विमल निभालटरपटर चनामटर
एउटा पुरानो आलेखमा मैले स्वयम्लाई एमाले भनेको थिएँ । तर कस्तो एमाले ? एउटा माक्र्सवादी लेखक। संक्षेपमा एमाले । यो चालु खालको एमाले होइन। अर्थात् गलत एमाले भयो । तर मेरा केही सच्चा एमाले मित्रहरू पनि छन् । ती नेकपा एमालेका शतप्रतिशत एमाले हुन्। एकाध मित्र तुलनात्मक रूपले एमालेभन्दा पनि ज्यास्ती एमाले लाग्छन्। एक सय दस प्रतिशत एमाले। (अझ बेसी पनि हुन सक्छ।) यस्तै मेरा एक पक्का एमाले मित्र निमग्न भावमा शनैःशनैः यतातिर बढ्दै थिए। उनी आइरहेको दिशाबाट (उत्तर र दक्षिणको मध्यविन्दुको एउटा नितान्त नवीन उपदिशा) सहजै अनुमान लगाउन सकिन्थ्यो, मेरा एमाले मित्र सोझै बल्खु दरबार गएर, त्यहाँ अध्यक्षादी समक्ष आफ्नो सशक्त हाजिरी जनाएर, अन्तमा दिन सार्थक भएकोमा खुसी-खुसी फर्किरहेका थिए। बल्खु दरबार याने नेकपा एमालेको बहुचर्चित हेडक्वाटर। बल्खुको वैकल्पिक नाम मदननगर। तर यो नाम त्यति चलनचल्तीमा छैन। यसको कारण अरुहरू होइनन्। जब एमालेका सबैजसो नेता/कार्यकर्ता नै जहाँ र जहिले पनि निरन्तर बल्खु-बल्खु भनी सम्बोधन गरिरहन्छन् भने एमाले इतरकाले अति जान्ने भएर किन मदननगर भन्ने ?
\’अभिवादन कमरेड।\’
अभिवादन। भनेर पुगेन, उनले कसिलो हात मिलाए मसँग। \’के हालखबर छ कमरेड ?\’ मैले हात छुडाएर सिधासाधा प्रश्न गरेँ। \’कमरेड नेपालले राजीनामा दिएका छन्।\’ मेरो व्यक्तिगत टाइप प्रश्नको विलकुलै पार्टीगत उत्तर पो आयो। \’को कमरेड नेपाल?\’ नेकपा एमाले थुप्रै नेपाल, खनाल, बराल, पौड्याल आदि आरामका साथ मौजुद भएकाले मेरो प्रश्न नाजायज थिएन।
\’कमरेड प्रदीप नेपाल।\’ थोरै अप्रसन्न भएर उनले भने। ए, नेकपा एमालेको सबैभन्दा चल्तीको नेपाल माधव नेपाल सम्झेछु मैले। र झटपट थपेँ, \’कमरेड प्रदीप नेपालले चाहिँ किन राजीनामा दिएका हुन् ?\’ अलिकति अरु थपथाप गरेंँ, \’कहाँबाट यसरी राजीनामा दिएका हुन्, उनले कमरेड ?\’ अनि आखिरीमा भनेँ, \’कुनचाहिँ पदमा रहेबसेका थिए, कमरेड प्रदीप नेपाल ?\’ मैले एकैचोटी उस्तै खाले तीन अदत प्रश्नहरूका प्याकेज अघि राखेँ।
मेरो पर्याप्त तीव्र गतिको फटाफट मार्का प्रश्न गराइले अलिक बेर त मेरा एमाले मित्र जिल नै परे। उनको लगभग गोलमटोल अन्डाकार अनुहार खुम्चिएर अझ गोल देखियो। (म उभिएको कोणबाट) त्यसपछि तुरुन्तै सम्हालिएर भने, \’तपाईलाई थाहै होला, कमरेड प्रदीप नेपाल कमरेड वामदेव गौतमका प्रमुख सल्लाहकार थिए।\’ अनि चुप लागे।
\’अहँ, थाहा छैन मलाई कमरेड।\’
\’अब थाहा पाउनोस्।\’ मेरा एमाले मित्रका गहुँगोरो मुखमण्डल तत्काल उब्जिएको क्रोधले गुलाफी भयो, \’कमरेड प्रदीप नेपालले त्यस प्रमुख सल्लाहकारको पदबाट आजै राजीनामा दिएका छन्।