सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

ऐँजेरू

Nepal Telecom ad

ऐँजेरू रुख तथा वोट–विरुवामा लाग्ने एक प्रकारको रोग हो । यो रोग अहिले रुख र बोट विरुवाको सीमा नाघेर एक मात्र बुद्धिमान प्राणी अर्थात मान्छेकै वुद्धि र विवेकमा पलाउन लागेको छ । वुद्धि र विवेक बस्ने घैँटामा च्याउ र झ्याउरुपी ऐँजेरू पलाएपछि बाँकी अरु कुराको के आस पो गर्न सकिन्छ ? बोट–विरुवामा लाग्ने ऐँजेरूको नालीबेली बाली विशेषज्ञले बताउँछन्, म त खालि मानिसको बुद्धि र विवेकमा लाग्ने ऐँजेरूका बारेमा केही बताउने सुर कसेर कलम समाती रहेको छु ।

हुन ता लेखुवाहरूको निम्ति कलम नै बुद्धि हो र कलम नै विवेक हो । हिजोआज कलममा पनि ऐँजेरू लाग्न थालेको छ । बोट विरुवामा ऐँजेरू लागेपछि राम्रो फल नलागे जस्तै ऐँजेरू लागेको कलमले पनि राम्रो रचना सिर्जना गर्न सक्दैन । एउटी आमाले नवजात शिशुलाई जन्म दिनु र एउटा कलमले सुन्दर रचना सिर्जना गर्नु उस्तै हो । तर जब कलममाथि ऐँजेरूले आक्रमण गर्दछ तब लगभग थारो बस्दछ कलम । राजनीतिमा लाग्ने ऐँजेरू पनि झनै बढ्ता खतरनाक सावित हुँदै आएको छ । ऐँजेरू लागेपछि कलम त थारो मात्रै बस्छ तर राजनीति भने जनताको निम्ति तगारो बन्न पुगिरहेको हुन्छ ।

राजनीतिमा समेत ऐँजेरू ? सुन्दा जोसुकैलाई उदेक लाग्न सक्छ । कुरो उदेक लाग्दो खालकै छ । धान, मकै वा फलफूलमा पतेरो लागे जस्तै मानिसको बुद्धि र सुद्धि दुवै ढाक्ने गरी ऐँजेरू लागिरहेको छ । राजनीति मानवीय बुद्धिको उपज हो । बुद्धि नै बिग्रिएपछि उसको राजनीति बिग्रिनु कुनै ठूलो कुरा पनि भएन । त्यसकारण ऐँजेरू अहिले कलममा छ, राजनीतिमा छ, अर्थतन्त्रमा छ, र शैक्षिक तन्त्रमा छ । रुख र बोट–विरुवाको वनमा मात्र होइन अब त ऐँजेरू तनमा छ र जनजनका मनमा फैलिएको छ । आउनुस्, लाजले कुरीकुरी लाउने त्यही ऐँजेरूका केही जराजुरी केलाउँ ।

कलममा ऐँजेरू सल्किएपछि अक्षर लेख्न छोडेर क्षर मात्र लेख्न थाल्छ । अथवा आँखै खत्तम हुन्छ र अक्षरलाई पनि क्षर मात्र देख्न थाल्छ । मुर्दालेखन ऐँजेरू लागेको कलमको मूल विशेषता हो । यस्तो कलमको ममता कुल्चिएर ममाइँत्व र मुख मारेर मुख्र्याइँ छाद्नु उसको मूलमन्त्र बन्न पुग्छ । ऐँजेरूको जातै पराश्रयी हो, जसको आप्mनो पौरख र पराक्रम हुन्न । ऐँजेरू लागेपछि कलम परचक्रीको पाउको प्रशंसा पर्गेल्न पारङ्गत हुन्छ । स्वभाविकै हो यस्तो कलम साह्रै सस्तो मोलमा किनिन्छ र बेचिन्छ पनि । आजको दुनियामा कलमको किनवेच कार्य साहै्र सरल र सुगम बनेको छ । ऐँजेरूले जरा नगाडेको कलम पाउन पो मुस्किल छ त, एक गिलास जाँड र एकटुक्रा मासुको चारा फाल्नुस् त, ऐँजेरूले ग्रस्त कलम दौडेर तपाइँको पाउ मुसार्न आइपुग्छ ।

धर्तीको सवभन्दा नालायक मानिसलाई आसमानमा उचाली रहेको छ ऐँजेरूग्रस्त कलमले । राष्ट्रको गौरवलाई गोवर र हिलोमा पछारी रहेको छ ऐँजेरूग्रस्त कलमले । कलमको काम त सुन्दर कविता लेख्नु हो तर जुठो–पुरो र गन्धा फोहरमा लुट्पुटिएर बान्ता लेखी रहेको छ कलमले । न्यायको पक्षमा अग्राख भएर उभिनु पर्ने कलम अन्यायी ढोंगी र बेइमानहरूको ईशारामा पुत्तली बनेर नाचिरहेको छ कलम । ऐँजेरू लागेको कलम शक्तिको पछि लाग्छ र भतिm–गीता लेख्छ । नृशंस दमनको पक्षमा विष वमन गर्छ र त्यसैलाई सुन्दर सिर्जना हो भन्छ । आततायीहरूको घोर समर्थनमा मसी खर्च गर्छ र सिर्फ स्तुतिमै सारा जीवन व्यतित गर्छ । यसै गरी ऐँजेरू लागेको कलमले दानापानी जुटाएर पापी पेट पाल्ने गरेको छ । स्वाभिमान सुकेर त्यान्द्रो बनेपछि अभिमान उसको प्रिय स्वभाव बन्नु अस्वाभाविक होइन ।

