केशवराज अर्याल ‘निश्चल’जोइटिङ्ग्रे पोइ
श्रीमती छ भनेर फुर्ति लाउँथ्यौ अति
दिनदिनै लोप्पा खुवाउँछे आफ्नै श्रीमती ।
श्रीमती गृहमन्त्री भइहालिन् भात आफैं पकाऊ,
श्रीमतीलाई पूजा गर आफैंलाई छक्याऊ ।
जे जे भन्छिन् सुन्दै जाऊ, डराऊ बरु नकराऊ
बुढीलाई मिठाई चढाऊ, आफूचाहिँ आलु खाऊ ।
मेक अपको माग चर्को छ पूरा गर ।
गहनाको चाहना छ थैली झोली भर ।
देवीजस्ती छौ, तिमी भनी मानसम्मान चढाऊ
तिमी आफू नोकर बस, स्वास्नीलाई महारानी बनाऊ ।
ऊनी जागिरे भए चुपचाप भात पकाउ लुगा धोऊ,
अगाडि ङिच्चङिच्च पछाडि क्वाँ क्वाँ रोऊ ।
श्रीमती फेसनमा च्याट्ट–चुट्ट सारीमाथि कोट,
श्रीमानचाहिँ सुट न बुट भित्री पेटीकोट ।
साथीभाइ कहाँ पुगिसके अझै ऊ व्यवहारमा तर्स्या छैन,
हिजो श्रीमतीले नामर्द भन्दै कुट्या नि बिर्स्या छैन ।
समानताको गाना गाऊ, श्रीमानको टुप्पी समाऊ,
श्रीमती लिन्छिन् सुत्केरी भत्ता, तिमी केरा खाऊ ।
लैङ्गिक दूरी घटाऊ दारी काट्न बुढीलाई लगाऊ,
आफ्नो काम फत्ते पार्न सुन्दरीलाई खटाऊ ।
बढीचढी चण्डी भई गर्न खोजे संहार,
सके बस ढाड थापी, नत्र भाग कतार ।
चारघरे, नुवाकोट
Subscribe
Login
0 Comments
Oldest








































