डा. लोकेन्द्रप्रसाद पौड्यालमेरो गाउँको कथा
जहाँ
सबै भन्दा सस्तो
भोक हुन्छ
रोग र शोक हुन्छ
अनिकाल र खडेरीले
जीवन पनि बोझ हुन्छ
त्यहाँ
सुन्दर शान्त भनिने
मेरो दुखी गाउँ हुन्छ
गाउँको इतिहास भरी
घाउ नै घाउ हुन्छ ।
जहाँ
जीवन भन्दा
मृत्यु सस्तो हुन्छ
खोलाको पानी सरी
रगतको खोला बग्दछ
हरदम÷हरपल
पसिना बगाइ रहँदा पनि
दरिद्रता उत्तिकै जाग्दछ
मझेरी र चुसो चुल्होमा
रित्ता र शून्य
भकारी र डालोमा
आँसुको फुल फुल्दछ ।
जहाँ
नानीहरू कुपोषणले ग्रस्त छन्
आमाहरू रुढीवादले त्रस्त छन्
नाम्लोले डामेको थाप्लोमा
ठेला उठेका हातले सुम्सुम्याउँदै
थकान मेट्न सुस्ताएका बाबुहरू
मालिकको ऋणले संत्रस्त छन्
ए ! सत्ताका पलुवाहरू
कामचोर ठालुहरू
जत्ति नै गाउँ तिमी
र जत्ति नै लेख
सुखका मालसिरी गीतहरू
अट्टालिकामा फुलबुट्टे गलैँचामा बसेर
जत्ति नै डकार तिमी– तृप्तिको डकार
इतिहास बाँचिरहेको छ
इतिहास साक्षी बसिरहेको छ
यो सुन खाने सहरदेखि दुर
नुन खान नपाई झोक्राइरहेको
मेरो भोको गाउँ छ
सुन्दर शान्त भनिने
उसको फुस्रो नाउँ छ ।
बागलुङ
Subscribe
Login
0 Comments
Oldest






































