पुन्य कार्कीकुकुरघृणा
निरपेक्षरुपमा कुकुरविरोधी त हुइन म; तर आज कुकुरघृणा लेखिरहेको छु । नरद्वैषी समाजमा मान्छले भन्दा कुकुर बढी मान, सम्मान र आदर पाउन थालेपछि मभित्र कुकुरघृणाको भाव भरिन थालेको हो । ठूलाठूला घरहरूमा कुकुरको जति इज्जत आदर त्यस घरका नोकर चाकर र कामदार वर्गलाई नभएकोले कुकुरप्रति नजानिँदो रोष जागेको कुरा सूक्ष्मरुपले अनुभूति गरेको छु । सिधासिधी अर्थमा साँच्चैको कुकुर र लाक्षाणिक अर्थमा कुकुर स्वभावका मान्छदेखि नजानिँदोसँग विरक्तिबोध भएको छ । कुकुरको साझा स्वभाव हो, मालिकको चाहना वा इसारा अनुसार कसैलाई भुक्नु, टोक्नु, झम्टिनु । कुकुर आफू कुकुर भएको नाताले आफ्नो अन्नदाता आराध्यदेवप्रति स्वामीभक्ति जाहेर गर्दछ । जसको सिता खानु उसकै गीता गाउनु भनेझैँ कुकुरले जसको जुठोपुरो चाट्न भेट्छ, उसैको लहलहैमा अरुलाई भुक्छ टोक्छ । कुकुरको छुट्टै विवेकशक्ति हुँदैन । आफ्नो विवेकलाई त उसले जुठोभातमा बन्धकी राखेको हुन्छ । उसले को सत्पात्र ? को असत् पात्र ?छुट्टयाउन सक्तैन । ऊभित्रको स्वतन्त्र विवेक मालिकको इसारामा कैद गरिएको हुन्छ ।
कुकुरको यसखालको स्वभाव जुनजुन मानिसको अन्तरभित्र आरोपित छ । त्यस्ता खालका मानिसलाई पनि समाजले प्रतीकात्मक अर्थमा कुकुरको विशेषण झुण्ड्याएको हुन्छ । फलानो त चिलानाको बासीभाते कुकुर न हो भनेर कुरा काटिन्छ । यसरी मान्छेलाई कुकुरको पदवी दिइरहँदा वाच्यार्थमा भन्दा लक्ष्यार्थ र व्यङ्ग्यार्थमा त्यसका अर्थहरू बढी ओजपूर्ण भएको देखिरहेको छु । त्यसैले आजभोलि प्रतीकमा मानिसका स्वभावहरूलाई केलाउन रुचि जागेको छ । बाँदर, सुँगुर, छेपारो, व्वाँसो, गोरु, गिद्ध, मुसो, लामखुट्टे आदिआदिका अनेकौँ लाक्षणिक तथा प्रतीकात्मक अर्थहरू छन् ।
कुकुरले दिने लोकप्रचलित अर्थभन्दा यसको साङ्केतिक अर्थसँग वढी सरोकार राखिरहेको छु । मलाई यतिखेर निरीह चौपाय जनावर कुकुरसँग त कुनै वैरभाव छँदैछैन । खालि कुकुर जातका मानिसदेखि बढी चिथोरिएको, खेदिएको, टोकिएको, भुकिइएको कारण कुकुरघृणाको भाव ममा सवल बनेर आइरहेछ ।
कुकुरप्रतिको यतिठूलो पूर्वाग्राही भाव कहाँबाट आयो होला ? यसको उद्गम विन्दु खोज्दै जाँदा म आफ्नो वाल्यकालीन दिनतिर फर्किन्छु । म सानो छँदा सबैभन्दा बढी कोहीसँग डराउँथे भने टाराघरेको भोटेकुकुरदेखि डराउँथे । यसरी डराउनुको पछाडि त्यस कुकुरले मेरा पिताजीलाई सातखेप टोकेको थियो । पटक पटक गरी सातखेप टोक्ता मेरा पिताजीको कति चोक्टा मासु लुछ्यो, ती घाउका चित्रहरू अहिलेपनि छयासी वर्षे पिताजीका शरीरमा साक्षी छन् । त्यस कुकुरले मेरा पिताजीलाई मात्र होइन, गाउँका अनेकौँ मान्छेलाई टोक्यो । तर म स्पष्ट थाहा पाउछु, कुकुरले यत्रो विमाख गरिरहँदा पनि त्यस कुकुरको विरुद्धमा बोल्ने बागीपुरुष कोही निस्केन । समय नै यति निरङ्कुश थियो, कुकुरको विरोध गर्नुको अर्थ ठूलो घरको विरोध गर्नु हुन्थ्यो । त्यसरी विरोध गर्ने बागी विद्रोहीहरू कि त जेल जानुपर्थ्यो, कि त गाउँ छोड्नु पर्थ्यो । त्यसैले त्यो कुकुर फुक्काफाल ढङ्गले मान्छे टोक्न स्वतन्त्र थियो ।
