सुलसुलेराधालाई मदन र शिवलाई जगदम्बाश्री अर्पण
साहित्य, अनुसन्धान र दर्शनमा आधारित कृतिहरूलाई २०१३ सालदेखि प्रदान गर्दै आएको यो सर्वाधिक महत्वको पुरस्कार प्राप्त गर्ने राधा पौडेल तेस्रो लेखिका हुन् । सशस्त्र द्वन्द्वका बेला जुम्लामा खटिएकी स्वास्थ्यकर्मी राधाले झेलेको आक्रमणको बेलाको उनको डायरी ‘खलङ्गामा हमला’ यस वर्ष पुरस्कारको निम्ति चयनमा परेको हो ।
”स्कुल पढ्दाताका शिरिषको फूल महिलालाई मदनपुरस्कार दिलाउने एकमात्र पुस्तक भनेर हाजिरीजवाफको तयारी गथ्र्यौ,” सत्यमोहन जोशी र डा. गोविन्द टण्डनले ओल्क्याएर मञ्चमा लगेपछि र गुठीका अध्यक्ष कमलमणि दीक्षितले अर्पण गरेको पुरस्कार ग्रहण गरेपछि राधाले भनिन्, “पारिजात र झमककुमारी जस्ता महिलाहरूको चेली भएर यो पुरस्कार थाप्न पाउनु मेरो निम्ति अहोभाग्य हो ।”
सुगम जिल्लामा जन्मे हुर्के पनि आफू अहिले पनि जुम्ला र त्यस क्षेत्रका निम्ति समर्पित रहेको सुनाउँदै उनले “खलङ्गाको हमलाबाट बोनसमा पाएको जीन्दगी”ले फेरि कलम चलाउन प्रेरित गरेछ भने आगामी दिनमा पनि लेख्दै जाने जानकारी दिइन् ।
कार्यक्रममा २०७१ सालको जगदम्बाश्री सम्मान प्राप्त गर्ने शिव रेग्मीले कविशिरोमणि लेखनाथ पौड्यालदेखि सोमनाथ सिग्द्यालसम्मको संसर्गमा हुकिर्एको आफ्नो वाल्यकालबारे उल्लेख गरेका थिए । नेपाली साहित्य तथा सङ्गीतको क्षेत्रमा लामो साधना गर्नेमध्ये एकलाई वर्षेनी यो सम्मान प्रदान गरिन्छ । २०४५ सालमा नारायण गोपाललाई प्रदान गरेर यसको थालनी गरिएको थियो ।
वर्षेनी नौरथाको बेला पारेर प्रदान गरिने मदन पुरस्कार र जगदम्बाश्रीको राशी जनही दुई लाख रुपैयाँको छ ।
कार्यक्रममा बौद्धगुरु आचार्य नाङवाङ वाशियर छेम्पो शेर्पाले विद्वत प्रवचन दिएका थिए ।
बौद्ध धर्मका सन्देश र शान्तिको महत्वबारे प्रवचन दिँदै गर्दा आचार्य नाङवाङले अहिलेको नेपालका नेताहरूलाई बहुजन हित र बहुजन सुखका निम्ति राज्यसत्ता, श्रीमती र सन्तानसमेत छाडेर जाने सिद्धार्थ गौतमको सम्झना गर्न अनुरोध गरे ।
“सिद्धार्थजस्तो त्याग गर्न नसके पनि”, उनले भने, “आदरणीय नेताहरूले नेपाली जनताका निम्ति केही गरेर देखाउँछु भन्ने आँट गरिदिउन् ।” देशलाई नाङगो पार्दा नेताहरूलाई कुरी कुरी नलागे पनि देख्नेहरू सबैलाई कुरी कुरी लागिरहेको समेत उनले बताए । संविधान बनाउने जिम्मा संविधानविद्हरूलाई दिएर नेताहरू जनताको अभिभावक भइ गाउँ गाउँ पुगिदिन उनले अनुरोधसमेत गरेका थिए ।
कार्यक्रममा सभापति एवं मदनपुरस्कार गुठीका अध्यक्ष मदनमणि दीक्षितले आफूभन्दा देशलाई माथि राखेर काम गर्नुपर्छ भन्ने सन्देश बोकेको कृतिलाई यस वर्षको मदनपुरस्कार प्रदान गर्न पाउनु एउटा “रेकर्ड” बन्न पुगेको उल्लेख गरे ।
अध्यक्ष दीक्षितले लेखेका दुई पुस्तकको विमोचन पनि कार्यक्रममा गरिएको थियो ।
सेतोपाटी डटकम
Subscribe
Login
0 Comments
Oldest












































