बद्रीप्रसाद दाहाल ‘भस्मासुर’जय मास्टर !
लोकसेवा आयोगदेखि घोकसेवा आयोगसम्म चोकसेवादेखि कोक–फेन्टासम्म पिलाउने कामपर्यन्तमा असफल भए’छि अल्छी तिघ्रो स्वादे जिब्रो म मास्टरी सेवामा प्रवेश गर्न पुगें । सरकारी मास्टर भएर स्कूल पसे’छि आन्दोलनको हुण्डरीमा लाग्दा लाग्दै स्वत: स्थायीको भाग्यशाली चिट्ठा पारियो । कुनै आयोग सायोगको झन्झटमा नपरी वाक्परीक्षामै कागजस्तो ठहरिएँ । घरपायकको जागिर खाएर शिक्षक नायक भई संघ संगठनको मूल गायक भइयो ।
सत्ताधारी राजनीतिक दलको शुभेच्छुक बनेर कयौं स्थानीय चुनावहरु हाँक्ने जनमत आक्ने बिरोधी विचारका योग्यै भए’नि फ्याँक्ने र न्याक्ने काममा लाग्दा–लाग्दै विद्यालयमा पूर्ण समय दिन सकिन । रातारात चुनाव प्रचार गर्न, मिटिङ धान्न र यथायोग्य पम्प्लेट पर्चा बनाउनेदेखि छर्ने कामसम्म व्यस्त हुँदा स्कूलमा त अतिथि शिक्षकजस्तै बन्न प¥यो कयौं वर्ष । बल्ल–बल्ल गान्धी डिविजनमा चिट उद्योग खरखजना केन्द्रको सहयोगमा हासिल गरेको बासी डिग्रीलाई तालिम, प्रशिक्षण, कार्यशालाले पाइन चढाए पनि आफ्नो लाइन अनुसार भत्ता बढाउन त्यहाँ पनि आन्दोलक पनि बन्नै पर्ने भयो । त्यसैले पाठयोजना बनाउने तरिका, मनोवैज्ञानिक शिक्षण प्रणाली, विद्यार्थी केन्द्रित विधि, प्रदर्शन एवं प्रयोगात्मक अभ्यासहरुलाई ग्रहण गर्न सकिन । किनकि, आफूलाई सधैं संगठनकै टेन्सनले पेन्सन माग्ने हुँदा व्यवसायकि दक्षतामा अक्षता झैं बनियो ।
‘अल्छीका ओठमा आहानका झुप्पा’ भनेझैं आफूभन्दा तलका अन्जानहरुलाई उपदेश, अर्ती र निर्देशन दिएर ‘अल्प विद्या भयङ्करी’ लाई चरितार्थ गर्न म कैल्यै पछि परिन । ‘आधा गाग्रो पानी बढी छचल्किन्छ’ भनेझैं म पनि बोल्ने काममा बकबक बहादुर नै छु यसैले त सत्तामा राइज जुन पार्टी भयो त्यहीसित साइज मिलाएर ताकपरुन्जेल तिवारी अनि गोतामे, लामिछाने, भाटराई के के बन्न पर्ने हो त्यो मामला कण्ठै छ ।
जमानामा पढेको कुरा बिर्सिएर पनि ह्याकुलाले मिचेरै भविष्यका कर्णधारलाई वर्णाधार बनाउन विस्तारै लागी पर्छु । मेरो अध्ययनमा कम रुचि भएकैले नजानेको विषय अरुलाई सोद्धा भेउ पाउला भनेर जहिले पनि सम्बन्धित विषयको अन्तरक्रिया र विमर्शमा छेउ लागेर बस्छु । आफू त पुरानो शिक्षामा पाकेको मान्छे हुँदा थाकेको शिक्षणलाई लुकाउँदै पढ, पढ भनेर गर्मीमा शीतल ताप्छु र जाडोमा ढोड बालेर क्याम्प फायर गर्छु । आफूभन्दा क्षमतावान् र उपल्लो योग्यताकालाई खुट्टो तानेर मुकुट्र्टो बनाउन खप्पिस छु । राजनीतिक व्यक्तित्वलाई प्रशंसाको सगरमाथा चढाएर