सर्वज्ञ वाग्लेनेता बन्ने नशा !
नेता भन्नाले कुनै राजनीतिक दल वा जन समुदायलाई असल बाटो देखाउने व्यक्ति, कुनै समाजमा नेत्रित्व दिन सक्ने अगुवा नाइके अथवा भनुँ भने नाटक महाकाव्य आदिको प्रमुख पात्रलाई भनिन्छ भन्ने कुरो ममा फुर्यो । तै पनि असल मान्छे बन्ने मेरा घैटाँ घाम भने उघ्रेन ! बरू गोरुले उघार्यो मैले उघार्न सकिन । जे होस् असल पात्र बन्ने पत्रैपत्र नभए पनि नेता बन्ने पत्रैपत्र भने मभित्र एकछत्र छाइरह्यो ।
त्यो नेता बन्ने बिषालु बिष त मेरा नशाँ रहेछ अब नशाभित्र त रगत बग्दो रहेछ । त्यसभित्र पनि नेताको भूत बग्ने नशाले मेरा दिमागाँ मानसिक असन्तुलन पैदा गरी मादक पदार्थ जस्तै लागु पदार्थको रस चढ्दै गयो । राम्रो–नराम्रो जस्तोसुकै होस् नेता बन्ने तल्लिन लहड ममा लहडिँदै गयो । के भयो–भयो नेता भन्ने यो दुई अक्षरको तीलजस्तो शब्दले पहाड बनी, चुरे, भावर, तराई, हिमाल हुँदै सिङ्गो नेपाललाई संसारको उच्च शिर बनाउने सगरमाथा जस्तो सेतो र कञ्चन हिमालको सञ्जीवनी बुटीलाई बिषमा परिणत गर्यो । यो रसिलो हरियो भरिलो पहाड, हिमाल, तराईलाई, भगवान शिवले कालकुट बिष मन्थन गरेर समुन्द्रमा मिसाए जस्तो मेरो नेता बन्ने धृष्टताले सिङ्गो ब्रह्माण्डैको कालकुट बिष मन्थन गरी ओकल्ने देश, प्रयोगशाला, वधशाला बनाई, के के सालाको छाला ओडाउने देशमा भनुँ भने नमुनाको देश बनाउने सुधृष्टता र कुधृष्टता साथै फूधृष्टता ममा पलायो । म पनि बिहानै उठेर पल्लो गाउँका गुरु बुद्धि बहादुर बुर्कोटीका घरैमा बुरुक्क बुरुक्क बुर्कुसी मार्दै कुकुर्किएँ ! गुरु बुद्धिले पनि निकै घोर्याई मलाई सोधे– “हैन पाँडे राउत, आज तेरा अनुहारमा त किन मैले गम्भीर गम देख्दै छु नि हँ ?
मैले भने– “गुरु, हजुरले ठीक ठहर्याउनु भयो । हेर्नुहोस् त यो हाम्रो सन्तानको भविष्य कता जाने हो ? हरेक नेपालीको रगत र पसिना आफ्नो मातृभूमिमा बग्न छोडेर विदेशी भूमिमा बग्न थाल्यो । बगेको खोला फर्कंदैन भन्छन् । गुरु, हेर्नुहोस् त ! जब हामी यहाँ बालबच्चा र बुढाखाडा मात्रै रहन्छौँ । न त हाम्रो यहाँ अर्थी उठाउने कुनै जवान छन ! यसरी न त कुनै सक्षम व्यक्तित्व रहन्छन् । न त हाम्रो देशको धर्ती उठाउने कुनै जवान यहाँ रहन्छन् । यहाँ त देश भित्रको हराभरा उर्वर भूमिलाई ढकमक्क विकासका फूल खिलाउने ती दक्ष जनशक्ति उत्पादन गरेर विदेश पठाउने मानव फेक्ट्री छन् । कि त बालबच्चा र बुढाखाडा मात्रै ! जब ती बालबच्चा पनि पढ्ने लेख्ने भएर देशमा केही गर्न सक्ने सक्षम व्यक्तित्व हुन्छन् । ती पनि त्यसरी नै विदेशी भूमि सिँगार्न बाटो तताउँछन् । ल भन्नुस् त के यो राम्रो हो ? हो, म त्यही रोक्न चाहन्छु । आफ्नै मुलुकमा हिरा मोती फलाउन चाहन्छु । हराभरा बनाई पर्यटकीय भूमिको रूपमा विदेशीलाई नेपाल हेर्न लोभ्याऊन चाहन्छु ।”
गुरु बुर्कोटीले बुर्किदै र फुर्किदै भने– “त्यसो भए कहिलेदेखि तँलाई सन्तानको भविष्यको चिन्ताले छोयो त पाँडे राउत ? तैँले बिहे गरेको चितवनमा हैन र ?”
“हो गुरुदेव किन चाहियो र यहाँलाई चितवन मेरो ससुराली हँ गुरु देव ?”
