प्रेम ओली ढकलपुरेमोबाइलको कमाल
छोरोले एस एल सी जाँच
द्याको छैन
मोबाइलको माग राख्या छ
हुन्छ मात्र भनिदिँदा
नयाँ बल्याकबेरी नै ताक्या छ ।
छोरीले पनि एघार पढ्दा नै
मोबाईल राखिछे
पढाइ लेखाइ गोली मारो
खाली मोबाईलकै पिछा लागिछे
कुनै काम अह्रायो भने
सुन्नै घन्टौँ लगाउँछे
सुनिहालीछ भने पनि
खाली मुन्टो हल्लाउँछे
आफूले काम नगरी
भाइलाई गर्न अह्राउँछे
मोबाइल खेल्न दिउँला भनी
उसैलाई काम गराउँछे
खान पिउनै बिर्सेर
चोबिसै घन्टा मोबाइलमा हुन्छे ।
किताबकापी भनेपछि
औँशी पूर्णे जस्तो छुन्छे
छोरो पनि मोबाईल पायो कि
आमा बुवा नै भुल्छ
पढाइमा आलु छ
मोबाईलमा भनेपछि
उसको सबै दिमाग खुल्छ
आजको टेक्नोलोजी त
जन्मदै लिएर आको जस्तो
मोबाइलको झन के कुरा
गर्भमै खेलाउन पाको जस्तो ।
कलेज जाने ठिटाठिटीहरू
बिहानदेखी नै यो मोबाइल
खाली कानमा टाँसी राख्याछन्
गाडी चलाउने हैनौ कि बाईक
यसैमा गफिँदै हाँक्या छन्
सडकमा कुचो लगाउने पनि
मोबाइलमा गफिँदै बढार्छे
भर्खर घरबाट भर्खर आकी हुन्छे
खै कोसँग खुसखुस बात मार्छे ?
अफिसमा जाँदा पनि
पियन मोबाइलमा झुण्डिँदै भन्छ
आज हुँदैन हजुर
भोलि आए मात्र काम बन्छ
पिलेटमा लेख्या छ
हाकिम अहिले अलिक व्यस्त छन्
तर भित्र पसेर हेर्दा
हाकिम साहब
मोबाइलमै मस्त छन् ।
पढाउँदा पढाउँदै घन्टी आयो
सर हल्लोहल्लोमै व्यस्त
बिद्यार्थीलाई त झन् के
आहा ! पढ्न नपर्दा क्या मस्त
अस्पतालमा हेर्यो
बिरामी ऐया आच्छु गर्दै कराउँछन्
डाक्टर साहब
एकछिन् है भन्दै मोबाइलमा हराउँछन् ।
हैन यो मोबाइलले मोहनी लाको कस्तो !
ध्यानमग्न बाबा पनि
एक घन्टीमै मोबाइल उठाउँछन्
मानौ इन्द्रलोकै फोन आको जस्तो !
नयाँ नयाँ टेक्नोलोजी भन्दै
टिभी आयो टेलीफोन आयो
हुँदा हुँदा यो खुसखुस यन्त्र पनि आयो
पैसो खायो समय खायो
त्यो भन्दा पनि
साराको दिमागै खायो ।
दाङ, हाल काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































