उमेश गुइँठेलोकतन्त्रको सपना
चौबाटोमा मानिसको हुल थियो । उनीहरू वहसमा तल्लिन थिए । वहसको विषय थियो– ‘लोकतन्त्र र जन अपेक्षा’ । एउटाले वहसको प्रारम्भ गर्दै भन्यो– “हेर्नुस् म त यो चालाले लोकतन्त्रको भविष्य देख्दिन । अब लोकतन्त्रकै भविष्य नभएपछि हामी विद्यार्थीको के भविष्य । हामीले यो मुलुकमा लोकतन्त्र ल्याउन कम रगत बगायौँ । के अब पनि राज्यले हाम्रो बारेमा सोच्नुपर्ने बेला भएन र ? दुःख गरेर, राम्ररी पढेर, मास्टर नकुटी त निरङ्कुश तन्त्रमा पनि पास भएकै थिए तर लोकतन्त्रमा त नपढी पास हुन पाउनु पर्यो । फेल हुदाँ पनि कक्षा उक्लन नपाइने यस्तो पनि लोकतन्त्र हुन्छ ? खै यस्तो तरीकाले कसरी लोकतन्त्रको विकास हुन्छ र हामीले यसबाट केही आशा गर्न मिल्छ ।” उसले अगाडि भन्यो– “ठीक छ, हाम्रो यो लोकतन्त्र प्रतिको अपेक्षा अली बढी नै लाग्छ भने कम से कम परीक्षा अगाडि नै प्रश्नपत्र आउट हुनुपर्यो । परीक्षामा निर्धक्क चिट चोर्न पाउने न्यूनतम व्यवस्था त हुनै पर्यो !” विद्यार्थीको भाषणमा सबैले ताली बजाए ।
हुलमा एउटा कर्मचारी अब मेरो पालो भन्दै अघि स¥यो– “लोकतन्त्रमा किन ढाँट्नु । हेर्नुस् यो लोकतान्त्रिक सरकारले बढाएको दश–बीस प्रतिशत महँगी भत्ताले हामी र हाम्रो परिवारको जीवन गुजारा कसरी हुन्छ ? त्यसैले साविकमा हामीले टेबुलमुनिबाट लिएको रकम अब टेबुलमािथबाटै हाकाहाकी लिन पाउनु पर्यो । हुनत मेरो भनाइ यति नै हो तर जाँदाजाँदै म के भन्न चाहन्छु भने, हामी कर्मचारी भनेको बखत अफिसमा जान र आउन पाउनु पर्यो । यसको संवैधानिक व्यवस्था हुनप¥यो । अझ पनि अफिसमा दश–पाँच घोटिनुपरे लोकतन्त्र किन चाहियो ? यसैगरी हामी राम्रो ठाउँमा सरुवा भएर त्यहीँ पेन्सन पकाउने व्यवस्था हुनुपर्यो । अरु कर्मचारीको जे सुकै होस् । म कर्मचारी को भने…. ।” यति भन्दाभन्दै ऊ हाँस्यो र भन्यो– “ए यो त मेरो लोकतन्त्र प्रतिको व्यक्तिगत अपेक्षा पो परेछ । यो पछिलो भनाइ हाललाई म फिर्ता लिन्छु ।” वहसमा हल्लाखल्ला बढी भयो । कर्मचारीले अन्त्यमा भन्यो– “…तर म के भन्छु भने, त्यो अख्तियार दुरुपयोग अनुसन्धान आयोग तुरुन्त खारेज गर्नुपर्यो ।”
यसै बीच एउटा डाक्टर कानबाट स्टेथिसकोप झिक्दै हुलमा छि¥यो । उसले भन्यो– “सबैले काममा लेट गर्न पाइने तर हामीले किन नपाइने ? हामीले लेट गरेको कारण इमरजेन्सीमा मान्छे चेट् भयो भने हाम्रो के होला ? यसैगरी हामीले नाकको औषधी लेख्दा चाकको पर्यो भने यसलाई माफी दिने व्यवस्था कानुनमा व्यवस्थित गर्नुपर्यो ।” उनले पाखुरा सुर्कदैंँ भने– “तपाईहरूले टाउकोमा सेतो पट्टी लगाएर मात्र होइन हामीले हातमा कालोपट्टी लगाएर पनि ल्याएको हो लोकतन्त्र बुझ्नुभो ?”
डाक्टरको कुरामा सबैले होमा हो मिलाए । हेर्दाहेर्दै वहसमा निकै मान्छे जम्मा भए । हुल अब कसैको कुरा सुन्न तत्पर थिएन । जुलुस अघि बढ्यो ।
छेउमा दुईजना कानेखुसी गर्दै थिए । एउटाले ‘बोल, बोल मौका यही हो’ भनेपछि अर्कोले पर्खालमा उभिएर भाषण दिन थाल्यो– “साथीहरू पख्नुस् ! लोकतन्त्रमा हाम्रो पनि कुरा सुन्नु पर्यो । रातीराती त हामीले चोरेकै हो, अब त दिनदहाडै चोरी गर्न पाउनु पर्यो । फेरि अहिले प्रहरी प्रशासन हारेको मानसिकतामा छन्, उनीहरू निस्कृयझैँ देखापरेका छन् । म त भन्छु उनीहरूलाई काममा सकृय तुल्याउन कम से कम हामीले “एक चोर एक पुलिस’ को अवधारण अघि ल्याउनु पर्छ । जहाँ चोरी हुन्छ त्यहाँ एक प्रहरी हुन्छ । समात्न हैन, सहयोग गर्न । लोकतन्त्रमा त प्रहरी साक्षी राखेर चोर्न पाउनु पर्यो नि !”
जोडदार रूपमा भाषण गरिरहेको चोरको नाईकेझैँ देखिने व्यक्तिले अन्त्यमा भन्यो ‘हेर्नुस् मलाई त लाग्छ हाम्रो यो अभियानको लागि नेताहरूको पनि राम्रै सहयोग मिल्छ । संक्रमणकालिन अवस्थामा गुज्रिरहेको मुलुकका नेताहरूले पदको लागि गरेको लुछाचुँडी र मुख्य काम प्रतिको उदासिनता देखेर हामी यो निक्र्यौलमा पुगेको हौँ । हामीलाई लाग्छ हाम्रो चाँडै एकीकरण हुनेछ ।” चोरले पछिल्लो वाक्यमा खुव ताली खायो ।
म पक्क परेँ, हुन त यहाँ केही वर्ग र पेशाका मान्छेले आफ्नो भनाइ राखे, अझै थुप्रै बाँकी नै छन् । मलाई कहाली लाग्यो । जुलुस अघि नै सिंहदरवार घेर्न अघि बढिसकेको थियो म पनि पछि लागेँ । सिंहदरवार पुगेपछि लोकतान्त्रिक प्रहरीले मेरो टाउकोमा लठ्ठी बर्सायो । म ‘अईया’ भनेर थुचुक्क भुईंमा बसेँ ।
म झसङ्ग भएँ । त्यस दिन देखेको यो नराम्रो सपना सम्झेर म साह्रै चिन्तित हुन्छु । कतै यो सपना वास्तविक भैदियो भने !
पशुपति देवपत्तन
फित्कौली अङ्क ९ बाट
Subscribe
Login
0 Comments
Oldest






































