहुँदा बैङ्कमा समेत तारिख दिनथाले !’ यो उक्ति सुनेपछि कुन त्यस्तो कारिन्दा होला जसको स्वाभिमानले यस्तो सूक्ति नभनोस्– ‘बैङ्कका कर्मचारी के सौताका छोरा हुन् ? तपाइँलाई भोलि आएर सम्पर्क राख्नोस् भन्यामात्र हो, घूसै मागिहाल्या त होइन नि !’ ग्राहक पड्कन थाल्यो– ‘घूस त भन्सारमा समेत हाकाहाकी माग्दैनन् ! भोलि आउनोस्, एकपल्ट सम्पर्क राख्नुस् भन्ने सद्उक्ति नै घूसको अप्रत्यक्ष माग गरिएको ठहर्दैन ? मेरो काम आज किन नहुने ?’ मेरो छुच्चो मुख छुरा चलेझैँ चलिहाल्छ– “तपाइँको ‘किन ?’ को कुनै जवाफ छैन ! तपाइँको ड्राफ्टमा सही गर्ने ‘सर’ हरू दुवैजना हुनुहुन्न, एकजना सिनेमा हेर्न जानुभा’छ र अर्का ‘सर’ चाहिँ ‘भागेर सिनेमा हेर्न गएको छ’ भनी सुसूचित गर्न तालुकवाल अफिसमा जानुभा’छ । मैले मात्र सही गरेर तपाइँको ड्राफ्टको भुक्तानी हुने भए म यही जागिरमा बसेर किन समय खेर फाल्थो ? अनि तपाइँलाई ‘भोलि आउनोस्’ भन्नुबाहेक मैले गर्न सक्ने अरु के नै छ र ? म झूटो बोल्नमा पारङ्गत भएको भए एकजना ‘सर’ को कुरा छ, उहाँ भक्खरै मात्र बाहिर जानुभयो, अफिसमा पानीको थोपै छैन, पानी खान सुन्धारा जानुभा’छ भन्थो । अब तपाइँ मलाई सोझो र साँचो बोल्ने होचो कारिन्दा ठानेर मेरा मुखमा घोचो पेल्नुहुन्छ भने म स्पष्ट भन्न चाहन्छु– ‘मैले बैङ्कको जागिर खाएको हुँ, तपाइँजस्ता बनियाँको होइन !’”
घूसको चलन पुरातनकालदेखि चलिआएको हो र यस चिरन्तन–पद्धतिमा कहिल्यै व्यतिक्रम आएको मलाई थाहा छैन । ‘चीनमा त घूस चल्छ, हामीकहाँ घूस चल्यो त कुन अपराध भयो’ भनी हाम्रा महान् शिक्षामन्त्री स्वयम् शिक्षा दिनुहुन्छ । यस क्षेत्रमा हालसम्ममा देशले कायम गरेको कर्तिमानमा गर्व गर्र्नसक्ने आधारहरू प्रशस्त छन् । अड्डा–अदालतमा पुरातनकालमा पनि कामचाहिँ आक्कल–झुक्कल नै हुनेगथ्र्यो जुन परिपाटीमा राष्ट्रसेवकहरू अद्यापि अडानमा नै छन् भन्न पाउँदा अड्नसक्ने एउटा कर्मचारीको हैसियतले म भावविभोर हुनेगर्छु । दस बजे अफिस पुग्नै पर्ने बुर्जुवा–व्यवस्था त्यसबखत पनि थियो तर नियम भने सक्रिय थिएन । छड्के गर्ने नितान्त अलच्छिना एवम् अवैज्ञानिक पद्धति तिनताक पनि थियो र आज पनि छ, तर छड्केमा परेर कसैले जागिरै गुमाएको चाहिँ मलाई थाहा भएन । मेरा पिता श्री अतीव प्रतापी पाराका घुस्याहा हुनुहुन्थ्यो र बारा, पर्सा, रौतहट तीनै जिल्ला अदालतउपरको अपील श्रवण गर्नुहुन्थ्यो । उहाँ भूजा जिउनार गरी केही प्रहरका निम्ति सुकला होइसिन्थ्यो र कथम्कदाचित निद्रामा व्यवधान हुन गएमा निमेष मात्रका निम्ति भए