सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

म नेताभक्त

Nepal Telecom ad

आजकल म ज्यादै नेताभक्त भएको छु । किन म यसरी नेताभक्त भएको होला भनेर अरुले ममाथि प्रश्न वर्षाउनुलाई मैले अस्वाभाविक मानेको छैन । तर सबैले ख्याल गर्नुपर्ने कुरा के हो भने म जस्तो सिद्धान्तवादी मान्छे त्यत्तिकै ख्यालख्यालमा नेताभक्त भएको चाहिँ होइन । नेताहरूको गुण हेर्दा–हेर्दा नेताहरूप्रति नतमस्तक भएर नै म नेताभक्त हुन पुगेको हुँ । त्यसैले त म हरपल मेरा प्रिय नेताहरूको बोली सुन्न, अनुहार हेर्न र बखान सुन्न आतुर छु । नेतागाथा सुनिरहन्छु, नेताको अनुहार हेरिरहन्छु र दुई चार जनको झुण्ड पाउनेबित्तिकै नेता गाथा गाउन थालिहाल्छु ।
म दिनभरि गोरु जोतिए झैँ काममा जोतिन्छु । बेलुका थकित हुन्छु, तर जति नै थकाइ लागेको किन नहोस् म बेलुका भएपछि मेरा प्रिय नेताहरूको अनुहार हेर्न र बोली सुन्न टीभी अगाडि धर्ना कसेर बस्छु । आखिर मैले मेरा प्रिय नेताहरूलाई देख्ने, भेट्ने र सुन्ने ठाउँ यही मेरो घरको कोठामा रहेको थोत्रो टीभी नै त हो । त्यसैले त यो मेरो घरको थोत्रो टीभीलाई पनि म धन्यवाद दिन्छु जुन टीभीले मलाई वषौँवर्षदेखि मेरा प्रिय नेताहरूसँग साक्षात्कार गराइरहेको छ ।
त्यसो त मैले कहिलेकाहीँ मेरा प्रिय नेताहरूलाई प्रत्यक्ष साक्षात्कार गर्न नखोजेको पनि होइन, तर कहाँ पाउनु र ? म एकजनाको नेता भा’पो मैले भेट्न पाउनु ? बिचरा २ करोड पैसठ्ठी लाख जनताका नेता न परे । कहिले कुन जनता र कहिले कुन जनताको घर दैलोमा पुग्दै मेरा नेताज्यूहरूलाई फुर्सद नभएकाले मैले भेट्ने सौभाग्य नपाउनु स्वभाविकै हो । देशका यत्रो जनताको भारि बोकेर बसेका नेताहरूलाई भेट्न नपाए पनि म सन्तुष्ट छु । उनीहरूले जनताको समस्याको भारि अफ्नो थाप्लोमा थापिदिएकोमा म नेताहरूप्रति साहै्र गौरवान्वित छु । उनीहरूको यो त्याग, तपस्या, बलिदानीले गर्दा नै मैले पनि महान् नेताको भक्त हुन पाएको छु ।
यो देशको प्रगतिको लागि मेरा नेताज्यूहरू ज्यान छोडेर हाम फाल्नु भएको छ । यसरी देशको लागि हामफाल्ने नेताहरूको अवमूल्यन गर्दै कसैकसैबाट कुर्सीका लागि हाम फालेको भन्ने हल्काफुल्का टिप्पणी गरेको पनि मैले सुनेको छु । तर त्यस्ता आलोचकहरूले बुझ्नुपर्ने कुरा के हो भने कुर्सी नचढी देश नबन्ने हुनाले हाम्रा नेताज्यूहरू कुर्सी चढ्न आँतुर हुनुहुन्छ । त्यसैले मलाई पनि आजकल कुर्सीप्रेमी नेता ज्यादै मन पर्छ ।
