साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अर्याल : हास्यव्यङग्यका बिर्सिनसक्नु…

Nepal Telecom ad

मलाई हालसम्मको नेपाली हास्यव्यङ्ग्य निबन्धमा भैरव अर्यालका निबन्धहरू उत्कृष्ट लाग्दछन् । वहाँको भाषामा सरलता र स्वाभाविक प्रवाह छ । प्रस्तुतिमा कौतुहलमय मीठास छ । अनुप्रयासमा पनि कृत्रिमता छैन । विचारको सन्दर्भपूर्ण साधना छ । सिङ्गै निबन्ध एउटै प्रहारविन्दुमा केन्द्रित हुनु पनि वहाँको विशेषता हो ।
०२४/२५ सालतिरको कुरा हो । त्यसताक म लैनचउरस्थित सरस्वती कलेजमा स्नातक तहको विद्यार्थी थिएँ । लयात्मक कविता र निबन्ध लेख्ने सोख थियो । सहपाठी साथी सूर्यकान्त पौडेल गोरखापत्रको सम्पादकीय शाखामा काम गर्नुहुन्थ्यो । लेख कविता छपाउने लहडले एकपटक त्यहाँ पुगेको थिएँ । सम्पादकीय शाखाको अगाडि डेस्कमा ३/४ जना काम गरिरहेका थिए । त्यसै बीचका दुईटा टेबुलकुर्सीमा बसेर काम गरिरहेकामध्ये एकजना भैरव अर्याल हुुनुहुँदो रहेछ ।

साथी सूर्यकान्त पौडेलले चिनाजानी गराईदिनु भयो । सँगै बसेर गफ गर्दै चिया पियौँ । मलाई वहाँको कुरा गराई अत्यन्तै शिष्ट र सौहार्दपूर्ण लाग्यो । एकै भेटमा हामी धेरै नजिक भयौँ । मैले एक दुईटा हास्यव्यङ्ग्य कविता र निबन्ध लगेको थिएँ । सर्सती हेरेपछि भैरव अर्यालले बडो प्रसन्न मुद्रामा मतिर हेर्दै भन्नुभयो “राम्रै छ । लेख्नुस् । लेख्न नछोड्नुस् ! हेर्नुस् भाइ, यो लेख्ने भन्ने कुरा निरन्तर लेखेरै लेखिने हो, नलेखी लेखिँदैन !”
वहाँ प्रतिष्ठित अग्रज हुनुहुन्थ्यो । म वहाँलाई आदर सम्मानका आँखाले हेर्थेँ । वहाँका एकएक शब्दमा ध्यान दिएर सुन्थो । वहाँको बोलीचाली र व्यवहारमा आत्मीयता थियो । सहजता र सरलता थियो । बडप्पन कति पनि थिएन । साथी सूर्यकान्त पौडेलसँग वहाँको सम्बन्ध दाजुभाइकै जस्तो निकटतम थियो । पौडेलजीको साथी भएकोले म पनि वहाँको भाइ भएँ । वहाँ अन्यन्तै आत्मीयभाव राखेर कुराकानी गर्नुहुन्थ्यो । वहाँ भन्नुहुन्थ्यो– “एउटा कविताको मोल १५ रुपैयाँ, एउटा लेखको मोल ३० रुपैयाँ साह्रै थोरै हो । बजार भाउको तुलनामा यो त कुनै भाउ नै होइन । तैपनि लेख्ने भन्ने कुरा पैसाकै लागि मात्र लेख्ने हैन नि ! लेख्नु पर्छ । मनका कुरा बाहिर निकाल्न र पाठकसम्म पु¥याउन लेख्नै पर्छ । म हालखबरमा लेख्दा एउटा लेखको एक रुपैयाँ पाउँथो । तर पनि लेख्थो ।”

०२६ पछि लगातार ३ वर्ष म गाउँतिर विद्यालय खोलेर बसो । यसबीच वहाँसित १÷२ पटक छोटो भेट मात्र भयो । कुराकानी हुन पाएन । ०२८ पछि वहाँसित भेट्ता मैले वहाँमा पहिलेको जस्तो हल्काफुल्का र हँसिलोपन भेटिन । व्यङ्ग्यको शैलीमा प्रतीकको भाषा बोल्ने त्यसै सिलसिलामा हाँस्ने हँसाउने बानी बनिसकेको हुनाले वहाँमा ख्यालठट्टा र हाँसोको अभाव नै त थिएन तर पनि अनुहारको अभिव्यक्तिले लाग्थ्यो वहाँ कुनै गम्भीर घाउको पीडामा हुनुहुन्छ । वहाँ पहिले जस्तो भैरव अर्याल हुनुहुन्न ।