\’ वास्तवमा मलाई नेकपा एमालेका पोलिटब्युरो मेम्बर (स्थायी समितिमा पनि हुन सक्छन्) कमरेड प्रदीप नेपाल नेपाल सरकारका एमालेतर्फका उपप्रधानमन्त्री तथा गृहमन्त्री कमरेड वामदेव गौतमका सल्लाहकार भनी थाहा थिएन। यो थाहा पाइराख्नु त्यति जरुरी पनि थिएन। के म कुनै सच्चा एमाले हुँ र? तर मलाई यतिचाहिँं मजैले थाहा थियो, कुनै जमानाका यी अति चल्तापुर्जा एमाले कमरेड प्रदीप नेपालले टुँडिखेलको खुला मञ्चबाट कमरेड वामदेव गौतमलाई हाकाहाकी भ्रष्टाचारी भनी घोषणा गरेका थिए। कुनै साधारण किसिमको नभएर सिंगो नेपाल राष्ट्रकै भ्रष्टाचारी नम्बर एक। अहिले उनै घोषित एकनम्बरी भ्रष्टाचारीको प्रमुख सल्लाहकार पदमा पो डटेर बसेका रहेछन् त कमरेड प्रदीप नेपाल। होइन, एकछिन अघि मेरा एमाले मित्रले बताए अनुसार उनी त्यहाँबाट एकाएक राजीनामा दिई बाहिरिइसकेका छन्।
\’कमरेड प्रदीप नेपालले एकताका कमरेड वामदेव गौतमलाई भ्रष्टाचारी नम्बर एक भनेका होइनन् कमरेड ?\’ मैले आफ्नो बासी जानकारीको ताजा पुष्टिका निम्ति एमाले मित्रका अन्डाकार अनुहारमा हेरेँ। \’त्यो त पुरानो कुरा भइसक्यो।\’ उनले एकातिर मुख बंग्याएर भने, \’तपाई के अन्टसन्ट कुरा गर्नुहुन्छ?\’ अनि नयाँ नौलो कुरो के हो त कमरेड ? मैले पनि हलुका रोषका साथ निहु नै खोजेँ।
\’भनिहालेँ नि, कमरेड प्रदीप नेपालले राजीनामा दिए।\’ मेरा एमाले मित्र मसँग पूर्णतः रुष्ट भइसकेका थिए, \’नयाँ या पुरानो कुरो यही हो।\’
हामी बीचको वातावरण गह्रुँगो भइसकेको थियो। फलस्वरुप मेरा एमाले मित्र ठूलठूलो आँखा पारेर मलाई लगातार हेरिरहेका थिए। त्यसकारण म असहज महसुस गरिरहेको थिएँ। अब मैले केही भन्नु कठिन थियो। तथापि मेरो मुखबाट फ्याट्टै निस्कियो, \’के दुवै वरिष्ठ एमाले कमरेडबीच लटरपटर आदिमा कामकुरो नमिलेर कमरेड प्रदीप नेपालले कमरेड वामदेव गौतमको प्रमुख सल्लाहकार राजीनामा दिएका हुन् कमरेड ?\’
\’के लटरपटर ?\’ मेरा एमाले मित्रको स्वरको भोलुम एक्कासी सप्तममा पुग्यो। \’तपाईले भन्नुभएको लटरपटरको मतलव के हो ?\’ अब लटरपटर चनामटरको विषयमा म विचरोले एमालेजनलाई के भन्न सक्छु ? मैले मनमनै केटाकेटी बेलामा गाइरहने गीत लटरपटर चनामटर…गुनगुनाएर प्रकटमा भनेँ, \’यस मामिलामा तपाई नै बढ्ता ज्ञानीगुनी र अनुभवी हुनुहुन्छ कमरेड।\’
\’तपाई फेरि अन्टसन्ट कुरा गर्न थाल्नुभयो।\’ उनी एकदमसँग भड्किएर कराएकाले आवाज फाट्यो, \’त्यसैले मलाई तपाईसँग कुराकानी गर्न मन लाग्दैन।\’ हाम्रो यावत् भेटसंवाद आदिको विधिवत् समाप्ति भइसकेको थियो। किनभने मेरा एमाले मित्र भीषण क्रोधका साथ मलाई छाडेर अघि बढेका थिए। त्यसउसले यतिचाहिँ सोधपुछ गर्नै पाइएन, पटक-पटक नेपाल सरकारको फुलमन्त्री भइसकेका कमरेड प्रदीप नेपालले आफ्नो साविक बमोजिमको हैसियतबाट उँधोमुन्टो लागेर कमरेड वामदेव गौतमको सल्लाहकार बन्न जानु किन परेको होला ? एकपटक त्यहाँ गइसकेपछि फेरि यति शीघ्र क्रोधोन्मुत्त भई राजीनामा दिनुको खाँट्टी कारणचाहिंँ के हो नि ? यसको उत्तर मेरा एमाले मित्रका आधिकारिक मुखारविन्दबाट सुन्न पाएको भए मेरो तमाम लटरपटर चनामटर सम्बन्धी उत्सुकता एवं जिज्ञासाको अन्त्य हुने थियो कि ? जे होस्, म सडकमै खडा भएर गाउन थालेँ, लटरपटर चनामटर/खाए जाव बउवा/चनामटर लटरपटर/लटरपटर चनामटर…।
कान्तिपुर अन्लाइन
Subscribe
Login
0 Comments
Oldest







































