प्रा. कपिल अज्ञातप्रतिभाकी सरिता : हरिकला
हरिकला उप्रेती (वि.सं.२०३० भाद्र ३) नेपाली हास्यव्यङ्ग्य जगतले गर्व गर्नुपर्ने प्रतिभाको नाम हो । यो नाम तीव्र वेग लिएर ढोका ढक्ढक्याउँदै, आफैँ दैलो खोल्दै, एक पाइलो भित्र टेक्दानटेक्दै फैलिएर नेपाली हास्यव्यङ्ग्यको घरभित्र ढसमस भैसकेको छ । छोटो समयमा आफ्नो प्रतिभालाई तिखार्ने, फिजार्ने र गर्विलो तुल्याउने कार्य हरिकलाबाट भएको छ ।– (‘सोझा नारीका बाङ्गा कविता’ शीर्षक प्रथम महिला हास्यव्यङ्ग्य कविगोष्ठीमा (सिस्नुपानी नेपालको सक्रियता र साहित्यकार सुधा त्रिपाठीको संयोजकत्वमा (२०५७ मङ्सिर २९ गते) ‘अनुरोध’ शीर्षक कविताबाट हास्यव्यङ्य जगत्मा सशक्त ढङ्गले प्रवेश गरेकी हरिकला त्यसको ठीक आठ महिनापछि ५२ वटा हास्यव्यङ्ग्य कविताको सङ्ग्रह ‘उपद्रो’ (२०५८ आषाढ) लिएर प्रकाशनको उज्यालोमा देखापरिन् ।
जाँड, जुवा र आइमाईमा रम्ने पुरुषलाई झाँको झारेर ५ श्लोकको ‘अनुरोध’ मा बम्किएकी हरिकला त ‘उपद्रो’ मा आइपुग्दा नेपाली समाजका राजनीतिक, आर्थिक, शैक्षिक, साङ्गीतिक क्षेत्रका अनेकौँ विकृति र विसङ्गतिहरूलाई व्यङ्ग्यवाण प्रहार गर्दै ढ्याङ्ग्रो ठोकेर हप्काउन सक्षम भइसकेकी देखिइन् । कवितालाई माध्ययम बनाएर हास्यव्यङ्ग्य क्षेत्रमा सक्रिय हरिकला ‘उपद्रो’ को प्रकाशनपछि निवन्धलाई माध्यम बनाएर यस क्षेत्रमा सक्रिय रहिन्, केही समय विभिन्न पत्रपत्रिकामा (राजधानी, हिमालय टाइम्स, विश्व समीक्षा, राष्ट्रव्यापी खबरपत्रिका, अक्षर, सिटिजन भ्वाइस, पब्लिक मिरर) आफ्ना हास्यव्यङ्ग्य निबन्धहरू प्रकाशित गर्दै गइन् र ती निबन्धहरूको सङ्ग्रह ‘गोर्खेलौरी’ (२०६१) लाई बजारमा ल्याइन् । ३० वटा निबन्धहरू सङ्गृहीत ‘गोर्खेलौरी’ को २०६४ मा दोस्रो संस्करण पनि आयो । आज पनि उनी कविता र निबन्धद्वारा नेपाली साहित्यको भण्डार भरिरहेकी छिन् । निकट भविष्यमा नै उनका दुई कृति हास्यव्यङ्ग्य जगत्मा थपिने बलियो संभावना छ ।
साहित्य जीवनको समालोचना हो भन्ने अर्थमा नेपाली नारीहरूका लेखनीमा जीवन र जगत्को मूल्याङ्कन र व्यङ्ग्य अवश्य पनि पोखिएका छन् । तर हास्यव्यङ्ग्यलाई नै मूलध्येय बनाएर यस फाँटमा ओर्लिएका नारीहरू भने नेपाली साहित्यको इतिहासमा कम पाइन्छन् ।
