शेषराज भट्टराईजहाजको जात्रा
मान्छेले छिटो छरितो, घरपायक त नभनौ सुखदायक, साधनको रूपमा जहाजलाई भर पर्दाे यातायातको माध्यममा स्वीकारेका छन् । मौसम र मान्छेले साथ दिएको अवस्थामा यो निरन्तर मानव सेवामा समर्पित भएको मान्नु पर्छ । तत्क्षेत्रका कर्मचारीको कार्टेलिङका कारण छोटो दुरीका उडानमा पनि चर्काे भाडा दर यात्रुका लागि अर्काे दुर्भाग्य मान्नु पर्छ । काठमाडौँ–पोखरा, पोखरा–जोमसोम १५ देखि १८ मिनेटको यत्रामा थोरैमा छत्तीस सय र बढीमा ५।६ हजारसम्म पैसा फ्याँकेर उड्नु पर्छ । चरम महंगीको मारमा परेका जनताका लागि यो परम महंगी पनि शिरोपर गर्न विवश छौँ ।
मान्छेका रहर पनि उदेक लाग्दा हुन्छन् । जहानै जहाजमा चढेर नेपाल खाल्डो हेर्ने रहर मेरो म जन्मिनु अन्मिनु सँगसँगै जस्तो लाग्छ । एक जनाको २ हजार टिकट छँदा पनि मैले परिवारलाई रिंगटा लाग्ने गरी घुमाउन सकिन । अझ अङ्ग्रेजी बोल्दै टिकट माग्यो भने त छ सातै हजार पनि भन्दा रहेछन् । आफू जुम्से, जुखुरे, कुखुरे र लिखुरे अनादिवासीलाई जहाज मालिकले मनि सुनाउँदै भन्यो बराजु तिमीलाई ३ हजार पाँच सय पर्छ । जहाजमा जाने भए जाऊ नत्र बसी रहु भन्यो । मौकामा चौका हान्न आफू पनि पोख्त भएको हुनाले फलानाको नाति, चिलानाको छोरालाई परेकै हो सत्र ठानेर चार सन्तानको खुत्रुके फुटाई सकेर स्वास्नीको पटुकाको पत्र खोल्न लगाएर छनछनी पैसा गन्न लगाएँ । स्वास्नीको अनुहार वर्षाको बादलझै धमिलो हुन थालेपछि मेरो मन अमिलो नहुने कुरै भएन । तै पनि दुई पक्षीय वार्ता गरियो । छोरा छोरीले मध्यस्थता गरे । सबैले निर्णय निकाले बालाई नेपाल घुम्न पठाउने । श्रीमतीले अलिक फरक मत राखिन, एकै जनाले उत्रो विधि रकम खर्च गरेर काठमाडौँ जाने । गएर के खाने काँ सुत्ने ? मलमुत्रको लागि त चिन्ता भएन । नेपालका सबै शहरहरू दिसा मुक्त भई सकेको हुनाले खाना भन्दा ज्यादा पाइखाना पाइला पाइलामा पाइने कुरामा शंका नगरौँ । तर फर्किदा कसरी फर्किने ? सरकारले वृद्ध बस सेवा, बृद्ध जहाज सेवा सुरु गरिदिए गरेदेखि म जस्ता दाँत, आँत र आँफन्तबाट तिरस्कृत बृद्धहरू पुरस्कृत भएझै खुसी हुन्थे । मर्ने बेलामा आनन्दले आँखा तर्ने थिए । के गर्ने बुद्धि बाहकसँग पैसा छैन । पैसा बाहकसँग बुद्धि हुँदैन । ¥याङको ठ्याङ नमिल्दा जसले पनि ड्याङ खानुलाई अनर्थ मान्नु हुँदैन । जे होस् सन्तानले भने ‘पिताश्री काठमाडौँबाट गाडीमा आउनु । श्रीमतीले निकै ठूलै भार परेझै गरेर भनिन ट्रकमा आउनु, नत्र काम केही छैन हिँडेरै आउनु । अन्यथा राजधानीमै बृद्धाश्रमहरू खाली भैराखेका हुन्छन् उतै शरण पर्नु । ‘मरे सासुको छोरो बाँचे मेरो पोइ’ भन्दै रोइन । म चाहिँ जहाज चढ्न घुटुक घुटुक थुक निलि राखेको थिएँ । तँ आँट म पु¥याउँछु भन्छन् भगवान्ले भन्ने याद आयो र एक तमासले अड्डी लिएँ । अचाक्ली अडान र अनसन लिएपछि यो खबर ससुराली, सालाशाली सबको कानमा धुस्नुमा आगो फैलिएझैँ फैलिएछ । कमला मन भएका सालोले लिन आउँदा म खुसीले लँगौटी फुस्किएको ख्यालै नगरी तीन फुट माथि उफ्रिएँ । आफैले गाडी चलाएर जहाज मैदानको मुल ढोकामा ओराल्दै भित्र छिर्न सङ्केत गरेपछि गालामा हात गयो । दारी लटरम्म । दारी काट्ने पैसा पाउँ साला बाउ भने । सालो असाध्यै मनकारी २०।