सुलसुले‘भेट्न आएँ’ कवितासङ्ग्रह विमोचित
त्रिशूली (नुवाकोट), २४ मङ्सिर । रामहरिप्रसाद रिमालले लेख्नुभएको कवितासङ्ग्रह ‘भेट्न आएँ’को आज सदरमुकाम विदुरमा विमोचन गरिएको छ ।
यहाँ सञ्चालन भइरहेको श्रीमद्भागवत ज्ञान महायज्ञस्थलमा अन्तर्राष्ट्रिय वाचक पं अर्जुनप्रसाद अधिकारी र जिशिअ चन्द्रबहादुर खड्काले कवितासङ्ग्रहको विमोचन गर्नुभएको हो ।
कृतिको विमोचनपछि जिशिअ खड्काले कवि रिमालले आफ्नो जीवनको भोगाइलाई सरलरुपमा कविता कृतिमा समेटेको बताउनुभयो । काव्य कृतिमाथि प्रकाश पार्दै राससका उपसम्पादक तथा कवि दीपेन्द्र अधिकारीले कवितासङ्ग्रह काव्य गुणलेभन्दा पनि अनुभवका निश्छल अभिव्यक्तिले सिँगारिएको बताउनुभयो । कवि अधिकारीले भन्नुभयो, “कवि रिमालले इमान्दारीपूर्वक जीवन भोगाइका यावत् पक्षलाई विविधतायुक्त शैलीमा प्रस्तुत गरेका छन् ।”
‘त्रिशूली प्रवाह’का सम्पादक शरण उत्सुकले जिल्लामा समाजका विकृति विसङ्गतिलाई सरल रुपमा कवितामा लेखेर सुनाउन जाँगरिला कविले यो उमेरमा पनि जोसका साथ कृति प्रकाशन गरेर आफ्नो प्रतिभालाई सबैसामु ल्याएको बताउनुभयो ।
कार्यक्रममा राससका सम्पादक श्याम रिमालले कृतिभित्रको कविता ‘विश्वकर्मा भजन २०७१’वाचन गर्नुभएको थियो । कार्यक्रममा नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष रामप्रसाद रिमाल, पुस्तकका प्रकाशक समाज सचेतन केन्द्रका अध्यक्ष यमकुमार खातीले कविता कृति र कविका बारेमा बोल्नुभएको थियो ।
कृतिकार रामहरि बाजेले आफूले राम्रो लेख्न नसके पनि अनुभवलाई लेखेकाले सबैले मन पराउने आशा व्यक्त गर्नुभयो । अन्ठाउन्न कविता समेटिएको ‘भेट्न आएँ’ कृतिमा प्रकृति, श्रमको सम्मान, वातावरण संरक्षण, भ्रष्टाचारीमाथिको प्रहार, राजनीतिक बेइमानीप्रतिको व्यङ्ग्य, नारी, दलित तथा समाजका उत्पीडित वर्गप्रति सम्मानभाव व्यक्त गरिएका कविता समाविष्ट छन् ।
रासस
Subscribe
Login
0 Comments
Oldest











