त्यस कुकुरसँग प्रत्यक्ष साक्षात्कार गर्नु त के ? त्यसको कुरा गर्दा पनि म डरले थुरथुर काम्थेँ । ममात्र होइन त्यो कुकुर भनेपछि जो कोही आतङ्कित बन्थे । तर त्यो कुकुर एकदिन घाँस काट्ने गोठालाहरूसँग पछ्याउँदै भस्मेको जङ्गलमा पुगेछ । कुन कारणले हो कुकुर त्यसदिन जङ्गलमा मारियो । गोठालाहरूले भने–बाँदरले लडाएको ढुङ्गो लागेर कुकुर ठहरै मर्यो । बाँदरले लडाएको ढुङ्गोबाट मारियो या त्यस कुकुरप्रति क्रुद्ध कुनै गोठालो या घाँसेले ढुङ्गा हानेर मार्यो, त्यो कुरा रहस्यको गर्भभित्रै छ । तर भोटेकुकुर मारिएपछि यसबाट पीडित जनहरू धेरै खुशी भए । अव यो दुष्टकुकुरको टोकाइबाट सँधाको लागि मुक्त भइयो भनेर उनीहरूले ढुक्कको सास फेरे । कुकुर मरेको खवरले मेरा पिताजीको चेहरै अर्को भयो । त्यो कुकुर मरेपछि मपनि खुशीले पुलिकित बनेको छु । थुम्कीमुनिको बाटो हिँड्दा पहिले डराई डराई हिँड्थ्यौँ । कतै त्यो ज्यानमारा कुकुर पो भेटिने हो कि भन्ने डर हुन्थ्यो । मेरा पिताजीलाई त्यस कुकुरले प्रायः गरी बाटोघाटोमै टोकेको थियो । कुकुरको देहान्त भएपछि हामी मुक्तहृदयले बाटो हिँड्न थाल्यौँ । कुकुरले टोक्ला कि भनेर मनमा डर पालेर हिँड्नु परेन ।
मेरो बालहृदयमा त्यो भयंकर डर लाग्दो कुकुरको त्रासद चित्र यसरी कोरियो कि अहिले पनि कुकुर जातको पशु देख्ने वित्तिकै त्यही कुकुरको सम्झना आउँछ । त्यही भोटेकुकुरको नकारात्मक छापको कारण म सानैदेखि नजानिँदो गरी कुकुर विरोधी हुन थालेँ । हाम्रो घरमा एककिसिमले कुकुर पाल्न मनाही नै गरिएको थियो । सानो केटाकेटीमा छाउरा जम्मा गर्ने, कुकुर पाल्ने रहर सबैको हुन्छ । कुकुर पाल्ने कुरा गर्ने वित्तिकै पिताजी ठाडै हकार्नु हुन्थ्यो । उहाँको अन्तराकाशमा पनि कुकुरघृणा यति जव्बरसँग टाँसिएको थियो, उहाँले कहिल्यैपनि घरमा कुकुर ल्याएर पाल्न अनुमति दिनुभएन । उहाँ विरालाका बच्चा भने खोजी खोजी ल्याएर पाल्नुहुन्थ्यो । कुकुरप्रतिको वैरभाव र पूर्वाग्रह सायद त्यही भोटेकुकुरको टोकाइबाट सिर्जना भएको हुँदो हो,अहिले त्यही अनुमान गर्दछु ।
त्यही आततायी भोटेकुकुरको कारण लामो समयसम्म मेरो मनोदशामा पनि कुकुर भनेको खराब प्राणी हो भन्ने छाप बसिरह्यो । यही छापले मलाई कुकुर विरोधी मनुवामा रुपान्तरण गर्यो । नेपोलियनको बारेमा कतै पढेको छु । उनी विरालोदेखि आसाध्य डराउँथे । संसारको कुनै तागतसँग रत्तिभर डर नमान्ने वोनापार्ट विरालो देख्ने वित्तिकै डरले थुरथुर हुन्थे अरे । कुनचाहिँ युद्धमा हो उनलाई कत्ति गर्दापनि हराउन नसकेपछि दुश्मन सेनाले मनोवैज्ञानिक उपायको खोजी गर्यो । र थाहा पायो नेपोलियन विरालोदेखि असाध्य डराउँछन् । आमनेसामनेको भिडन्तमा तीसतीसवटा विरालाको हुल अगाडि राखेर विरोधी सेनाहरू नेपोलियनसँग भिड्न आए । विरालाको हुल देख्ने वित्तिकै नेपोलियन यत्ति आतङ्कित बने । डरले लगलग काम्न थाले । नभन्दै त्यो युद्ध सजिलैसित विरोधी सेनाले जित्यो । नेपोलियनले नराम्रो हार खानु पर्यो ।
नेपोलियन यतिविध्न विरालोदेखि डराउनुको कारण उनी छ महिनाको हुँदा एउटा डरलाग्दो विरालोले उनको छाती टेकेर कलिलो उमेरमै सातो टिपेको थियो । सुतिरहेको बच्चाका कलिलो मस्तिष्कमा त्यो डरलाग्दा विरालोको बिम्ब यसरी खोपियो, जीवनभरि उनी त्यसबाट मुक्त हुनसकेनन् । शेरदेखि नडराउने नेपोलियन विरालोसँग छुलछुल हुन्थे अरे । आजीवन कति गर्दापनि बाल्यकालमा खोपिएको विरालो आतङ्कबाट मुक्त हुन सकेनन् ।
