सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

जुको पार्टी

Nepal Telecom ad

पार्टी व्यक्ति व्यक्ति मिलेर बनेको संस्था हो । सहकारी संस्था जस्तै धनको भकारी भर्न यो जुको पार्टी निरन्तर सक्रिय छ । आफ्नो पार्टी नभए त देशै चल्दैन कि झैं गर्ने गहन भ्रम छ यस पार्टीमा । हुन पनि हो पार्टी विनाको देश यो लोकमा यस मत्र्यमण्डलमा कहाँ छ र ? त्यसैले पार्टी स्वतन्त्रताकी जननी । अबका नयाँ पुस्ताले डेमोक्रेसीको रसास्वादन गर्न नपाए कचिङ्गल सिर्जना गर्न सक्छन् । कचिङ्गल साम्य भएन भने आन्दोलनको रूप लिन्छ फलतः अन्तमा आन्दोलनले दिने भनेकै प्रजातन्त्र । यही प्रजातन्त्रमा पार्टी हुर्किने र फुर्किने चलन चलेको निकै भयो । देशमा नाना भाँतीका पार्टीको ताँती लाग्नु स्वतन्त्रताका लागि आवश्यक मानिन्छ । मनोकाङ्क्षा परिपूर्तिका लागि देश विकास खातिर यस देशमा पछिल्लो पटक दर्ता हुनआएको जल्दोबल्दो खरो र दरो पार्टीको नाम हो ‘जुको पार्टी’ । यस सन्दर्भमा नागरिक वर्गलाई/सचेत वर्गलाई सुसूचित पार्नु आफ्नो गाँठी कुरो ठानेको छु ।
निर्वाचन आयोगमा पछिल्लो पटक दर्ता भएको नम्बरी झण्डावाल, डण्डावाल पार्टीको नाम हो ‘जुको पार्टी’ । सुको कमाउन, गाँठवालेलाई समाउन अति सिपालु यस पार्टीले आम नागरिकहरू माझमा लोकप्रिय बन्न धन्न धन्न विभिन्न वितन्डाहरू मच्चाई राख्छ । कहिले बसमा बम बारुद पड्काएर मान्छेलाई च्यातचुत पारेर सिध्याउँछ भने कहिले रणबहादुर बम जस्ता न्यायाधीशमाथि गोली बर्साएर मानवीय प्राण र कानुनलाई मुठीमा राख्छ । एउटा न्यायाधीशको प्राण मुठीमा राखेपछि अन्य न्यायाधीशहरूको सातो जाओस् शरण पर्न आओस् तर्सिउन र न्यायको जिम्मा जुको पार्टीमा सरोस् भनेर नमज्जाले तर्साउने काम हुन्छ । पर्चा/पम्प्लेट छरिन्छ । अनि न्यायपालिकाको अपहेलना गरेको छैन भनेर जुको पार्टी डरले लुगलुग कामी रहेको न्यायपालिकामा सम्मानको च्याङ्लो अतिरञ्जित नाटक मञ्चन गर्न पुग्छ । आफ्नै सभामा यसो सुपारी बम पड्काए झैं पनि गर्छ र न्यायमूर्तिको हल्लिएको मुटुलाई थुमथुम्याउन कारवाहीको राग उराल्छ । बेतोडले जनहितकारी, अनुकरणीय, सिपयुक्त, सङ्गतयोग्य कुरा सारा जनतामा समायोजन लायक निर्णय लिन/दिन खप्पिस छ जुको पार्टी’ ।
निर्वाचन आयोगमा दर्ता हुँदा नानाभाँतीका कागजपत्रहरू जुटाउन समस्या पर्दा जुको पार्टीले अन्य तमाम काम कुराहरू पन्छाएर सुको अगि सार्दै आफू अगि बढ्ने गर्छ । छिसिक्क केही प¥यो कि अनुदानको सुको देखाई हाल्ने ‘जुको पार्टी’ नयाँ जङ्गबहादुर शैलीमा सर्बहारा वर्गको हितमा मुन्टो टेकेर मर्नै खोज्छ । चुनावताका जनहितकारी नारा लगाउँदै निम्नवर्गीय जनता, सोझा निमुखालाई खुवाउनदेखि चुठाउनसम्म आफैंले गरिदिने अक्षय नारा लगाउँदै सारालाई उचाल्छ । कर्तव्य पूरा गर्ने अन्तिम घडीमा संविधान सभालाई जस्तै मध्येरातमा पछार्छ/मार्छ । अनि भ्यागुताको जीवनचक्र पुनः दोहोरिन्छ । भ्यागुतो जति उफ्रिए पनि कान्ला मुनिको मुनि । यस्तै छ जुको पार्टीको जुनी । गोहीको तालमा रूने । चुस्ने चुस्ने भित्रभित्र घुस्ने ।
