साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गुफा र माकुरा

Nepal Telecom ad

मानिसहरू
झुन्डिएर झ्याऊका जराहरूमा
राजा माकुराको सिंहासनतिर प्रस्थान गरे ।
झुल्केघाममा सुनको मृग
युवाहरूले घोडा चढ्न खोज्दाखोज्दै जहाँ अलप हुन्थ्यो
डुब्दो घाम–छायाँमा सिन्दुरे गोमन
आउँथ्यो, बस्तीलाई डस्थ्यो र स्वाट्ट हराइजान्थ्यो
मानिसहरू
मृगको खुरका छापहरू पहिल्याउँदै
गन्दै सर्पका खुट्टाका डोबहरू
पसे भष्मासुरको मुखमा
झोसे चेतनाको राँको ।

रानीभीर गुफा
स्वाँ स्वाँ हंश फ्याँकिरहेछ अनन्तकालदेखि
राजा माकुरा जिस्कियो अलिकति
कि भित्रबाट फ्याँकिदियो मानिसहरूमाथि
हजार वर्षअघि गायब स्वतन्त्रताको कङ्काल
उम्लिए क्रोधमा मानिसहरू
प्रतिशोधमा कापेँ
आँखा चिम्लेर उद्घोष गरे अन्तिम लडाइँ
सारा हावा सोहोरेर मुठ्ठी उठाए
अब मानिसहरूले मुक्तिको एक निर्विकल्प हुँकार
खुल्ला हावामा छोडिदिए ।

सयौँ बन्द ढोकाहरू ढुङ्गाका, ढुङ्गैले फोर्दै गए
सयौँ बारहरू हड्डीका, हड्डीले चकनाचुर पार्दै गए
माकुरेजालोको खैरो जङ्गलमा ठूल्ठूला आगलागी भए
आगलागीमा शत्रु जल्दा मानिसहरू खुशी हुने नै भए !
सुरुङभित्र घण्टा–घण्टामा भयानक हुरीबतास चल्थ्यो
चट्टानका कापकापबाट विषाद हो या पानी चुहुन्थ्यो
सुरुङभित्र मट्टितेलको नीर–खोला बग्थ्यो
अक्करको प्वालप्वालबाट
चमेरा र लाटोकोशेराहरू उड्थे
फन्को मार्थे राँकोलाई पखेटाले फ्याट कि फ्याट हिर्काउँथे
मुर्कुट्टाहरू हजार बत्ती काँधमा बालेर आउँथे
मानवसभ्यताको एक दुरुह यात्रा थियो
मानिसहरू
जीवित या मृतमा एकले अर्कालाई शङ्का गर्थे
धन्न भोक जिउँदै थियो पेटमा र
‘आफू जिउँदै छु’मा आश्वस्त थिए !
अग्निनदी थियो सुरुङ भनेर भन्नोस्
ज्वाला वरिपरिको अँध्यारो थोरै खतरनाक थियो
कि त्यहीँ छायाँको खेलमा
मानिसहरूलाई छाँगामा खसाल्दै अघि बढ्ने को मानिस थियो ?
शायद छायाँलाई नै थाहा थियो
ज्वालालाई त
गुफा बाहिरबाट सोहोरिएका आदिवासी पुतली
छिचिमिरा झैं सहिद भएको मात्र थाहा थियो !

जे होस् मानिसहरू
बिजोग–बिजोग झुन्डिएर स्वप्नका बुट्यानहरूमा
राजा माकुराको दबरबार नेर–नेर पुगे
कि लाम्चो सुरुङसँगै
दशौँ दिनमा मानिसहरू स्वयं
एक भीमकाय गोलो गुफामा परिणत भए ।
गोलो गुफाको बीचमा
कोक्रोजस्तो हल्लिरहेछ राजा माकुराको नौजाले जालो
जालोको बीचमा तैरिरहेछ श्रीपेच
मानिसहरू झुक्किए :
–राजा माकुरालाई उहिल्यै नै खाइसकेछन् माकुराहरूले !
–लु, अब युद्ध सकियो
–लु, अब सकिए दुष्मनहरू
दुष्मन नपाएर मानिसहरू ठूलो छट्पटीमा परे !
अब मानिसहरूले देखे, माकुराका जालमा झुन्डिरहेको हिराको हार
अब मानिसहरूले देखे, सिंहासनमा विराजमान सुनको मृग
अब मानिसहरूले देखे, गुफामा चुपचाप उडिरहेका जङ्गली परेवा
मानिसहरूले देखे, पत्थरको भित्तामा विशाल निलो ऐना
ऐनामा देखे एकले अर्कालाई
अब मानिसहरूले प्रत्येक अनुहारमा एक–एक राजामाकुरा देखे ।

आखिरी दृष्य छ ऐनामा : 
–मानिसहरू राँको खोसाखोस गरिरहेको
–राँकोलाई दुईतिरैबाट सल्काइरहेको
–राँकोले हानाहान गरिरहेको
राँकोको छायाँमा
नयाँ नयाँ माकुराले नयाँ नयाँ जाल बुनिरहेको
…जन्म परम्पराको हजारौँ वर्षगाँठ मनाइरहेको ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x