प्राथमिक र माध्यामिक कालमा त सिलाखोज्दा पनि पाइँदैनन् । कतै पाइए पनि साहित्यको पछिल्लो युग, जसलाई हामी समसामयिक युगको नाम दिइरहेका छौँ– मा आइपुग्दा नारीहरूका कलम हास्यव्यङ्ग्य फाँटमा पनि दर्गुनथाले । वि.सं. २०४० पछि यो सक्रियता देखापर्न थालेको हो । साहित्यकार सुधा त्रिपाठीका निबन्धात्मक हास्यव्यङ्ग्य हुन वा हरिकला उप्रेतीका काव्यात्मक हास्स्यव्यङ्ग्य फाटफुट देखापरिरहे । यो फाटफुटको स्थितिबाट हास्यव्यङ्ग्यलाई नेपाली नारीहरूको लेखनीद्वारा सघनतातर्फ लैजाने सोचका साथ ‘सोझा नारीका बाङ्गा कविता’ शीर्षकमा वि.सं. २०५७ मङ्सिर २९ गते प्रथम महिला हास्यव्यङ्ग्य कविगोष्ठी रसियन कल्चर सेन्टर, कमलपोखरीमा सम्पन्न भयो ।
यो ऐतिहासिक कवि गोष्ठीमा २५ जना कवयित्रीहरूको सक्रिय सहभागिता रह्यो भने, ती कवयित्रीहरूका कविताको मूल्याङ्कनसहित कवितासङ्ग्रह नै सोही शीर्षकमा प्रकाशित पनि भयो । त्यही समयदेखि हरिकलाले हास्यव्यङ्ग्य सिर्जनामा आफूलाई समर्पित गर्न थालिन् र आज यस क्षेत्रमा सशक्त लेखकका रुपमा स्थापित भएकी छन् । त्यसैले पुस्तककार कृतिमा, नेपाली नारीहरूका बीच हास्यव्यङ्ग्य क्षेत्रमा जेठी साहित्यकारका रुपमा उनी आफ्नो स्थान बनाउन सक्षम भएकी छिन् ।
तर नारी साहित्यको कित्तामा मात्र उनी सीमित रहन्नन् । उनका प्रकाशित भइसकेका दुई कृति ‘उपद्रो’ हास्यव्यङ्ग्य कविता सङ्ग्रह (वि.सं. २०५८) र ‘गोर्खेलौरी’ (हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह (२०६१) को अध्ययनबाट उनलाई साहित्यक मूलधारमै सशक्त हास्यव्यङ्ग्य शिल्पीका रुपमा हेर्न सकिन्छ । पुरुष हास्यव्यङ्ग्यका दाँजामा उनी कतै पनि कम देखिन्नन् । उनका कृतिले उठाएका विषयवस्तुको गम्भीरता, भाषाको मनोरम प्रस्तुति तथा धारिलो व्यङ्ग्य उनका मुख्य सामथ्र्य र देन हुन् ।
‘उपद्रो’ की हरिकला
‘उपद्रो’ हास्यव्यङ्ग्य कविता सङ्ग्रहमा हरिकलाले आफ्नो युग र युगका फोहरहरूलाई टिप्दै तिनको वर्णन, विश्लेषण र विवरण प्रस्तुत गरेकी छिन् । फोहोरी राजनीतिक खेलहरूका दुर्गन्धहरूले समाजमा परेको कुप्रभावलाई आफ्ना व्यङ्ग्यवाणद्वारा मूर्छित तुल्याएकी छिन् । अनावश्यक आयोगहरूको गठन, भ्रष्टाचार, गरिवी निवारणका बेकम्मा योजनाहरू, नेपाल बन्दको अत्याचार, महँगी, विसङ्गत विधेयकहरू विपक्षको कुर्सी मोह, अप्ठ्यारो प¥यो कि मध्यावधि जस्ता पक्षहरू सशक्त ढङ्गमा प्रस्तुत भएका छन् ।