जुको पार्टीको अर्का विशेषता भनेको जता पनि फर्किन सक्नु । यसको पूर्ण कदमा हाडको हद न्यूनाती न्यून हुन्छ र त यो जता पनि बटारिन्छ । जता पनि फर्किन सक्ने चालढाल देखेर अरू मानव तर्किन खोजे पनि यो फर्किन छोड्दैन । सोझो सिधा मान्छे देख्यो कि लम्केर आफ्नो बनाउन खोजी हाल्छ, ठुँगी हाल्छ, ठगी हाल्छ । नभै नहुनी मायाको जातै बैगुनी ।
केही नपाउँदा लम्पट छालाले मात्र पनि जीवित रहने र पाएमा चुस्दा चुस्दा अरूले छि छि भन्छन् कि भन्ने भेउ हेक्का पनि नराखी बिछट्टले सल्बलाउँछ । जीव असल खराब जस्तोसुकै भए पनि चुस्ने र घुस्ने पृथक स्वभावका कारण जुको पार्टीको मरण या पलायनपन सदा सन्देहपूर्ण नै रहन्छ । ठाउँ कुठाउँ चुसी हाल्ने छुद्राचरणबाट हरेक सम्बेदनशील जीवहरू अव्यक्त वेदना पचाएर बस्न विवश छन् । न यसलाई ड्याम्म ड्याम्म पिटेर स्वाद लिन सकिन्छ । पिटिनेले एैया भने पो पिट्नेलाई स्वाद आउँछ । थेत्तरो ‘जुको पार्टी’ न देश चलाउन जान्दछ, न भनेकै मान्दछ, यसले आफूलाई के ठान्दछ हँ ?
ताने तन्किए जस्तो गर्ने, छोडे खुम्चिने कस्तो तरल स्वभावको सरल पार्टी हो यो ? आफ्नो धर्म, कर्म विशेषता, योगदानलाई ‘न भूतो न भविष्यति’ ठान्ने यो पार्टीले आफू र आफ्नो जत्थालाई ज्यादै उच्चकोटीको ठान्छ । पछाडिको ढोकाबाट ढुङ्गाले हान्छ र मर्न लागेकोलाई अगाडि गएर नमस्कार गर्छ । शरण पर्छ र मौका पर्दा संविधान सभालाई जस्तै दागा धर्छ । यस्ता अतिचारी छुद्र पार्टीलाई उँदै गति उँदै मति भएकाले खुब रुचाउँछन् । यसमा समाहित हुन दुष्टात्माहरूले सदस्यता लिने गर्छन् । जुको पार्टीको नाम लिएर प्रजातन्त्रले ओतप्रोत यस देशमा नकाम गर्न छुट छ । त्यसैले हर्ताकर्ता बटुल्ने, सज्जनलाई विटुलो बनाउने, सुको माग्ने, नदिनेलाई झीरमा टाँग्ने, सोझासिधाको धरनासो समाउने, रमाउने । हातले, बातले, नभए लातले भए पनि ‘जुको पार्टी’ कठै बरा ! सुको सिहार्न हैरान छ । बरु हामी जनता के भद्रा हेरेर बस्ने । दिन प्रति दिन चुनाव नजिकिँदो छ, त्यसैले ‘जुको पार्टी’ जस्तै सुको कमाउने, घाँटी समाउने, रमाउने एउटा पार्टी खोल्ने हैन त साथी ?
पोखरा, कास्की

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
म्वाई महात्म्य

म्वाई महात्म्य

शेषराज भट्टराई
थाङ्ने चिन्तन

थाङ्ने चिन्तन

शेषराज भट्टराई
साँढे स्वास्नी

साँढे स्वास्नी

शेषराज भट्टराई
किन चाउरिस् मरीच ? आफ्नै रागले !

किन चाउरिस् मरीच ?...

शेषराज भट्टराई
घाँटी 

घाँटी 

शेषराज भट्टराई