डा. दामाेदर पुडासैनी किशाेरअनुत्तरित प्रश्नहरू
हे समाज ! म अज्ञानी जान्ने इच्छा मभित्र छ
मलाई सबले भन्छन् तँ अबुझ र लट्ठक
म अबुझ भएँ मेरो अँध्यारो दृष्टि खोलिदे
म केही प्रश्न राख्दै छु मलाई तँ जवाफ दे ।
बोक्सी हुन् कसरी आमा मन्त्र कस्तो छ सिक्छु म
बोक्सी बन्ने सिकी मन्त्र धर्तीको दुःख झिक्छु म
दिदीबैनीहरूलाई छाउपडी पठाउँछस्
आफैं कमलरी राख्दै स्वतन्त्र गीत गाउँछस् ?
आजसम्म भनी भूत तर्साइस् किन बालक ?
कस्तो हुन्छ नि त्यो भूत कस्तो हुन्छ नि राक्षस ?
तर्साई जनता सारा जो गर्दै छ कुशासन
त्यही राक्षस वा भूत हो कि हैन तँ भन् अब ?
घाँटी छोए फुफू गर्छस् सप्को लागे थुथू किन ?
रित्तो गाग्रो छ बाटामा साइत बिग्रियो किन ?
बनाउँदै भरी गाग्रो धर्तीमा हुन्छ भन् कहाँ ?
गलगाँड छुँदा घाँटी निस्कियो कसको कहाँ ?
पाहुना आउँछन् भन्छस् ध्वाँसो लागे मुहारमा
भर्भराए कतै आगो, खसेमा काइँयो जहाँ
बूढो भइन्छ भन्छस् रे ऐना हेर्दा त रातमा
बाडुल्की लाग्नु नै हुन्न कल्ले गरेछ सम्झना ?
बाटो काटे बिरालोले बढ्नु हुँदैन भन्दछस्
प्रदोष अष्टमी आए पढ्नु हुँदैन भन्दछस्
अगाडि नबढे कोही लक्ष्यमा पुग्न सक्छ र ?
सदैव नपढे कोही विश्व यो बुझ्न सक्छ र ?
भ्यागुताको बिहे गर्दै पानी पार्दछु भन्दछस्
सर्पको विष धामी भै फुकी झार्दछु भन्दछस्
कालो बोको चढाएर विमान उड्छ के तँ भन् ?
के सम्बन्ध छ बोको र विमानबीचमा ल भन् ?
फोटो खिच्दा घट्यो आयु भन्छिन् बज्यै निराश भै
ज्वरो आए पस्यो वायु भन्छन् बाजे नि ढुक्क भै
आँखामा खटिरो आए ढाँट्ने रहेछ भन्दछस्
कुरा चल्दा त्यहीँ आए बाँच्ने रहेछ भन्दछस् ।
भोटो देखाउँछस् ऐले धनी छ कि भनीभनी
घोडा दौडाउँछस् ऐले दैत्य मार्न गनीगनी
को पति कति बाँचेछन् पत्नी भोकै बसी व्रत ?
झारफुक र ढ्याङ्ग्रोले दमको रोग हट्छ र ?
मान्छेतिर गए धूँवा पिसाब फेर्छ मार्गमा
भन्दै जिस्क्याउँछस् जैल्यै कस्तो भ्रम छ सोचमा ?
बुटी बाँधेर घाँटीमा किड्नी स्वस्थ हुँदैन हे !
गेरुवा वस्त्रले मात्र कोही सन्त हुँदैन हे !
अछुत हुन्छ रे दर्जी लुगा अछुत हुन्न है !
अछुत हुन्छ निर्माता घण्टी अछुत हुन्न है !
गर्छस् कुकुरको पूजा रोए हुन्छ अमङ्गल
पोथी बास्यो भनी गर्छस् आमालाई अनादर ।
बाचुन्जेल सधैं भोको राख्छस् नित्य रुवाउँछस्
बाआमाको भए मृत्यु अनि खीर खुवाउँछस्
कालो बोकेर छातीमा सेतो भेष भिरिस् किन ?
वृद्धाश्रम बनाएर मान्छेबाटै गिरिस् किन ?
चन्द्रमाको गरी पूजा धर्तीको अर्थ भुल्दछस्
ढुङ्गामा देख्दछस् द्यौता मान्छेको मूल्य भुल्दछस्
मान्छेको देव मान्छे हो मान्छेको मन खुल्न दे !
हटाई मनको जालो स्वच्छ जीवन फुल्न दे !
गते बार नमिल्दामा जानु हुँदैन भन्दछस्
यो जातले त यो खाना खानु हुँदैन भन्दछस्
साँझ परे कुनै काम गर्नु हुँदैन भन्दछस्
यी शास्त्र जति नारीले पढ्नु हुँदैन भन्दछस् ।
सुप्रथा कुप्रथा जे हुन् छोड्नु हुँदैन भन्दछस्
हिँडेको सबले बाटो मोड्नु हुँदैन भन्दछस्
हुँदैन मात्र तँ भन्छस् हुन्छ के लौ प्रमाण दे !
अन्धविश्वासमा बाँच्ने किन हो लौ जवाफ दे !
काठमाडौं, रचना : २०७१ साउन २३
Subscribe
Login
0 Comments
Oldest





































