फित्काैली डटकमधनेको तास एण्ड सेकुवा
गाउँबाट भरखरै शहर पसेको धनेलाई बेस्सरी भोक लागेको थियो । उसले सोच्यो– “कुनै होटलमा पसेर टन्न दालभात खान पाए बल्ल मेरो भोक मथ्र्यो होला । उसले बाटोमा हिँड्दै गर्दा भात खाने होटलहरू पनि हेर्दे जान थाल्यो । उसले पसलको अगाडी झुन्ड्याइएका बोर्डहरू ननतत गर्दै पढ्दै गयो । कहिँ लेखिएको थियो– “शानदार मःमः पसल” उसले त्यो लेखेको देखेर मनमनै भन्नथाल्यो– “मःमः भनेको त संस्कृत भाषामा मेरो भन्ने अर्थ लाग्छ । श्राद्ध गर्दा पनि पुरेतबाजेले मःमः धेरै पटक भन्न लगाउनु हुन्छ ।” अनि ऊ आफैं हिँड्दा हिँड्दै हाँस्यो र सोच्न थाल्यो– “शहरमा संस्कृत भाषा हरायो भन्थ्यो हैन रहेछ । राम्रै भयो ।”
उसले फेरि एक ठाउँमा लेखिएको बोर्डलाई ठिङ्ग उभिएर पढ्न थाल्यो “तास एण्ड सेकुवा” । उसले त्यो शब्दहरूको अर्थ लगायो– “तास भनेको बाउन्न पत्ति खेल्ने तास नै होला ।” त्यो सोचेर उसले दिक्क मान्दै मनमनै सोच्यो– “राम ! राम ! शहरमा त खुलेआम तास खेलाउने घरहरू हुँदारहेछन् । गाउँमा त चौतारीमा कहिलेकाहिँ तास खेल्दा पनि आमा हो कि के जाति समूह भनेर महिलाहरूको हुलनै आएर तास जुवा खेल्न पाइँदैन भनेर तास सबै च्यातच्युत पारेर फालिदिन्थे । खेल्न बसेका पुरुषहरू जति जम्मैलाई लखेटेर पठाइदिन्थे । शहरमा भने तास खेल्ने ठाउँ भनेर लेखेरै राख्दो रहेछ । कस्तो अचम्भ ?” उसले फेरि सोच्यो – “शहरमा जे पनि हुन्छ भन्थ्यो साँच्चो रहेछ । उसले एण्डको अर्थ बुझ्न खोज्यो तर उसलाई पटक्कै आएन । उसले उल्टो सोच्यो सुल्टो सोच्यो, यताबाट सोच्यो उताबाट सोच्यो तर उसलाई मरिकाटे आएन । उसलाई आफैमाथि रिस उठिरहेको थियो । उसले आफैलाई गाली गर्दै भन्यो “पाखे धने ! मुर्ख धने ! अनपढ धने ! तँलाई त्यसको अर्थ कसरी थाहा हुन सक्छ र ? त्यो पक्कै पनि कुनै शहरिया अक्षर होला अनि त्यसको अर्थ पनि शहरियानै होला ।
उसले फेरि सेकुवाको अर्थ लगायो । सेकुवा भनेको त थाहा छ मलाई झोलसँग सिटनको रुपमा खाने परिकारलाई नै सेकुवा भन्छ भन्थ्यो । त्यसरी आफूले सजिलैसँग सेकुवाको अर्थ लगाउन सकेकोमा धने आफै दङ्ग पर्यो । उ त्यो पसल भन्दा दश बाह्र पाइला अगाडी बढि सकेको थियो । उसले फेरि सोच्यो “शहरमा तास खेल्दै गर्दा कस्तो खाले झोल र सितन दिँदोरहेछ । यसबारे थाह पाउन पाए गाँउमा गएर गफ लाउनमा मज्जा हुन्थ्यो ।” उसले आफ्नो गोजी छाम्यो र फरक्क फर्केर धने पसल भित्र पस्यो ।
आफ्नो पसलभित्र ग्राहक आएको देखेर एकजना ठिटो उसको अगाडि आयो र भन्यो– “हजुर बस्नुस् । हजुरलाई के ल्याउँ ?” धनेले पनि गमक्क गम्केर भन्यो मलाई तास र सेकुवा ल्याऊ । ठिटोले पनि हस भन्यो भित्रतिर गयो ।
धने कुर्सीमा बस्यो र आफ्नो ढल्केको टोपीलाई मिलायो । एकपल्ट आफूले लगाएको कपडालाई सरसरती हे¥यो र भन्यो– “धने ! तँ शहरमा आएर जम्ने भइस् । गाँउमा तास, जुवा, झोलसोल सबैबाट बचेर बस्थिस् आज” उसले के के भन्यो के के भन्यो उसलाई नै थाहा भएन । उसले चारैतिर हेर्यो । त्यहाँ उसले तास खेलेर बसेको मान्छेहरूलाई देखेन । एउटा दुईटा टेबुलमा दुई तीन जना मानिसहरू बसेर केही खाँदैथिए ।
उसले मनमनै सोच्यो– “खेल्ने बेला नभएर हो कि ?” उसले आफ्ना दुवै हात चलाउँदै भन्यो “खै के हो ? बुझ्नै सकिन । उसले झट्ट सम्झ्यो– “खै के हो ? बुझ्नै सकिन । उसले झट्ट सम्झ्यो “अँ त्यहि ठिटोसँग सोध्नु पर्ला ।” एकछिनपछि त्यहि ठिटोले उसको अगाडि खानेकुरालाई हेर्दै भन्यो “ए भाइ ! तास कहिले खेल्ने नि ?” उसले प्लेटतिर औला तेर्साउँदै भन्यो “यो के हो भाइ ?” ठिटोले मुसुक्क हाँसेर भन्यो –“हजुर ! तास भनेको यहि हो ?” त्यो सुनेर उसले आफ्नो अगाडि राखिएको प्लेटमा हे¥यो । प्लेटमा मासुमा मुछिएको मुरै– तराईमा मुजा भन्छन्, नेवारीमा गोफुकी र पोलेको मसालेदार मासु थियो । उसले जिल्ल परेर एकपटक ठिटोलाई हेर्यो फेरि प्लेटमा हेर्यो ।
कौशलटार
२४/०९/०७१
Subscribe
Login
0 Comments
Oldest





































