गौरी प्रधानकिन टुक्रिरहन्छ र यो देश ?
भन्नेहरू
हिजो पनि यसै भन्थे
आन्दोलन नगर
देश टुक्रिने संभावना छ !
जब जब देशमा
परिवर्तनको कुरा आउँछ
तब तब देशमा
सत्ताका ठेकेदारहरू भन्छन्
राष्ट्रियता खतरामा छ !
देश टुक्रिने संभावना छ !
उनीहरू
सात सालतिर पनि यसै भन्थे
सत्र सालतिर पनि यसै भन्थे
त्यो कुरालाई चिर्दै
जब जनता अगाडि बढ्यो
छत्तिस सालको
जनमत सङ्ग्रहमा पनि यसै भन्थे
छयालिस सालको
जन आन्दोलनमा पनि यसै भन्थे
तर
राणाशासन ढल्दा पनि
यो देश टुक्रिएन
शाह शासन ढल्दा पनि
यो देश टुक्रिएन
अब सङ्घीयता र गणतन्त्र
संस्थागत गर्दा
जनतालाई सबल बनाउँदा
यो देश किन टुक्रिन्छ ?
कसैले चाहे पनि यो देश
न हामी टुक्रिन दिन्छौँ
न हामी बिग्रन दिन्छौँ ।
काठमाडौं
२०७१/९/२१
Subscribe
Login
0 Comments
Oldest







































