साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाँसो कसरी उठ्छ ?

Nepal Telecom ad

हा हा हा हा क्या हाँस उठ्यो । हा हा हा हा मरें म हाँसेर । हा हा हा हा हु हु हु हु … पेटको लाम्टै दुखिसक्यो हाँस उठेर हा हा हा । दङ्ग पर्छु म हाँसो कसरी उठ्छ ? अनि यो उठ्नु अगाडि कहाँ सुत्या हुन्छ ? कि कतै खेल्दै हुन्छ कि ? बसेर र एक्कासी जुरुक्क उठ्छ कि । मैले आजसम्म उठेको हाँसो देख्या छैन । बरु सेतै दाँत देखिने गरी हाब्रो च्यातिएको चाहिँ देख्या छु । त्यस अर्थमा मरे म हाब्रो च्यातिएर पो भन्नु पर्ने बरु खैके खैके मैले त ठम्याउनै पो सकिनँ, तनावै तनाव छ खल्तिमा दुई सुको छैन । ए हो ठिकै छ नि त भन्दा हुन् अरुलाई सुनायो भने हजुर वरिष्ठ– हस् त नमस्ते भनिदिए भने आफूले नि हस् त नमस्ते भन्न परिगो ।

तरुनीहरू कुखुराको सुली देख्दा होस् वा कुकुरको पुच्छर देख्दा होस् खितितिति हाँस्छन् भन्थे हजुरबाले नभन्दै हो रहेछ । मेरो छिमेकको घरको मतिरको एउटा कोठामा तिन चारवटी मस्तका तरुनी कोही भर्खर एसएलसी सकेका त कोही बेचुलर गर्दै गरेका बस्दा रहेछन् । जतिखेर पनि खितितितितिती खितितितिती खुत खुत खुत खुत गर्या गर्यै गर्छन् । किन हाँस्छन भनेर यसो बिचार गर्यो कारण थाहा लाग्दैन । यसो बिचार गर्दा तिनीहरू त पर्दा हल्लिए पनि हाँस्दारहेछन् । जो मैले भर्खरै पत्ता लगाएँ । तिनीहरूको सानो एउटा भदो रहेछ त्यसलाई शिरदेखि पाउसम्म हेर्दै हाँस्दै गर्दारहेछन । अनि मलाई लाग्यो बुढापाकाको उखान सही रहेछ । धारामा जान्छन् त्यतै हाँस्छन् । कौसीमा बसेर पनि हाँसेकै हुन्छन् । छतमा गएर पनि हाँसेकै सुनिन्छ । यो हाँसो उठ्छ चाहिँ कसरी ? हाँस्नु स्वास्थ्यको लागि लाभदायक छ भन्छन् सबै तर हाँसोको स्तर अनि प्रकारको बारेमा कतै उल्लेख छैन ।

मेरी एकजना दिदीलाई टाडैबाट कुत्कुत्याउने तरिकाले हातले हाउभाउ गर्नुपर्छ बटारिँदै हाँस्छिन् । रिसले चुर भा बेलामा पनि कुत्कुत्याउने तरिकाले हाउभाउ परिदिनासाथ ह्वार्रै हाँसिहाल्छिन् । सबैलाई यसरी नै हाँसो उठ्दो हो त लाटोकोसेरोले उजुरी हाल्थ्यो होला । कुरो दुई वर्ष अगाडिको हो– मेरो देब्रे तिघ्रोका अलि अप्ठ्यारो ठाउँमा पिलो आएको थियो । घरमा सामान्य औषधीले निचोर्न नसकिएपछि वीर अस्पताल गएर देखाएँ । डाक्टर साहेबले चिर्नुपर्छ भोलि यसै समयमा ईमर्जेन्सी पछाडिको माईनर अप्रेसन रुममा आउनु भन्नु भयो । मैले त्यसै गरेँ । मलाई अप्रेसनको टेबुलमा सुताइयो र एनेस्थेसिया दिइयो म चट् । त्यसपछि के गरे कसो गरे मलाई केही थाहा भएन हुने कुरो पनि हैन । अप्रेसन सकिएछ मलाई वार्डमा ल्याईएछ । म सपना देख्दै थिएँ । मलाई स्ट्रेचरमा राखेर दुईपटि दुई दुई जना अप्सराहरूले जिस्काउँदै स्ट्रेचर गुडाउँदै गर्दारहेछन् । ठाउँ पनि बडो रमाइलो थियो । फूलै फूल थरिथरिका खिलेको बगैंचा रहेछ । म उनीहरूले जिस्काउँदा मरिमरी हाँस्दो रहेछु । मलाई तिनीहरूले वार्डमा ल्याएर बेडमा राखेर गएछन् । मलाई कुरेर छोरो सोहील र मेरी दिदी बस्नु भएको रहेछ । दिदी र छोरो लगायत वरपरका छिमेकी विरामीहरू अचम्म मानिरहेका रहेछन् । अरु अप्रेसन सकेर ल्याउँदा भरेसम्म अईया … अईया … गर्छन् यो किन हाँसिरहेछ भन्दा रहेछन् । म चाहिँ एकहोरो खुतुतु खुतुतु गर्दो रहेछु । छोरा बाउ हाँसेको देखेर मख्ख परिरहेको रहेछ ।

करिव ४५ मिनेट पछि मेरो पूरै चेतना खुल्यो । त्यो बेला पनि मलाई हाँसो लागिरहेको थियो । केही क्षणमा डाक्टर आएर हेरे, अनि तपाई त हाँसी रहनु भाछ त भनेर मलाई भने । मलाई अझै हाँसो लागिरहेको थियो । पछि डाक्टर साहबहरूले थाहा दिएछन् मलाई त हाँसो लाग्ने औषधी पो दिएका रहेछन् । भनेपछि हाँस्न सजिलो त पक्कै रहेनछ नि त हैन ? फेरि पनि भन्छु हैन यो हाँसो चाहिं कसरी उठ्छ ? जय हाँसो ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
काँध धेरै थाकिसक्यो

काँध धेरै थाकिसक्यो

अशोककुमार शिवा
फल थाम्न नसक्ने फेद के काम ?

फल थाम्न नसक्ने फेद...

अशोककुमार शिवा
बुढ्यौलीको ढोका

बुढ्यौलीको ढोका

अशोककुमार शिवा
बठ्याईं

बठ्याईं

अशोककुमार शिवा
0
Would love your thoughts, please comment.x
()
x