साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रष्टाचारकी जननी पानी

Nepal Telecom ad

बुढापाका भन्नी गर्थे सुन बाबु नानी
जस्तो खायो पानी उस्तै हुन्छ बानी
मुहानको पानी खानी बुद्धिमानी
चुहानको पानी खानी भ्रस्ट बानी ।

यस्ता कुरा जानी आइयो राजधानी
धाराबाट आउनी ओहो ! शहरमा पानी !
कता मुहान भन्नी कता चुहान ठान्नी ?
मुहान चुहान एकै ठाउँ धारा टुटी मान्नी ।

गजब सोध्ने चलन– ‘खानी हो यो पानी ?’
पानी पनि यहाँ नखानी र खानी !
ठेगान हुन्न धारो आउनी र जानी
सबले सबलाई सोध्नी ‘कहिले आउनी पानी ?‘

आउँछ भन्या दिन आउँदो रैनछ पानी
आउन्न भन्या दिन आउनी सुट्ट जानी
हल्ला गर्दा रैछन् ‘आयो आयो पानी’
दौडी दौडी पुग्दा पानी स्वात्तै जानी ।

कहिले राति आउनी, कहिले दिउँसै आउनी
जस्तै बाठोले नि पत्तो रैनछ पाउनी
रातभरि कुर्दा कुर्दा नआउनी पानी
यस्सो आँखा लाग्यो कि त ‘आयो आयो पानी !’

भाँडाकुँडा भएजति बटुलेर जानी
तर पाइपसम्म मात्रै आउनी पानी
के गरेर थुत्नी प्वाल भित्रको पानी ?
न मुठीमा आउनी न डोरीले तान्नी ।

ताने बाहिर आउनी, नत्र भित्रै जानी
जता फोर्स धेरै भो उतै जानी पानी
मिसिन हुँदोरैछ तान्नलाई पानी
यता मिसिन जोड्यो उता विद्युत जानी ।

लुकामारी खेल्नी विद्युत र पानी
एउटा आयो भने अर्को फुत्तै जानी
दुवै भेट भए ठूलो साइत मानी
सिङ्गै जनसङ्ख्या टुटी घेर्न जानी ।

कोही टुटी मिच्नी कोही पाइप थिच्नी
कोही भाँडा थाप्नी, कोही बाज्न थाल्नी
एउटा अडर लाउनी अर्को क्यै नमान्नी
घरघरै जात्रा हेर पानीको हैरानी ।

तान्दा तान्दै पानी धारो खोक्न थाल्नी
कहिले सिट्ठी मार्नी कहिले फ्यात्तै छाद्नी
रातो निलो पहेँलो सप्तरङ्गी पानी
गनाउने ठुस्स ठुस्स बाक्लो लेदो पानी ।

धाराबाट जे जे झर्छ त्यै त हो नि पानी
परिभाषा नौलो लाग्नी राजधानीको पानी
मिसिएको ढल पक्का जानी जानी
झोल चौटा छुट्टयाउन छान्नु पर्नी पानी ।

नउमाली खाए सोझै स्वर्ग जानी
उमालेर खाँदा यता ग्याँसको हानी
बिल तिर्न जाँदा मोटर भाडा जानी
‘खानी पानी’ अफिसमा किन्नी बोतल पानी ।

दूध भन्दा महँगो यो राजधानीको पानी
माग्नी चोर्नी झैझगडा गर्न सक्नी खानी
धारो जोड्नी, पालो छोड्नी खोज्नी घुसै खानी
प्रोजेक्ट ल्याउनी अर्काथरि ठेक्कापट्टा खानी

गोष्ठी शिक्षा अनुसन्धान पानी जपी खानी
योजना र प्रशासनमा ठूलै हुल खानी
पानी बरू नखानी यी घुस भत्ता खानी
अचम्मकै ओहो, कस्तो राजधानीको पानी ।

मर्का सहनी मर्का पार्नी यहाँ सबको बानी
भ्रस्टाचारकी जननी यो राजधानीको पानी
बुढापाका भन्ने गर्थे सुन बाबु नानी
जस्तो खायो पानी उस्तै हुन्छ बानी ।
बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x