आफ्नो गाथा गाउने बनाउन पनि म राजनयज्ञ (कूटनीतिक प्रतिनिधि) जस्तै चपरचन्ड छु । बिहान बेलुका घर र पार्टी संगठनको काम गरेर लखतरान भएको जिउलाई स्कूलमा घण्टी लागे’छि थकाइ मार्न झन्नै आधा घण्टा पछि स्कूल पुग्छु । सधैं पहिलो र अन्तिम पिरियड लिन भ्याउँदिन । प्रायः दाह्री, जुँगा र कपाल काट्नै बिर्सिएर दाँतलाई ब्रससित भेटै नगराई मैलोधैलो भेषभूषामा विद्यालय पुगेर पढाउँछु ।
सादा जीवन उच्च विचारको मीठोे अचार आफै बनेर स्वास्थ्य विज्ञानको प्रवचन ह्वारह्वार्ती छाद्छु केटाकेटीमाझ । समय–समयमा राजनीतिक संगठनलाई पहुँचदार बनाउन केटाकेटीहरुलाई सांस्कृतिक कार्यक्रममा सहाभागी गराएर, कयौं किशोर किशोरीको वैशमा समेत खेलबाड हुन्थ्यो पनि ।
शैक्षिक सामग्रीको प्रयोग कुन चराको नाम हो म त्यति रुचाउन्न, भएभरका आफ्ना बकुन्द्रालाई निजी स्कूलमा धँकलेर सरकारी स्कूलको खबरदारी गर्न कम्मर कसेको छु । अझ कयौं प्रतिभाशाली प्रथम, द्वितीय हुनेलाई आफ्नै शेयर होल्डरमा खोलेको लिङ्कन एकेडेमी, ससुराले खोलेको न्यूटन मेडिकल रिसर्च सेन्टर, सालोले भर्खरै स्थापना गरेको शेक्सपियर मेमोरियल वाटिकातिर कानेखुसी गर्दै काजमा पढाइदिन्छु । पुस्तकालय, वाचानलय मेरो लागि म्युजियममै जस्ता छन् । साना–साना बच्चाहरुलाई मानाका माना चिट चोराउने तालिम दिएर महाचोर बनाई परीक्षा सेन्टरबाटै खोर पुर्याउने काम कति गरियो कति ।
वि.नी. र स्रोतव्यक्तिसित मैले ज्ञानगुनको लागि कैल्यै ओत लाग्ने कष्ट गरिन । प्रायः मैले पढाउने पाठ्यपुस्तक वार्षिक परीक्षाको अन्त्य आइपुग्दा पनि आधाभन्दा मास्तिर पुग्दैन । सधैं शिक्षककेन्द्रित विधि अपनाएर चुड्का, कथा हँसिमजाक पस्किएर हिसाब जस्तो विषयमा पनि निसाफसाथ पढाइन । पाठयोजना गर्ने, साप्ताहिक वा मासिक शैक्षिक योजना कोर्ने कागजी कुरामा नलागी सबै प्लानलाई जिब्रोमा झुण्ड्याएर पढाइको बारे कसैले तल माथि गरे ‘यहाँ राजनीति घुस्या छ है !’ भनेर समयमै सम्बन्धित ठाउँमा सूचना दिई चना र चिया खाएर स्कूल क्यान्टिनमा साँढे पल्टिन्छु । सत्ताधारी राजनीतिक दलको संस्थापन पक्षकै भएकोले जि.शि.अ. लगायतका सबै ‘स’ हरु मसित मजैले हच्कन्छन् । जे होस् यो संसारको मजाको जागिर मैले मास्टर नै ठम्याएको हुँदा गर्व साथ भन्छु, ‘जय मास्टर’ अर्को जुनिमा पनि उही मास्टर भएर जन्मन पाऊँ । अहिले जस्तै पुरस्कारका बेत बेतले सधैं स्वागत गरेर छेदहरु भागीरहून् ‘जय मास्टर’ ।
धादिङबेँसी
Subscribe
Login
0 Comments
Oldest








































