साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काउकुति लाउने गाम्नागेका कविता

Nepal Telecom ad

साउन ९,२०७१ । काठमाडौं/राष्ट्रिय जन सांस्कृतिक महासङ्घ सभाकक्षमा ‘अविरल जन साहित्य यात्रा’ अन्तर्गत पाँचौँ शृङ्खलामा हास्यव्यङ्ग्य स्रष्टा लक्ष्मण गाम्नागेको एकल कविता वाचन गरियो ।

नेकपा एमाले संस्कृति विभाग प्रमुख वाचस्पति देवकोटाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सहयोगी कविका रूपमा प्राज्ञ एवम् जन गायक रामकृष्ण दुवाल, जयन्ता पोखरेल, बालकविद्वय अनुज्ञा नेपाल र प्रविज्ञा नेपाल र टिप्पणीकारका रूपमा महासङ्घका उपाध्यक्ष प्रा.डा.जीवेन्द्रदेव गिरी उपस्थित हुनु हुन्थ्यो ।

महासङ्घका अध्यक्ष खगेन्द्र राईले लक्ष्मण गाम्नागेलाई खादा र माला अर्पण गर्दै नेपाली समाजमा विद्यमान विकृति एवम् विसङ्गतिमाथि निर्ममतापूर्वक प्रहार गर्ने सिस्नोपानी लगाउने विशिष्ट क्षमताका अभियन्तालाई विशेष प्रस्तुतिमा उभ्याइएको बताउनुभयो ।

सङ्घको काव्य विभाग संयोजक डा.विन्दु शर्माले लक्ष्मण गाम्नागेको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्दै भुटानमा जन्मिएर पूर्वी नेपालको झापामा शिक्षादीक्षा आर्जन गरेका कवि गाम्नागेले २०४४ सालदेखि कविता मार्फत नेपाली साहित्यमा प्रवेश गरेको उल्लेख गर्नु भयो । उहाँले गाम्नागेलाई हास्य र व्यङ्ग्यको सुन्दर सम्मीश्रण गर्न खप्पिस प्रतिभा भएका विशिष्ट स्रष्टा लक्ष्मण गाम्नागे अनवरत सिर्जनामा लागिरहेका स्रष्टाका रूपमा परिचय गराउनु भएको थियो । त्यसै गरी बालकवि अनुज्ञा नेपालले कविताका माध्यमबाट गाम्नागेको पारिवारिक परिचय प्रस्तुत गर्नुभएको थियो ।

समारोहका गाम्नागेले आफ्ना कविता प्रस्तुति पूर्व सङ्क्षिप्त मन्तव्यको क्रममा गरिमामय र विशिष्ट कार्यक्रममा आफूलाई अवसर प्रदान गरेकामा गौरव बोध भएको बताउनु भयो । उहाँले कार्यक्रममा ‘उन्नाइस रसको कविता’, ‘सहिदका सपनाहरू’, ‘हेलो लक्ष्मण गाम्नागे सन्चै !’, ‘आज’, ‘बाहिर निस्कनु स्वास्थ्यका लागि हानिकारक छ’, ‘दिसा धोएपछि साबुन पानीले हात धुने बानी बसालौँ’, ‘उहाँहरू संविधान बनाउँदै हुनु हुन्छ’, ‘आउनु होस् नेपाल सरकारलाई सघाउनु होस्’ र ‘जनताको कविता’ गरी आठ ओटा कविता वाचन गर्नु भएको थियो ।

त्यसै गरी ‘नेताजीका प्रजातान्त्रिक गाला’ शीर्षकको कवितालाई प्राज्ञ एवम् जन गायक रामकृष्ण दुवालले गीति प्रस्तुतिका रूपमा प्रस्तुत गर्नुभयो । बालकवि द्वय अनुज्ञा नेपाल र प्रविज्ञा नेपालले गाम्नागेको ‘पप्पी सेम सेम’ शीर्षकको बालगीत सुनाउँदा दर्शक दीर्घा अत्यन्त रोमाञ्चक बनेको थियो । ‘राष्ट्रिय ए कता ?’ शीर्षकको कवितालाई कवि जयन्ता पोखरेलले नाटकीकरण गर्दै प्रस्तुत गर्नु भएको थियो ।

वाचित एक दर्जन कविता र हास्यव्यङ्ग्य कवि लक्ष्मण गाम्नागेकोे व्यक्तित्वमाथि प्रा.डा. जीवेन्द्रदेव गिरीले प्रकाश पार्नु भएको थियो । गिरीले गाम्नागेका कविताले समाजका समसामयिक विविध विषयलाई समेट्न सकेका, विकृति र विसङ्गतिलाई निर्मम प्रहार गरेका र राजनीतिक क्षेत्रका विसङ्गतिमाथि सिस्नुपानी लगाएका बताउनुभ भयो । उहाँले कविताका हरेक पङ्क्ति सशक्त र तागतदार रहेको, पाठकको मानसपटल परिवर्तन गर्न सक्ने शक्ति रहेको चर्चा गर्नु भयो । गाम्नागेका कवितामा नेताहरूको चिन्तन र चरित्रमा तादात्म्य नरहेकोप्रति आक्रोश व्यक्त गरिएको, विचार तथा आदर्शको स्खलन अनि ढोँग र आडम्बरका प्रति निर्मम प्रहार गरिएको, समाजमा बढेको जङ्गलीपनका प्रति आक्रोश व्यक्त गरिएको, प्रशासनिक भ्रष्टता, संविधान सभाभित्रका विकृति उजागर गरिएको; सुन्दर, सशक्त र खरा विम्ब तथा प्रतीकको प्रयोग गरिएको, वर्गीय विभेद झन् विकराल भइरहेको प्रति चिन्ताभाव सहितको व्यङ्ग्य सशक्त रहेको, सरकार तथा सरकारी कार्यालयको गैरजिम्मेवारीमाथि उछितो काढिएको, जनताका नाममा लुट्ने प्रवृत्तिको भण्डाफोर गरिएको उल्लेख गर्नु भयो ।

प्रमुख अतिथि नेकपा एमाले संस्कृति विभाग प्रमुख वाचस्पती देवकोटाले भैरव अर्यालको व्यङ्ग्य लेखन ज्यादै सशक्त रहेको तर उनको वाचन वैशिष्ट्य कमजोर रहेको बताउँदै गाम्नागेको लेखन तथा वाचन दुबै ज्यादै उत्कृष्ट रहेको बताउनु भयो । विषयको विविधता एवम् अत्यन्त जमेर निर्भीकताका साथ व्यङ्ग्य गर्न सक्ने क्षमता अत्यन्तै उत्कृष्ट र प्रशंसनीय रहेकोमा उहाँको यस क्षमतालाई अभिनन्दन गर्छु, सम्मान गर्छु भन्नु भयो ।

सभाध्यक्षको अनुमतिले विशेष समारोहको समापन गर्दै सञ्चालक रमेश पोखरेलले २०४४ सालदेखि सडकमा वा मञ्चमा सशक्त कविता मार्फत निर्भीक, चोटिलो र बेजोड व्यङ्ग्य गर्दै पाठकलाई मरी मरी हँसाउँन सक्ने विलक्षण क्षमताका धनी कवि गाम्नागेलाई कविता प्रस्तुतिका निम्ति कृतज्ञता ज्ञापन गर्नुभएको थियो । उहाँले अर्काे महिनाको कार्यक्रममा वरिष्ठ साहित्यकार रामप्रसाद प्रदीपलाई प्रस्तुत गरिने जानकारी दिनुभयो ।
–रमेश पोखरेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x