हल्ला अझ उस्तै !
१. जुन काल बिते पनि काल महाकाल !
क्याउँ क्याउँ उस्तै उस्तै ! हल्ला अझ उस्तै !
२. बुझक्कड उस्तै प्रभो ! ज्ञान गुदी उस्तै !
टपर्टुइयाँ सधैं आफ्नै ! हल्ला अझ उस्तै !
३. धाक धम्की अझै उस्तै ! निर्लज्जता उस्तै !
अपण्डित पण्डित छन् ! हल्ला अझ उस्तै !
४. चार जना मिले कि त सानै महान् हुन्छ !
त्याग स्याग चाहिँदैन ! हल्ला अझ उस्तै !
५. नेतालाई के हो के हो ? सधैं लठिभद्र !
फलिफाप पुच्छरेलाई ! हल्ला अझ उस्तै !
६. नजान्ने त नेपालमा कोही देखिँदैनन् !
साधना त इस् ! इस् ! यहाँ ! हल्ला अझ उस्तै !
७. पगरीको अझै जुग ! फेसन झन् ठालु !
आलु पनि के खाउँ र ! हल्ला अझ उस्तै !
८. लाटो बन ! निच्च ! ङिच्च ! सधैं सोझाहरू !
स्याल ब्वाँसा अझै अघि ! हल्ला अझ उस्तै !
झर्रो नेपाली घर, चन्द्रगढी झापा