‘उपद्रो’ मा विषय, भाषा र हास्यव्यङ्ग्यको सन्तुलन सकेसम्म मिलाउन खोजिएको छ । यद्यपि बढी अक्रोशमा जेलिएर विरोधात्मक, प्रतिक्रिया, अझै भनौ ठाडो व्यङ्ग्यको स्तरमा पनि पुगेका ठाउँहरू भेटिन्छन् । आफूले भोग्नु परेका ज्यादतीहरू विरोधात्मक रुपमा उपस्थित हुनु अस्वाभाविक पनि त होइन । त्यसैले हास्यव्यङ्ग्यको सन्तुलन भन्दा व्यङ्ग्यका कोर्राहरू ‘उपद्रो’ मा बढी बर्सिएका छन् ।
कविताका विविध लयहरूमध्ये लोकलय, गद्यलय र गीतिलयलाई वरण गरिएको यस कृतिमा भाषिक मिठासका लागि प्रसस्तै अनुप्रासीय शब्दालङ्कारहरूको प्रयोग गरिएको छ । त्यस्तै नेपाली जिब्राले उच्चारण गर्ने र नेपाली समाजमा भिजेका अङ्ग्रेजी शब्दहरूको प्रयोग पनि भेटिन्छ । ‘उपद्रो’ का विविध आकर्षणमध्ये भाषिक आकर्षण एकातिर छ भने, अतित र भविष्यभन्दा वर्तमान समयका अनगिन्ति बेथिति र वेरीतिको क्रमबद्ध सूचीकरण अर्कोतिर पाइन्छ । ‘उपद्रो’ को अध्ययन गरेपछि यस्तो लाग्छ यो हाम्रो युगको ‘दैनिकी’ हो, जहाँ आफूले बिर्सेका कुरा पनि भेटिन्छन । त्यसैले यो कृति नेपाली समाजको एक कालखण्डको इतिहास हो । यस्तो इतिहास जहाँ जनमानसले मन नपराएका पक्षहरू उल्लेख गरिएको छ । त्यस्तो इतिहास नेपाली समाजमा नघट्नु पर्ने, तर घटित भएको छ । आफूले बाँचेको वर्तमान युग र यस युगका चरित्रहरू यस कृतिमा उपस्थित छन् । त्यसैले समष्ठिमा भन्नुपर्दा ‘उपद्रो’ नेपाली समाज, संस्कृति र भूगोलको सङ्ग्रहालय बन्न पुगेको छ ।
जीवन र जगत्को एक कालखण्डलाई प्रस्तुत गर्ने यो हास्यव्यङ्ग्य कविता सङ्ग्रहलाई, कवितासङ्ग्रह नभनेर खण्डकाव्यको संज्ञा पनि दिन सकिन्छ । आफ्ना मनमा उठेका बग्रेल्ती भावहरूलाई अभिव्यक्त गर्ने क्रममा हरिकलाले अनायासै नेपाली समाजको एउटा समयलाई लिपिवद्ध गरिन् र अनायासै फुटकर कविताहरूको यो सङ्ग्रह, खण्डकाव्य भन्नलायकको बनेको छ ।
‘उपद्रो’ मा जे जति विषयहरूमाथि व्यङ्ग्य गरिएको छ, मूलतः ती विसङ्गति र विकृतिहरू हटून् र नेपाली समाज स्वच्छ होओस् यही कामना भित्री तहमा उद्देश्य बनेर बसेका छन् ।
‘गोर्खेलौरी’ की हरिकला
कविताबाट फड्को मारेर निबन्धहरूद्वारा आफ्ना हास्यव्यङ्ग्यात्मक भावहरू पोख्न थालेपछि हरिकलामा भएको हास्यव्यङ्ग्यात्मक क्षमताले सही गोरेटो समातेको अनुभूति त्यतिबेला भयो, जब उनले ‘गोर्खेलौरी’का लागि भूमिकाका रुपमा केही लेखिदिन उनका निबन्धहरू मलाई सुम्पिन् । मूर्धन्य हास्यव्यङ्ग्यकार भैरव अर्यालका निबन्ध पढेपछि त्यही मिठास, सायद त्यसपछिका हास्यव्यङ्ग्यकारहरूबाट पाउन सकिएको रहेनछ, हरिकलाका निबन्ध पढ्न थालेपछि त्यही सुस्वाद दोहोरिएर हो कि, एकै बसाईमा सबै निबन्ध पढिसकेँ र उनलाई फोन गरेर भनेँ– तिमी भैरव अर्यालकी छोरी कि नातिनी ? उनी हाँसिरहिन्…।