मैले भनेको कुरा सत्य होइन भने भनिदिनुस् विश्वमा कुर्सीमा नचढी फर्सीमा चढेर देश कसले बनाएको छ र ? यदि त्यस्तो फर्सीमा चढेर कुनै नेताले देश बनाएको इतिहास कतै छ भने भनिहाल्नुस् नेताहरूलाई सिंहदरबारका कुर्सी छोडेर फर्सी चढ्न फर्सीबारीतिर जाने सल्लाह दिऊँला । होइन त्यस्तो उदाहरण छैन भने देश र जनताको लागि कुर्सीका लागि हारालुछ गर्ने नेतालाई त हामीले स्यलुट पो माुर्नुपर्छ त । त्यसैले बरु तपाईँ पनि कुर्सीप्रमी नेताको भक्त हुनूस् र फर्सीप्रेमी अर्थात् फर्सी खाएर बाँच्नेहरूको आजैदेखि आलोचना गर्न थालिहाल्नुस् ।
कुर्सी चढेका मेरा नेताको चमत्कार हेर्नुस्, देशका पहाडी कुनाकाप्चालाई विकासले पोतेर स्वीट्जरल्याण्ड बनाइसके । काठमाडाँका शहरलाई सिंगापुर बनाइसके । विकासले गर्दा नयाँसकड न्यूयोर्क जस्तो देखिन थालिसक्यो, पुतलीसडकले पेरिसलाई बिर्साउने भैसक्यो । भक्तपुर र भ्यान्कुभरमा कुनै फरक छैन, ललितपुरले लण्डनको झझल्को दिन थालिसक्यो । कीर्तिपुर जाउँ कोपेनहेगनभन्दा कम छैन, यस्तो विकास देख्दा देख्दै अब देशको विकास भएन भन्नेहरूको बोलिमा कुनै दम छैन । त्यसैले म त भन्छु, यस्ता महान् नेताको भक्त हुनुको हामीसँग अरु कुनै विकल्प छैन ।
विना संविधान पनि देश चल्छ भनेर हाम्रा नेताहरूले विश्वलाई पाठ पढाइसके । प्रतिस्पर्धाको दौडमा भाग लिएर विश्वमा डाढे नेपाली भनेर नचिनिने भनी छिमेकी बिहारलाई आफूभन्दा अगाडि लगाइसके । नेताले जे गरे पनि सकारात्मक आँखाले हेर्नु है भनेर जनतालाई आदर्शको पाठ सिकासके । नेताको काममा जति तालि बजाए पनि हाम्रा तालि नदुख्ने बानी बनाइसके ।
विश्वका स्थापित द्वन्द्व र न्यायका मान्य सिद्धान्तलाई आत्मसात गर्नुभन्दा आफ्नै देशको मौलिक द्वन्द्व र न्यायको सिद्धान्तमा विश्वास गर्ने पाठ सिकाए । दोषीलाई कारवाही होइन पुरस्कार दिने नयाँ कानुनी मान्यताको विकास गरे । मेलमिलापगर्दा भन्दा झगडा गर्दा नै आमजनतामा राजनीतिक चेतना बढ्ने ठानी झगडालाई मलजल गरेर फलाए फुलाए । झगडै झगडाले देश झलमल्ल बनाए ।
जनताका झुपडी साना भए पनि सबै नेताले ठूला भवन बनाए । भलै देश र जनता गरिबै किन नहुन् कम्तिमा पनि धनी नेता बस्ने देश भनेर देशलाई विश्वसामु चिनाए । नेपाली पर्यटनलाई टेवा दिन नसके पनि महिनैपिच्छे विदेश घुमेर सिङ्गो विश्व पर्यटन उद्योगलाई टेवा पु¥याए । सरकार बनाउने र गिराउनेदेखि विकासका कुरासम्ममा विदेशीसँग सरसल्लाह लिएर मात्र गर्ने मान्यताको विकास गरी नेपाली विश्वबन्धुत्वको उत्कृष्ट नमूना बाँडे ।