पनि अदालतको शोभा बढाउनुहुन्थ्यो । त्यसको लगतै चिया खान भनी उहाँ क्वाटरमा प्रविष्ट हुनुहुन्थ्यो र उहाँको ‘चियापान’ कत्तिको स्तरीय हुन्थ्यो भने उहाँ पुनः सुकलामा सवारी हुन्थ्यो र फेरि त्यो दिन अड्डाको दैलोमा पस्नुलाई ‘प्रतिष्ठाको विरुद्ध’्र ठान्नुहुन्थ्यो । उहाँको सुखद र सारगर्भित अनुपस्थितिमा राय–किताब लेख्ने, मुद्दाको प्रकृतिअनुसार घूस–राशिको न्यायोचित निर्धारण गर्ने जस्ता मामुली पेण्डिङहरू नौसिन्दा र विचारीहरू नै गर्दथे । पिताजीको निजी–कोषमा दाखेल हुने पूर्वनिर्धारित घूस–राशी, जो सामान्यतया मूलधनको ६० प्रतिशत हुनेगथ्र्यो, साँझपख मेरा करकमलमार्फत गृह–प्रवेश सम्पन्न हुनेगथ्र्यो । उहाँको त्यस्तो अपरिमेय आर्जन देखेर आफू निकै ठूलो कुलमा जन्म लिएको रहेछु भन्ने भ्रान्ति एवम् उच्चताभास हुन्थ्यो । तर बाबु घुस्याहा हुँदैमा छोराले पनि घुस्याहा नै हुनुपर्ने भन्ने नियतिबाट म बञ्चित भएँ । घूस खान भाग्य पनि चाहिन्छ ! त्यस्ता परम प्रतापी पिताको पुत्र हुँदाहुँदै पनि के तल–वितल परेर अथवा कुन पापको प्रायश्चित्तस्वरूप घूसै नआउने बैङ्क नामधारी संस्थामा मैले कैद काट्नुपर्यो, म स्वयम् चकित छु । तर स्थितिमा अब चाहिँ केही सुधारहरू देखिएका छन्, किनभने केही स्तरीय र प्रतिभापुञ्ज बैङ्कहरूले घोटालाका यस्ता शानदार काण्डहरू सम्पन्न गरेका छन् जो जनसमक्ष प्रकाशमा आउन–आउनै लागेका छन्, जसले भन्सारलाई समेत लाजमर्नु पार्नेछ । यसो त, ती घटनाहरूमा न त म सम्मिलित छु न त मेरा तालुकवाल नै सम्बद्ध होइसिन्छ । यस संस्मरण–लेखनको प्रभावले मेरो जागिरमा कतै तल–वितल पर्न गएर मैले स्पष्टीकरण दिनुपर्ने नै भए पनि मलाई खुशी नै हुनेछ, किनभने स्पष्ट भन्ने र लेख्ने मेरो कुलत नै बसिसकेको छ । म कतिसम्म हरिप छु भन्ने तथ्य मभन्दा बढी मेरा तालुकवाललाई थाहा छ । आफू डुब्नै परेपछि अन्तर–कुन्तरमा लुकेर बस्न विवश रहेका भ्रष्टाचारीहरूलाई अघि नलगाई म डुब्नेवाला छैन किनभने भ्रष्टाचारको लामो र अन्त्यहीन सूचीको गहन अध्ययन–मननको उर्जा ममा प्रशस्त छ र अर्को तथ्य के पनि छ भने मलाई पौडेर पाखा लाग्न आउँछ । ‘महाजन येन गतः स पन्थ’– संस्कृतको यो सूक्ति त्यस्सै प्रचलित भएको त होओइन !

(फित्कौली– अङ्क १० बाट)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
माड्साप्

माड्साप्

श्याम गोतामे
प्रुफरिडर

प्रुफरिडर

श्याम गोतामे
खाद्य सामग्री

खाद्य सामग्री

श्याम गोतामे
नेता

नेता

श्याम गोतामे
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x