‘गोर्खेलौरी’ भित्र पसेपछि सबैभन्दा दङ्ग पार्ने पक्ष हो भाषा । शब्दालङ्कारको अनुप्रासीय झिलिमिली र अर्थालङ्कारका उपमामूलक अलङ्कारका अनुकरणीय सुन्दरताको जति प्रशंसा गरे पनि पुग्दैन । भाषाका सम्बन्धमा ‘गोर्खेलौरी’ को भूमिकामा आफैँले लेखेका हरफहरू दोहोरयाउँदै भन्छु– ‘विषयवस्तुलाई अथ्र्याउन होस वा कुँद्न शब्दहरूको सजावटमा गोर्खेलौरीका निबन्हरूले भैरव अर्यालका निबन्धहरूको संझना गराउँछन् ।’
हास्य र व्यङ्ग्यको सन्तुलन गराउन, स्थानीय रङ्ग प्रदान गर्न, चरित्रहरूको स्पष्टताका लागि वा शीर्षकहरूको उपयुक्तता प्रर्दशन गर्न शब्दसंयोजन र व्यवस्थापन साह्रै सन्तुलित देखिन्छन् । त्यस्तै उखानको बखान जति गरे पनि नपुग्ने गरी उचित अर्थ र व्यङ्ग्य प्रदान गर्न सुन्दर पुष्पहरूको सङ्कलन र सजावट सरह प्रदर्शित भएका छन् ।
कविता र निबन्धको नाता सहोदर दाजुभाइको हुन्छ । हरिकला कविताबाट उठेर निबन्धमा पुगेकी हुन् । अतः कविताले पनि उनलाई निबन्ध लेख्दालेख्दै टिपेर लैजाने गरेको उनका निबन्धहरूमा देख्न पाइन्छ । यस्ता बखतमा त उनी झन् पाठकको हृदयमा डेरा जमाउन पुग्छिन् । ‘‘मान्छेहरू आफ्नै लासहरूको भ¥याङ चढेर विजय उत्सव गरिरहेका छन् । बहादुरी र पुरुषार्थ देखाउने पुण्यभूमि, शान्तिक्षेत्र नेपाल भैसकेको छ । त्यसैले जुधौँ, जुधाऔँ, लडौँ, लडाऔँ, मारौँ, मरौँ खुलेआम पर–जा–तन्त्रको सदुपयोग गरौँ ।’’ (गोर्खेलौरी- २०६१) यो कविताले गाँजेको एउटा नमूना हो ।
कतै विवरणात्मक, कतै वर्णनात्मक त कतै पत्रात्मक, कतै पुराणवाचन ढाँचा त कतै आत्मालापी आलाप, कतै संस्मरणात्मक त कतै आख्यानात्मक लेखनी ढाँचाले भाषा भावानुकुल र सुन्दर बनेको ‘गोर्खेलौरी’ भित्र नवीन शब्द निर्माण प्रक्रिया पनि देखिन्छ । ‘कोदरस’ (कोदाको जाँड) ‘भाप्रमने’ (भावी प्रधानमन्त्री महासंघ नेपाल) शीर्षकका निबन्धले हरिकलाको प्रतिभालाई तिखार्ने काम गरेको छ ।
आफ्नो परिवार, छरछिमेक, गाउँ, राष्ट्र र विश्व एउटा व्यक्तिले फैलने क्षेत्र यिनै हुन् । यी क्षेत्रमध्ये हरिकला आफ्नो समाज र राष्ट्रबाट बाहिरिएर गएकी छैनन् । लेखनीको विषय नेपाली समाजमा यतिविघ्न छन् कि नेपाली समाजबाट बाहिर पुग्नै परेको छै्रन । नेपाली समाजका रिकुटे संस्कृति, गएगुज्रेको शिक्षा, नेताहरूका छेपारे रङ्ग, मर्यादाविहीन