नेपोलियन विरालोबाट आतङ्कित तथा भयग्रस्त भएजस्तो त होइन, तरपनि कुकुरप्रतिको नमीठो घृणाभावबाट म अहिलेपनि पूराका पूरा मुक्त हुन सकेको छुइन । एकचोटि ठूलो डाक्टरको क्लिनिकमा विरामी लिएर जचाँउन जाँदा उनको नोकरले धारामा यामानको झ्याप्ले कुकुरलाई सेम्पु दलीदली नुहाइदिइरहेको दृश्य देखेँ । यो चित्रले हप्तादिनभरि मनमस्तिष्क बिथोली रह्यो ।
त्यो कुकुर नुहाउने केटाको कपाल सेम्पु त के सावुन नपाएर लट्टा परिरहेको थियो । त्यो भाग्यमानी विदेशी जातको कुकुरको अगाडि हजारौँ हतभागी हरूवा चरुवाहरूको जीवन नाचिरह्यो । कुकुर र मान्छेको जीवनको पार्थक्यलाई अर्को एउटा घटनाबाट राम्ररी नाप्न पाएको छु । एउटा करोडपति ब्यापारीको घरमा कुनैसालको तिहारमा देउसी खेल्न पुगेका थियौँ । काठमाडौंको मुटुमा घर हुने त्यो व्यापारीको कोठाभित्र विचित्रको दृश्य देखेँ । एउटा विदेशी जातको कुकुर पलङमा उसकी सानी छोरीसँग निर्वाध खेलिरहेको थियो । त्यो घरको गेटैछेउको सडकमा खातेकेटाहरू जाडोले कक्रिएका थिए । बोराले आङ्ग ढाकेर कात्तिकको ठण्डीमा रात काटिरहेका थिए ।
यी विसङ्गत दृश्यहरूले पनि मेरो मनमा कुकुरप्रति दुराग्रहको भाव उमार्न सहयोग पुर्याएको अनुभव छ । मान्छेको बच्चाले भन्दा कुकुरको बच्चाले बढी गरिमायुक्त जीवन बिताएको कुराले भित्रभित्र कता कता द्वैष जन्म्यो नै; यसको साथै मेरो चित्तभित्र कुकुरप्रेमी महानुभावहरूप्रति पनि घृणाभाव जन्म्यो ।
आलिशान महलभित्रका यी दृश्यले मलाई के अनुभूति गरायो भने अभागी मान्छेहरूको भाग खोस्ने त यिनै जातजातका कुकुरहरू पो रहेछन् । कुकुरलाई दिने माया, प्रेम, सेवा, सुविधा, समय र श्रम दीनहीन रुग्ण वितराजनका बच्चाहरूलाई दिन सके मानवता फेरि एकचोटि ढिलै भएपनि मुसुक्क हाँस्थ्यो होला ।
गोरखापत्रका पानाहरू पल्टाउँदै जाँदा एउटा सूचनाले ध्यान खिच्यो । शीर्षकमा कुकुर हराएको सूचना थियो । कुतूहलवश पढ्दै गएँ । फलाना ठाँउ बस्ने, फलाना घर नं यतिको, फलाना जातको कुकुर पाँचदिनदेखि हराएको हुँदा भेट्नु हुने महानुभावले फोन नं यतियतिमा सम्पर्क गरी बुझाइदिनु होला । पाँचहजार रुपैयाँ इनाम दिइने छ । यो समाचारले नशामा अर्को करेण्ट प्रवाहित गर्यो । कति भाग्यमानी जातका कुकुर हँ यी ? यसरी मान्छेको भाग्य कुकुरले नचोरिदिएको भए आज मानव जाति आँसुमा, अभावमा, अनिकालमा अरण्यरोदन गरिरहनु पर्दैनथ्यो होला ।
देशमा घरघरबाट नागरिकका जीवनहरू दिनदहाडै थुतिएर बेपत्ता बनाइएका छन् । काम खोज्न गाका, माम खोज्न गाका मान्छेहरू चिनेबानो बिना अकला परेका छन्, गुमनाम छन् । आफन्तहरू आँसुमा,अभावमा, आक्रोशमा रुमलिएका छन् । तिनको खोजी हुनु र भेटिनु त के पत्रिकामा सूचनासम्म छापिएको छैन । तर यहाँ कुकुर हराँउदा शानका साथ मानका साथ रोवरवाफका साथ राष्ट्रिय पत्रिकामा सूचना दिनदिनै छापिएको पाँउछु । यी कुराहरूले दिनदिनै मानवभन्दा कुकुरको जिन्दगी माथिमाथि उक्लिँदै गएको देखिरहेछु । मानवको ओज र अस्मिता तलतल गिर्दै गिर्दै झरेको देखिरहेछु ।
२०६५ चुहाडे
Subscribe
Login
0 Comments
Oldest






































