सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भूत सभाको सन्त्रास

Nepal Telecom ad

बाल्यकालमा आमा बुबाले, आफन्तजनले आफ्ना नानीहरूलाई फकाउन, डर देखाउन भूत आयो, भूत आयो भन्दै तर्साउने गर्दथे । रोएर हैरान पारेमा तै चुप लाग्छन् कि भनेर हाउगुजीले खान्छ भनेर तर्साउनु हुन्थ्यो । त्यसको असर जिन्दगीभर पर्दोरहेछ । अहिले पनि भूतको कुरा गर्दा आङ सिरिङ्ग हुन्छ । डरले सातोपुत्लो जान्छ । लुगलुग काँप्न थाल्दछु । होसहवास सबै उडेर चेतनशून्य हुन्छु । रातको समयमा भूतहरूको चलखेल हुन्छ भन्ने कुरा त जोसुकैलाई पनि अवगत भएकै कुरा हो । मध्यरातमा उनीहरू खुब रमाउँदै यताउति हिँड्छन् । दिनचरहरू रातमा हिँडडुल गरेमा उनीहरूले सिकार बनाउँछन् रे । त्यसो भनेपछि त झन् डर लाग्छ मलाई त । आफ्नो ज्यानको माया त लागिहाल्छ नि । बाँचे संसारमा यी दुई टोड्का आँखाले अनेक कुराहरू देख्न पाइन्छ । यी दुलो परेका दुई कानले अनेक कुराहरू सुन्न पाइन्छ ।

एउटा भूत गाउँमा छिर्यो भने सारा गाउँलेलाई पिरेर हैरान पार्दछ । रातदिन धामी झाँक्री खोज्दा र लगाउँदा लगाउँदा हैरान बनाउँदछ । वैज्ञानिक युग हो धामी झाँक्री नलगाउँ भने पनि कहिले कलिला लालावालालाई सताउँछन् । कहिले ठूलालाई मरणासन्न हुने गरी पिर्छन् । कहिले पशु चौपायालााई थलाको थलामै लम्पसार पारिदिन्छन् । अस्पतालको औषधि त जति सेवन गरे पनि बिसको उन्नाइस हुँदैन । बरु प्रतिक्षा गर्दा गर्दा आशाको डोरी चुँडिसक्छ तर रोग विसेक हुने कुनै छेकछन्द आउँदैन । अनि विवश भएर धामीको शरणमा पुग्नु पर्दछ । ढिलो चाँडो रोग निदानको लागि पहल गरिन्छ । केही राहत पनि मिल्दछ ।

यी घरगाउँमा आउने भूत भन्दा पनि बिसौँ गुणा भयङ्कर अर्को भूतसभाको पो डर लागिरहेछ । संविधान बनाउनका लागि भनेर दुई वर्षको अवधि दिएर सभासद्हरूलाई निर्वाचित गरेर नेपाली जनताहरूले पठाएका थिए । आफ्नो आयुको वास्ता नै नगरिकन संविधान बनाउनु भन्दा पनि खाली सत्ता लोलुपतामा लागिरहे । “जसको निम्ति गोठ बनायो उसको पुच्छर बाहिर” भने झैं संविधान बनाउनुको सट्टा आफ्नो शक्तिको प्रदर्शनमा व्यस्त रहे । “जब प¥यो राती कानी बुढी ताती” भने झैं संविधानसभाको म्याद सकिने दिनको पनि अन्तिम घडीमा आएर भ्याइ नभ्याइकन रातविरात संविधान बनाउन दत्तचित्त लगाएर नेपाली जनताका आँखामा छारो हाल्ने दुस्साहस गर्थे । दुई वर्षको आयु सकिएर पनि अर्को दुई वर्ष भूत भएर नेपाली जनता देश समयलाई तर्साइरह्यो । सम्मानित सर्वोच्च अदालतले मरेर पनि भूत भएर पनि पुन मरिसक्यो भनेर घोषणा गरिसक्यो । आफ्नो आयु भरी त जगजगी गरेर नेपाल जस्तो पुण्य भूमिलाई अधोगतितर्फ धकेल्न निकै ठूलो भूमिका निर्वाह गरे । अब त मुलुकले मुक्तिको बाटो अवलम्बन गर्लान् भनेको त पुनः ६०१ भूतहरू हामीहरू बीच फेरि व्यूँझिनु पर्छ भन्दै सरसल्लाह पो गर्न थालेका छन् । यस्ता कुरा सुन्दा आम नेपाली जनताका मनमा कस्तो भावना उब्जिएला । लाजसरम पचेका भूतहरू फेरि पनि जागाजोति भएर नेपालमा मोजमस्ती गर्न लालयित छन्, खबरदार यस्ता कुचेष्टा गरेमा नेपाली जनताले कदापि क्षमा दिने छैनन् । किनकि आयु सकिएको वायुले जे पनि गर्न सक्दछन् । प्यारो देश र नेपाली जनताको पीर चिन्ता भएको भए आफैले मागेको समय सीमाभित्र संविधान बनाएर नेपाली जनताका हात हातमा नयाँ संविधान पु¥याइसक्थे तर खै ! “माछा माछा भ्यागुतो” भने झैं भयो । संविधान आउँछ आउँछ भन्दा भन्दै आखिरमा हात लाग्यो शून्य भयो ।