२० का दुईटा नोट दाहिने हातमा परि हाल्यो । मेरो समस्या टरिहाल्यो । एक प्याकेट ब्लेड, चन्दन एकै पोकामा कसी पशुपति परिसरमै दारीको विदावारी गर्ने विचार भयो । प्रसन्न मुद्रामा चेक जाँचका लागि प्रहरीको र मेरो सासै जुध्ने गरेर उभिएँ । दुईवटै डुँडुला माथि लैजानु भन्यो । मैले अलिक बुझिन र भने ‘कसो रे बाबु !’ । ‘झर्किँदै हात माथि लैजानु भने छि बल्ल कुरो बुझेर म त खङ्ग्रङ्गै भएँ । गोली नै ठोक्ने भयो झै लाग्यो । होस हवास जहाज भन्दा पहिले नै उडिहाल्यो । तर ठोकेनन् । तन्नाको चार टुप्पो बाँधेर कुटुरो बोकेको थिएँ । जाँच्नका लागि गुडगुडे भित्र छिराउनु भयो । म मानिन ।
मेरा लागि म भन्दा मेरो पोको पुन्तुरो प्यारो थियो । त्यसमा पुजा सामग्री श्रीखण्ड चन्दन, केशरी, जनै, सुपारी, कुश, दारी काट्ने पत्ती, धुप, बत्ती, अक्षता, सातु, पञ्च पात्रो साथै विहान बिहान निधारमा चन्दन धारण गर्ने छाप समेत पुलिसको कालो दुलामा किन हुलिस् भन्न मन लागेको थियो तर ति सबै रिस आफैले पचाएर कुटुरो र आफूसँगै काखी च्यापेर गुड्गुडेमा सुतेँ । पल्लो छेउमा निकाल्यो । हतार हतार भुइँमा झरेर बेरेको धोतीपाटालाई तल झारेँ र जाँचकी प्रहरीलाई हेरेँ र मनमनले भनेँ ‘हरि नभएका प्रहरी’ । सुरक्षाकर्मीले मलाई अपराधीलाई झै हेरिराखेको र छ । के गल्ती गरँे भन्दै चल्ती खल्ती छामे । प्रहरीले काँडादार घँगरुको लट्ठी ठड्याउँदै भन्यो ‘श्रीखण्ड चन्दन तस्करी गर्न थालेको कति वर्ष भयो ? पोकाभित्र ब्लेड पनि छ । जहाज अपहरण गर्ने विचार छ कि कसो ? पिलेनमा आगो झोस्ने विचार छ कि के हो ? भन्दै झुलो चकमक पनि लिए । मलाई खाली नै जहाजतिर पठाइ दिए । मेरो ब्लेडले दारी काटेर, चन्दन श्रीखण्डको छाप ललाटमा लगाएर पुलिस आफै धर्मात्मा भए होलान् । म चाहिँ गिजोलगाजल गरिएको कुटुरो सानु पात्रो, पञ्चपात्रो लिएर खुसी लुटिएकी महिला झैँ न्यास्रो मुद्रामा जहाजको ढोकैनेर पुगेँ ।
जहाजमा हावाहुरी नलाग्ने भएर होला छोटो स्कट र पारदर्शी पहिरनकी नवाधुनिक एउटी एक्काइस बाइस वर्षकी चिल्ली गोरीले एक तमासले जम्लाहात गरेर नमस्कार गरिराखेको देखे र झस्किएँ । ए अचम्म ! धाराघरे मान्द्रेका जेठा छोराले भगाएर ल्याएछ कि क्या हो । यस्तरी नमस्कार कि नमस्कार त गर्नु नपर्ने । बुढो मन के मान्थ्यो सोधी हालेँ ‘नानी कस्की छोरी ?” जवाफ आउनै नपाई पछि पछि आउनेले ठेलेर थान्कामा बस्न बाध्य भएँ । जहाज चढ्न मभन्दा पनि अरू आतुर रहेछन् जस्तो लाग्यो ।