उहिले बुद्धले आफ्नो गालामा कसैले एक थप्पड हानेमा अर्को गाला पनि थापिदिनु भनेर पाठ सिकाएथे रे । अहिले हाम्रा नेताज्यूहले पनि हामी नेताले जे गरे पनि धैर्य गर्नु र तालि बजाइरहनु है भनेर जनतालाई धैर्यताको पाठ सिकाए । यस्तो आदर्श पाठ सिकाउने नेताको म भक्त नभएर के गरौँ त ?
देशका सुकुम्बासीले मात्र देश नसिँगारिने ठानी हुकुम्बासीहरू बढाउन पनि नेताहरूले प्रोत्साहन गरे । भोट र नोटबीचको विनिमय कला सिकाए । राजनीतिमा बाहुबलको भूमिका विषयक नाटक मञ्चन गरेर जनतालाई राजनीतिमा प्रशिक्षित गरे । शान्तिमा अशान्ति हुन्छ र भ्रान्तिमा मात्र शान्ति हुन्छ भन्ने मान्यताको विकास गरे । देशको राजनीतिमा जतिसुकै ग्रहदशा भए पनि पाँचतारे होटलमा केही वरिष्ठ नेताहरू बसेर बेलुका स्वस्तिशान्ति गरेपछि जस्तासुकै ग्रहदशा भए पनि टरेर जाने भन्ने कुरा व्यवहारमै गरेर देखाइदिए ।
मेरा नेताका यस्ता गुणैगुण देख्दा कहिलेकाहिँ त यस्ता गुणवान् नेता हाम्रै देशका नेता त हुन् भने जस्तो लाग्छ । हाम्रा नेता यस्ता महान् छन् भन्दा कहिलेकाहिँ त म आफैँलाई विश्वास लाग्दैन, सपना जस्तो पनि लाग्छ । तर सोच्दासोच्दै झल्याँस्स हुन्छु सपना होइन यो विपना नै हो, हामीले यस्ता गुणवान् नेता पाएकै हौँ । त्यसैले त म नेताभक्त भएको छु ।
हामीले नेपाललाई विश्वमा चिनाउन मेरो हिमाल, मेरो सगरमाथा, मेरो गौतमबुद्ध भनेको धेरै भयो । समय परिवर्तनशील छ, त्यसैले अब यस्ता पुराना कुरा छोडेर नयाँ गौरव गर्न लायक कुराहरू खोजौँ । सगरमाथा र गौतमबुद्ध भन्दा पनि हाम्रा गौरव गर्न लायक कुरा भनेका हाम्रा नेता हुन् । हाम्रा नेताले राम्रा नेताको देश भनेर हाम्रो देशलाई विश्वमा चिनाउन सक्तछन् । त्यसैले हामी पनि यस्ता महान् नेताको गौरवगाथा गाऊँ, एकछिन पनि ढीला नगरौँ, नेताभक्त बनौँ, नेताभक्तहरू बढाउँदै लैजाउँ । टोलटोलमा नेताभक्त सम्प्रदायको विकास गरौँ । धर्म मान्नेले बिहान बिहान नेताको आरती गरौँ । पशुपति जान छोडेर नेताको घर धाऊँ । लेखकले नेतागाथा लेखौँ, पत्रकारले नेताको जयजयकार लेखौँ । आउनुस् हामी सबै मिलेर नेता पूजा गरौँ । जय नेता !

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
राष्ट्रिय सहमति

राष्ट्रिय सहमति

डा. टीकाराम पोखरेल
मन्त्री-नैतिकता संवादे !

मन्त्री-नैतिकता संवादे !

डा. टीकाराम पोखरेल
स्ट्यान्डर्ड चोर !

स्ट्यान्डर्ड चोर !

डा. टीकाराम पोखरेल
मालदार क्रान्ति

मालदार क्रान्ति

डा. टीकाराम पोखरेल
म मान्छे रहिँन

म मान्छे रहिँन

डा. टीकाराम पोखरेल
अल्छीका अधिकार

अल्छीका अधिकार

डा. टीकाराम पोखरेल