कलानिधि दाहालनगर्ची कान्छीको बहिखाता
पुरानो गोरखा साम्राज्यको काखमा ठडिएको
लालदरबारको शाखामहल अघि उभिएर
नगर्ची कान्छी माग्ने गर्छे–
पुस्तैनी लुटिएका विपनाहरू
हरमटारी चोकका अखडे हरामहरू
उसलाई दिनुहुँ बहुलाही घोषणा गर्छन्,
दुईटा घोषणापत्रमै तामेली पुगेका
नगर्ची कान्छीका विपनाहरू
पुस्तैनी बहिखातामा रुमल्लिई रहन्छन्,
धन्न बहिखाता सुरक्षित छ ।
अढाइसय वर्षअघि
महाराजको खोपीमा चेली लुटिँदाको रात
चुपचाप थिएन बिसे नगर्ची
दरबार मास्तिरको झुप्रोबाट
रातभर बजाईरहेथ्यो बेसुर नगरा
चाहन्थ्यो किच्चक कानको जाली तोड्न
त्यही नगराको ध्वनि
पारी मन्सुली हिमालसम्म गुञ्जेर
अढाई सय वर्षपछि पोखरीथोक फर्कंदा–
शाही मलामी हिँडिरहेकी थिई–
उही बिसेकी खनातिनी कान्छी नगर्ची ।
गाडीमैदानको डिलबाट अचेल
कान्छी हेरिरहन्छे–
त्यो पारी खोप्लाङको कालो पाखो
त्यसैबाट उडाएथ्यो कसैले
बहिखाता खोल्ने फर्मानवाला बेलुन
ऊ झुन्डिइथी त्यसैमा
कान्छीलाई अयोग्यको बिल्ला भिराउँदै
एकदशकपछि शक्तिखोरको बङ्करमा
उडाउनेले नै फुटायो बेलुन,
बेलुन उडाउने र बराजुको ज्याला लुट्ने
उस्तै देख्छे नगर्ची कान्छी ।
नगर्ची कान्छीको बहिखातामा
खाली पाना छैनन् अब,
भन्दैछे–
लाल‘गाले’हर्को मलामी जाम् कान्छा ।
गोरखा
Subscribe
Login
0 Comments
Oldest





