जहाज निकै लामो थियो । छेउको सिटमा बस्यो भने वाक्क गर्न सजिलो हुन्छ भन्ने ठानेर म झ्याल भएको सिटमा छेउमा लेपास लागेर बसँे । पंखा हुँइकी हुँइ घुम्न थाल्यो । चिल्ली गोरीले जहाजको दैलो बन्द गरिन् । पंखा एक तमासले घुम्न थाल्यो । उठेर हेर्न थालें । मेरो गतिविधि उति विधि रुचेन छ कि क्या हो । चिल्ली गोरीले बसेकै ठाउँमा बेल्टले कसिन् । त्यसपछि म भएँ असिन पसिन । उनी आफ्नो मुढामा गएर बसिन् । उठेर हेर्दैमा यस्तरी बाँधिनु प¥यो भने बोल्यो भने मुखमा पट्टी कस्ने हुन् कि भन्ने सन्त्रासले छोयो र मेरो मन रोयो । बुढो रिसाएछ भन्ने ठानिछ क्यार एक थाल चक्लेट र मेरो आँसु पुछ्न हो क्यार पिउरी लिएर आइन् । दाँत विनाको बुढाको उत्तम खुराक ठानेर सबै मिठाई कुटुरोमा खन्याई दिन अनुरोध गरें तर गोरीले मानिनन् । बरु झण्डै बक्सिङले हानिनन् । नबोली चालकलाई पोल सुनाउन हो क्यार उतै गइन् । आउली आउली आइनन् । मेरो मन कम्ता रुवाइनन् । न्यास्रो मान्दै उँधी राखेको थिएँ । प्लास्टिकका सेता गिलास र आधा बोतल फेन्टा दायाँ बायाँ हल्लाउँदै आइन् । बोतल छोएँ हिउँकै रस उबाएर ल्याएझै चिसो लाग्यो । ‘मरिच हालेको तातो चिया ल्याउन नानी’ भनेको के मान्थी । नमाने नमानोस् तेत्रो पैसा खर्चेर चढेको जहाजमा खुट्टै पसारेर निदाउँछु भन्दै झकाउन थालँे । भसक्कै निदाएँछु । बिउँझिँदा मलाई मृतकक्ष अर्थात् सब सेक्सनमा सुताइ राखेका । छेउमा एउटा आफ्नो लम्बाई बराबरको चिल्लो बाकस पनि थियो । खोलेर हेरे त्यहाँ मेरो कुटुरो राखिदिएछन् । मैले पनि गजबको बाक्सा फेला प¥यो भनेर टाउकामा बोकेर एयरपोर्ट बाहिर आएँ । दुई जनाले गफ गर्दै मेरो बाक्सालाई देखाउँदै भने ‘एउटा भए पनि रेमिट्यान्स घटेछ’ बृद्ध बृद्धाको कसैलाई मतलबै नहुँदो रछ ठूलो सहरमा । कसैले पनि काँ जाने, काँबाट आको, काँ गाको, के भाको केही सोधेनन् । मलाई पनि भजनको साटो रेडियोले फलाक्ने एउटा गीतको याद आयो– एक्लै भए जस्तो लाग्छ ठूलो सहरमा प्रेमीले जिउँदै मारिन् यो संसारमा आज ।
काठमाडौँको चारधामको काम सिध्याएर फेरि सालोलाई पोखरा फर्किन पाउँ अब कता जाउँ भन्दै विन्ती विसाएँ । बृद्ध बृद्धा सबैका हेला भएर होला म पनि सालोको फेला परँे । रिसले चुर सालो झुर भिनाजुको ताल देख्दा तालमै हाम फालेर मरुँ झैँ गरेर रन्थनियो । मलाई पर्नु अप्ठ्यारो प¥यो । स्वच्छ सुन्दर पोखरा र लालाबालालाई माया मार्न नसकेर कफन शिरमा राखेरै कडा कर्कश श्रीमतीसँग पुनर्मिलन भयो । रेडियो खोलेर सुन्दा….. अन्तर्राष्ट्रिय गौचरन विमानस्थलबाट अन्दाजी बहत्तर वर्षीय डि.एन. हर्पे नामका वृद्ध एक थान कफन सहित बेपत्ता…. पाउनु फेला पार्नु भए आर्यघाट वा नजिकको प्रहरीलाई बुझाई दिनु …. ।’ खोजी हुन्छ आर्यघाटमा, म छु रामघाटमा ‘माछो माछो भ्यागुतो’ । कफनमा श्रीमतीको लगनका बेलाको चुरा, पोते, सिन्दुर, सौभाग्यका सामान राख्ने अहो भाग्यले भाँडो प्राप्त भएकोमा जहाजलाई धन्यवाद ! भन्दै हामी जोडी खुसीले गदगद हुँदै ‘एक जान हे हम्’ भन्ने हिन्दी चलचित्र सम्झिँदै अझै पनि काल र दाल पर्खिने क्रम जारी छ ।
फूलबारी–११, पोखरा
Subscribe
Login
0 Comments
Oldest







