वहाँमा पीडाको गम्भीरता क्रमशः बढ्दै गयो । वहाँलाई भेट्दा वहाँ अनुकूलताका स्वप्न भङ्ग र उत्तरोत्तर प्रतिकूलताका वातावरणको चोटबाट सृजित स्थानहरूको निरन्तरतामा हुनुहुन्छ कि जस्तो लाग्थ्यो । वहाँ प्रायः हातले बिस्तारै बिस्तारै टाउकोमा हिर्काइ रहनुहुन्थ्यो । संभवतः वहाँलाई आफ्नै टाउकोसँग पनि झांोक चल्न थालेको थियो । तर पनि वहाँमा ठट्यौलो स्वाभाव थियो, यद्यपि पहिले जस्तो थिएन । साथी सूर्यकान्तले मसित भन्नुभयो– “हिजोआज भैरव दाइको स्वाभाव बदलिएको छ । अस्ति हाम्रो सम्पादकीय डेस्कमा चिया पिउन लाग्दा साथीहरूको ठट्टामा पनि रिसाएर वहाँले चिया नै फ्याँकिदिनुभयो ।”

एकपटक कुरैकुरामा भैरव अर्यालले मुस्कुराउन खोज्दै भन्नुभयो– “अरुका तालुमा आलु फल्छ, मेरो तालुमा पिँडालु फलेको छ !” साथी सूर्यकान्त हाँस्नुभयो । म पनि कुरै नबुझी हाँसो । पछि सूर्यकान्तले छुट्टैमा मसित भन्नुभयो, “भैरव दाइ हिजोआज पटकपटक यही भन्नुहुन्छ । कति वर्षको सेवा र अनुभवपछि अहिले आएर आफूमाथि पिँडालीको नियुक्तिले वहाँलाई साह्रै चित्त दुखेजस्तो छ । वहाँको प्रतिभाको उचित मूल्याङ्कन गरेर उपयुक्त ठाउँ दिएको भए वहाँलाई पनि राम्रो हुन्थ्यो । संस्थालाई पनि राम्रो हुन्थ्यो !”

त्यसपछि महिनौँसम्म भैरव दाइसित भेट भएन । साथी सूर्यकान्तसित सोधो । वहाँले भन्नुभयो– “जर्मनी भ्रमणबाट फर्केपछि वहाँ अझ बढी दुःखित देखिन थाल्नु भा’छ । हिजोआज त कहिले हप्तौँसम्म पनि अफिस आउनुहुन्न । “म नगएको धेरै भो । मेरो जागिर गइसक्यो होला !” पनि भन्नुहुन्छ रे ! एकदिन रत्नपार्कमा भेट भो । कुराकानी गरेर बस्यौँ । खल्तीमा वहाँले अरु कुरा खोज्दा एउटा कागत खस्यो । मैले टिपेर हेरो । राजीनामा रहेछ । म त छक्कै परो । वहाँ मनमनै अत्यन्त पीडित हुनुहुन्छ । पीडा के हो बताउनुहुन्न । अग्रज मान्छे, बढी सोधिरहन पनि मिलेन । वहाँ जस्ता प्रतिभालाई पीडामुक्त र अकुण्ठित रूपमा लेखपढ गर्ने वातावरण दिन नसक्नु पनि राज्यकै गैरजिम्मेवारी र निकम्मापनको दृष्टान्त हो ।”

यसरी भैरव दाइसितको मेरो सम्पर्क साथी सूर्यकान्तजी मार्फत् झाङ्गिन लागेको सम्पर्क थियो । वहाँका विषयमा सूर्यकान्तजी र म बेलाबेला बसेर कुरा गथ्र्यौँ । सूर्यकान्तजीले भैरव दाइसित सँगै बसेर झण्डै १० वर्ष काम गर्नुभयो । वहाँसँग भैरव दाइका धेरै संस्मरणहरू अहिले पनि जीवन्त हुनुपर्छ भन्ने मलाई लागेको छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x