सुलसुलेशब्द संयोजन : विशद् चर्चा
गत साउन २४ गते शनिवार राजधानीमा शब्द संयोजन साहित्यिक मासिकको १२१ औँ अङ्क ‘दुर्गालाल विशेषाङ्क’माथि विशद् चर्चा गरियो ।
शब्द संयोजन साहित्यिक मासिकका प्रधान सम्पादक वासुदेव अधिकारीको अध्यक्षतामा र शशीकला मानन्धरको सञ्चालनमा सम्पन्न भएको समारोहको प्रमुख अतिथि संस्कृतिविद् चित्तरञ्जन नेपाली हुनुहुन्थ्यो । विशेष अतिथिमा वरिष्ठ साहित्यकार कमलमणि दीक्षित, प्राध्यापक अभि सुवेदी, समारोहका नायक जनकवि दुर्गालाल श्रेष्ठ र भाषाविद् प्रा.डा.जीवेन्द्र देव गिरी, साहित्यिक पत्रकार रोचक घिमिरे उपस्थित हुनु हुन्थ्यो ।
जनकवि दुर्गालाल श्रेष्ठले लेखेको गीत गीतकार तथा सङ्गीतकार न्हू बज्राचार्यले गाएर समारोहको थालनी गरिएको थियो भने सुरेशकिरण मानन्धरले उपस्थित सबैलाई स्वागत गर्नु भएको थियो । जनकवि दुर्गालाल श्रेष्ठका नेवारी कवितालाई डा.डेभिड हर्गिबले अङ्ग्रेजी अनुवाद र शब्द संयोजनको दुर्गालाल विशेषाङ्कलाई प्रमुख अतिथि चित्तरञ्जन नेपालीले लोकार्पण गर्नु भयो । उक्त दुबै कृतिको सङ्छिप्त चर्चा गर्नु हुँदै प्रा.अभि सुवेदीले दुर्गालालका कवितामा सुन्दर, लयात्मक शब्दको प्रयोग भएको, अङ्ग्रेजीमा भएको अनुवाद समेत मौलिक, जीवन्त र सुन्दर रहेको बताउनु भयो ।
वरिष्ठ साहित्यकार कमलमणि दीक्षितले बधाई दिँदै जनकवि दुर्गालाल आफ्ना कवितामा झर्रा शब्दको प्रयोग गर्ने, मिठो नेपाली भाषामा लेख्ने असल साधक हुनुहुन्छ भन्नुभयो । दुर्गालालका बालसखा भृगुराम श्रेष्ठले दुर्गालाल सानैदेखि क्षमतावान् रहेको चर्चा गर्नु हुँदै दुर्गालालले लेख्नु भएको नेवारी गीत गाउनु भयो । अर्का वक्ता आर.मानन्धरले जनकवि दुर्गालाल दुबै मिहिनेती व्यक्तित्व हुन् भन्नु भयो ।
प्रमुख अतिथि चित्तरञ्जन नेपालीले जनकवि दुर्गालाल नेपाल भाषाका बेजोड कवि हुन्, उनको एउटा नेवारी भाषाको काव्यलाई आफूले नेपाली भाषामा अनुवाद समेत गरेको; उनी सरल, सरस, बोधगम्य स्रष्टा भएकाले प्रिय समेत छन् भन्ने धारणा सहित उनका दुईटा कृति आफूले लोकार्पण गर्ने अवसर समेत पाएकोमा स्रष्टा तथा आयोजकलाई धन्यवाद दिनु भयो । सङ्गीतकार योगेश वैद्यले दुर्गालालको गीत प्रस्तुत गर्नु भएको थियो
शब्द संयोजनका प्रधान सम्पादक वासुदेव अधिकारी धन्यवादका पात्र हुनु हुन्छ भन्नु हुँदै विशेषाङ्कभित्रका पाँच ओटा कविता वाचन गर्नु भएको थियो ।
–रमेश पोखरेल
Subscribe
Login
0 Comments
Oldest












