“ल भयो अब मलाई पुग्यो ! यहाँ सुन कुरा, तेरो त्यो विदेशमा गएको टेक्निकल विषयमा पदका भारीले थिचेर टाउको भरी विधाका पगरी, सारी जस्तै बुट्टे भरिलो देखिने ठुटे आत्मा भरी विद्वानका रसले मनै वशमा नभएको चितौने कुण्डलाई यहाँ बोलाई हाल त ! हो, उसलाई यो राजनीति गर्न लगा । कुरो बुझिस् पाँडे, ऊ चितौने अब भने तिमी बाबु छोराले जन्मभूमिको उपयोग र गुन नेपाल आमालाई तिर्ने भयौ । यो सङ्घीयतालाई कुल्चेर आ–आफ्नो भूमिको माग माग्ने ट्रेनिङ म तँलाई तेरो भूमि र तेरो पढेको मूर्ख छोरालाई उसको भूमि ! साम–दाम दण्ड भेद ! पैसा पावर र पद यी तिनवटा कुरोको चुरो बताई दिउँला हुन्न ? फेरि मैले भने बमोजिम गर्नु पर्छ नि पाँडे बुझिस् ?”
“गुरु यो त सरासर नेपाल आमा प्रति अन्याय भएन र ?” भन्न नपाउँदै गुरु बाघ गर्जंदा झै गर्जदै भने– “पाँडे ! यहाँ जसले जति धेरै धोका दिन्छ, जसले जति धेरै अन्याय गर्छ ! जसले जति धेरै तोडफोड, बन्द, हडताल गर्छ र जसले टेलिफोनका बुथ पड्काउने, बिजुलीका टाउर हान्ने, रत्नपार्कका बार भत्काउने, गाडी जलाउने, घर भत्काउने, बालबालिका, बृद्ध–बृद्धा, अनाथ आदि बस्ने चढ्ने गाडीमा बम पड्काउने गर्छ ऊ उति ठूलो नेता बन्छ । संसार जित्ने ब्रिटिसले हाम्रो देशको डाँडो काट्न सकेन । हाम्रा पुर्खाका रगत र पसिनाले सिँचेको भूमिमा वीर गोर्खालीका पाखुरा, खुकुरी र तरवारका दमले ! ढुङगा पल्टाएको भरमा भागेर फेरि फर्कने धृष्टता गरेनन् ! कत्रा–कत्रा महाशक्ति राष्ट्रले घुँडा टेक्यो तर हाम्रा पुर्खाको शानले आज संसारका धेरै देशमा गोर्खा सैनिक, गोर्खा पल्टनका नामले वीर सेना राख्ने गौरव बोकेका छन् ।”
“तर नेता बन्न त त्यो शानलाई एउटा पानमा बिक्री गर्न सक्नु पर्छ पाँडे । अनि बल्ल नेता बन्छस् । पाँडे अब अन्त हानेर वीर बन्ने जमाना गए, आफ्नै मुलुकमा टुक्र्याउँदै, तोडफोड गर्दै, आफ्नै टोल, गाउँ, जिल्ला हुँदै देश नाङ्गो बुङ्गो बनाउन सक्छस् र यी पढेलेखेकालाई यहाँ बस्न नसक्ने बनाउन सक्छस् हो । त्यति ठूलो पनि हुन्छस् र रेमीट्यान्स पनि त्यति नै धेरै भित्र्याउँछस् बुझिस् कुरा ?”
गुरुले अझ जोड दिँदै भने– “फेरि यो धोकाधडी, धरपकड, डड्याङ डुडुङ, भर्याङ भुरूङ, भ्रष्टाचार अत्याचार जब तेरो मुठ्ठीमा एकपटक आयो भने मान तँ सबैभन्दा ठूलो भइस् ठिटा ! तेरो नाम ठूलो नेतामा, पत्र–पत्रिकामा, अनि तँलाई यो मुलुकको प्रधानमन्त्रीले पनि गोप्य सल्लाह गर्न तेरै घरमा धाएन भने मलाई भन्लास् । तेरो महान् महान् वाणिको त्यो सत्य नाडीलाई कुनै मनुष्यले यहाँ अर्को ग्रन्थ पल्टाएर सत्य र असत्य, न्याय र अन्याय, धर्म र अधर्मको कसीमा खोजपड्ताल गर्ने फुर्सतै हुन्न । यहाँ कागले कान लग्यो भने सबैले कानै नछामी कागकै पछि दगुर्छन् । कान छाम्ने त यहाँ कसैको फुर्सतै छैन ! अब कुरो बुझिस् पाँडे ?”
“बुझेँ गुरु बुझेँ ।” मैले खुशी हुँदै जवाफ दिएँ । गुरुले भने– “अँ तेरो त्यो मुर्ख विद्वान छोरालाई विदेशी भूमिमा नसडा बरु यहाँ लडाउन तुरुन्त यतै ल्याइहाल ! त्यस मूर्खलाई यो राजनीतिको महासागरमा होमिहाल ! जसलाई मैले दिएको गुरुमन्त्रको सोमरसले लथपथ बनाएर पथपथ छिन्नभिन्नमा लीन बनाई हाल् । अँ आजैदेखि उसको चितौने कुण्डको नाम छोटकरिमा राख्न लगा ! जस्तै तेरो पाँडे कुमार राउतलाई पी के राउत भन्या झैं ! बुझिस् पी के ? उसलाई एक दुई वटा किताब पनि लेख्न लगा जसमा किताबको हेडिङ् होस् ‘फुटाऊ र राज्य गर !’
मैले खुशी हुँदै जवाफ दिएँ– “बुझे गुरु ! अब म बाटो लागेँ खुरु खुरु….।
हाल– अमेरिका
Subscribe
Login
0 Comments
Oldest







