संविधान, कानुनविहीन राज्य, उमेर ढाँट्ने प्रवृत्ति, गाईको दूधभन्दा रक्सी नै प्रिय, विज्ञापने युग, काठमाडौँका घरधनीको फूर्ति, माओवादी र सरकारबीचका नाटकीय वार्ता, घरखेत सिध्याएर विदेशिन रौसिने तरुणपुस्ता, गृहयुद्धले उजाडिएको नेपाल, काम न काजका सुन्दरी प्रतियोगिता, सरकारमा बस्नेको बहुरुप, अशिक्षित नेताहरूको विगविगी, नेपालभित्र मनाइन थालेका अनेकौँ नयाँवर्षको लहर, नक्कली सर्टिफिकेटको राज्य, अङ्ग्रेजी जीवनशैली, संविधानको धारा १२७ को मनपरी प्रयोग आदि–आदि अनेकौँ विकृति नेपाली मनले मन नपराएका बहहरू ‘गोर्खेलौरी’ का विषयहरू हुन् ।
विश्वग्रामको युगमा यी समस्या अन्य समाजका पनि साझा होलान् । तर नेपाली समाजलाई नै विषयको केन्द्रविन्दु बनाइएको छ । हास्यव्यङ्ग्यको एउटा सीमा नै भनौँ, समय निरपेक्षभन्दा समयसापेक्ष विषयनै यसका लागि बढी उपयुक्त हुन्छ, त्यसैले ‘गोर्खेलौरी’ मा पनि समयसापेक्ष विषयहरू आएका छन् । ‘उपद्रो’ का केही कमीहरूलाई हरिकलाले ‘गोर्खेलौरी’ मा सुधार गरेकी छन् । सोझो विरोधात्मक शैलीबाट हटेर हास्यव्यङ्ग्यकै पुट दिँदै कलात्मक प्रतिक्रियासहित अघि बढेको देखिन्छ । विषयकै सन्दर्भमा भनौँ– विषयहरू ‘उपद्रो’ कै दोहोरिएका छन् । कवितामा प्रस्तुत विषय निबन्धमा आउँदाको रमाइलो एकातिर भए पनि उही विषय दोहोरिनुभन्दा अर्को विषय समातेको भए राम्रो हुने थियो भन्ने लागिरहन्छ ।
भाषा र विषयवस्तुहरूको स्तरीयता ‘उपद्रो’ मा भन्दा निकै राम्रो भएको ‘गोर्खेलौरी’ मा तुलनात्मकरुपमा हास्यको मात्राले वेग हान्न सके पनि व्यङ्ग्य नै तीव्र देखिन्छ । सायद, हाँस्ने र हँसाउने अवकाश आजको मान्छेमा कम भएर हो कि ?
हास्यव्यङ्ग्यमा अश्लीलताले बढी स्थान पाउने परम्परा भए पनि हरिकलाका निबन्धहरू अध्ययन गरेपछि श्लील हास्यव्यङ्ग्य पनि लेख्न सकिने रहेछ भन्ने दृष्टान्त पाइन्छ ।
हरिकलालाई नारीहरूका सामाजिक अल्झोहरूलाई पन्छाएर सङ्घर्षका साथ कसरी अघि बढिरहेकी छिन्, त्यसलाई निरन्तरता दिएर अझ परिष्कृत र कलात्मक तथा निजी मौलिकतासहित अघि बढिरहिन् भने सफलताका अग्ला–अग्ला शिखरहरू छुन सक्नेछिन् । शुभ–बन्दना । भैरव पुरस्कार गुठीले प्रदान गरेको ‘भैरव प्रतिभा पुरस्कार’ द्वारा सम्मानित भएकोमा हरिकलालाई अनेकानेक बधाई । तथा भैरव पुरस्कार गुठीलाई धन्यवाद ।
भैरव स्मारिका(२०६५)
Subscribe
Login
0 Comments
Oldest





