भूतसभा पुनः व्यूँतिए भने यिनीहरूले जे गर्न पनि पछिपर्ने छैनन् । देशकै अस्तित्व खतरामा पर्न लागेको अवस्थामा पनि सत्तामा जाने र झण्डावाल पजेरोमा चढेर रवाफ र शानका साथ हिँड्न पल्केकाहरू सधै त्यसैको लोभमा जे जस्तो वाचा कसम पनि चुकाउन पनि पछि पर्दैनन् । भूतहरूलाई के को लाज के को सरम ? एकैछिनमा काटाकाट गरुला झैं गरेर वाकयुद्घमा उत्रन्छन् । फेरि घाँटी जोडेर एउटै कार्यक्रममा उद्घाटन गर्न पुग्छन् । हुनसम्मको नाटक देखाउँछन् । सत्ताको भागबण्डा नमिलेमा घुक्र्याउँछन्, दङ्ग्याउँछन् । आखिरमा मिलेर सहकार्य पनि गर्न पछि पर्दैनन् । पार्टी फुटाएर रुखमा ऐँजेरू पलाए झैं पलाउन पनि पछि पर्दैनन्.। यिनीहरू माथि कुनै पनि कुरामा विश्वास गरिहान्नु हुँदैन । धोका माथि धोका दिन सक्छन् । त्यसैले समयमा नै सचेत भएर रहनु आवश्यक छ । कुनै पनि हालतमा भूतसभा बनाउन दिनु हुँदैन ।

पूर्वको भूत, पश्चिमको भूत, उत्तरको भूत दक्षिणको भूत चारै दिशाका भूत भेला भएपछि त के चाहियो र को भन्दा को कम र ? पूर्वेलीहरू भन्छन् अरुण पूर्वका भागको छट्टै राज्य हामीलाई चाहिन्छ । हामीहरूले ल्याएका प्रस्तावहरू सही छन् । समय सान्दर्भिक छन् भन्दै अडानमा बस्ने गर्छन् । पश्चिमेलीहरू पनि हामीले नेपाली जनताका सही मागलाई ल्याएका छौँ त्यसैले हाम्रंो प्रस्तावलाई पारित गरिनु पर्दछ भन्दै अडानमा बस्छन् । समयले मागेको नेपाली जनताका सही सम्बोधन गरिएको आगामी दश वर्षमा नेपाललाई समुन्नत विकास गरी विश्वका अति विकसित मुलुकको दाँजोमा अग्रपङ्क्तिमा ल्याउने किसिमको छ त्यसैले हाम्रो मागलाई अक्षरश पास गरिनु पर्छ भन्दै मोर्चावन्दी बन्दछ दक्षिणका भूतहरूको । नत्र त सदनबाट सडकमा, जनता माझ गएर सदन अवरुद्घ गर्न पनि पछि पर्ने छैनन् । उत्तरी दिशाका भूतहरू झन् के कम र । हामी त हिमालको चिसो हावा खाएर, हजारौँ हजार किसिमका जडिबुटीका वासनादार हावापानीमा हुर्किएका मानिस हौँ । स्वच्छ वातावरणमा हुर्किएकाको मन पनि एकदम कञ्चन छ कुनै छलकपट छैन । त्यसैले हाम्रंो प्रस्तावलाई केही पनि थपघट नगरिकन समेटिनु पर्दछ । हामीहरूलाई हिमाली राज्य छुट्टै चाहिन्छ । भनेर एक आपसमा बाझाबाझ गर्न पनि पछि पर्ने छैनन् । त्यति मात्र हो र थुम्की नै पिच्छेका भूत छन् । जातै पिच्छेका भूत छन् । भाषै पिच्छेका भूत छन् । पार्टीभित्र पनि फरक फरक विचार बोक्ने भूतहरू छन् । हरेक भूतका आ–आफ्नै मागहरू छन् ।

नेपाललाई ससाना राज्यहरूमा टुक्रा टुक्रा पारेर सत्यानास पार्न बेर लगाउँदैनन् । यी लाजसरम पचाएका भूतहरूले । त्यसैले कुनै पनि हालतमा भूतहरूलाई चलखेल गर्ने अवसर प्रदान गर्नु हँुदैन । राष्ट्र, राष्ट्रियता र नेपाली जनताका लागि जस्तै मूल्य चुकाउनु परे पनि, ज्यानकै बाजी लगाउनु परे पनि पछि पर्नु हुदैन । नेपाली जनताका अगाडि अब परीक्षणको घडी आएको छ । होस पु¥याएर काम गर्नु पर्नेछ । कुनै पनि हालतमा भूतसभा ब्यूँतिन दिनुहुँदैन ।

मन्थली, रामेछाप

Fitkauli Publication Books comming soon
Nepal Telecom ad