स्वघोषित सरस्वतीका वरद्पुत्रहरू आजकाल ऐँजेरू सूत्र घोकेर प्रतिभालाई खुल्लमखुल्ला बजारमा बेचिरहेका छन् । यो नै ऐँजेरू लागेको कलमको कलापूर्ण करामत हो । अन्नदाताहरूको भजन लेख्नु यस्ता कलमहरूको दिनचर्या बनेको हुन्छ । मूर्ख मालिक र हरामी ख्वामितहरूको महात्म्य बखानेर मोजमस्तीको जीवन बाँच्ने अभीष्ट नै यसखाले कलमहरूको प्रवृतिगत विशेषता हो । लेखक कविहरू राष्ट्रका गहना हुन् भनिन्छ । मलाई लाग्छ उनीहरू गहना मात्र होइनन्, गहनाका बोटहरू हुन् र सिर्जनाका ओठहरू हुन् । जब उनीहरूको सिर्जनात्मक चिन्तन र अभिव्यक्तिमा ऐँजेरू पलाउँछ तब कलम लर्बराउनु र चाहिँदा नचाहिँदा कुरा बर्बराउनु अनिवार्य बनिदिन्छ ।

ऐँजेरू फेदमा हुन्न, टुप्पो र हाँगाबिँगा यसको उद्गमस्थल हो । राजनीतिको टुप्पो र फेद हुन्छ कि हुँदैन थाह छैन तर ऐँजेरूले आक्रान्त राजनीतिका हाँगा–बिँगा भने म प्रष्टसँग देखिरहेको छु । वर्तमान मुलुकको सर्वपक्षीय राजनीति ऐँजेरूग्रस्त बनेको छ । राजनीतिको बटवृक्षमा परजीवीरुपी ऐँजेरू तीन तमाससँग फस्टाएको छ । ऐँजेरू लागेको राजनीति दलीय दलदलबाट माथि उठ्नै सक्दो रहेनछ । हाँगाबिँगामा टाँसिएको ऐँजेरूले राजनीतिको ढाडै भाँची दिएको छ । ढाड भाँचिनुलाई हर खुस्कनु पनि भनिन्छ, ऐँजेरूका कारण राजनीति अहिले हर खुस्किएर आपाहिज बनेको छ । राजनीति स्वयं अपाहिज भएपछि राजनेताहरू सकुशल रहने कुनै गुञ्जाइस रहन्न । नेता नेतृत्वको प्रतीक हो तर राजनीतिमा प्रविष्ट ऐँजेरूको आक्रमणद्वारा नेतृत्वका शाखा प्रशाखाहरू क्यै गरे पनि, बच्न सकेका छैनन् । अनि मानसिकतामा ऐँजेरूले जरा गाडेपछि नेताका आँखामा आफन्तपन, मनमा धन, कानमा कुर्सी, विचारमा वैभव, सोचमा सुख–सुविधा र पौरख भनेकै पद सिवाय अरु केही देखिन्न । ऐेँजेरूग्रस्त मन जता र जहाँ पनि आफन्तकै बन देख्न पुग्छ । आँखामा ऐँजेरूले आक्रमण गरेपछि यस्तो हुनु स्वभाविकै हो । कुरा आँखाको मात्र होइन, ऐँजेरूग्रस्त अनुुुुहार भाका बदल्नमा पनि उतिकै सिपालु सावित हुँदै आएको छ ।

जुन मुलुकको राजनीतिमा ऐँजेरू आक्रमण चलिरहेको छ त्यो मुलुकको अर्थतन्त्र स्वस्थ रहने कुरै भएन । अतः अर्थतथन्त्र पनि ऐँजेरूग्रस्त छ । अर्थतन्त्रमा ऐँजेरू फैलिएपछि मिथ्याङ्कहरू पटापट तथ्याङ्कमा रुपान्तरण हुन्छन् र वास्तविकता झल्काउने चार्टहरू सफाचट बन्छन् । आर्थिक ठाँचा जतिसुकै आलाकाँचा भए पनि अर्थविदहरू सवै साँच्चा हुन् भनेर बक्न थाल्छन् । ऐँजेरूले अहिले आर्थिक सरचनाको पनि ढाड खुस्काइ दिएको छ । गजेटले बन्देज लाए पनि लाखौंको वजेट आफन्तको आर्थिक सहायतामा खर्च हुनुलाई अनर्थ मान्नुहुन्न । ऐँजेरूग्रस्त अर्थतन्त्रमा यस्तो अनर्थको कुरै गर्नु बेकार छ । कार त कार बरु पजेरो कारका कुरा गरौँ । लाखौँ रुपैयाँको राजस्व मारेर मारवाडीले सवार चलाउने पजेरोको ओसार–पसारले मुलुकको अर्थतन्त्रलाई कति प्रतिशत प्रभाव पार्यो त्यो त मिथ्याङ्विदहरूले अवश्य निकाल्लान् । मेरो विचार भने यो त हामी कुद्धु नेपालीले बुझ्नै पर्ने कुरा हो, मुलुकको सडकमा भन्सार सुबिधामा भित्र्याएका हजारौँ पजेरो कुदेको देख्दा कसले भन्न सक्छ यो कङ्गालीहरूको देश हो भनेर ?

वैदेशिक भिक्षामा अडेको यो मुलुकको शिक्षा पनि ऐँजेरूग्रस्त छ । ऐँजेरू शिक्षा आर्जन गर्नेहरू ऐँजेरूग्रस्त शैक्षिक स्थितिको बारेमा लामा लामा कार्यपत्र लेख्न सक्षम भएका छन् ऐँजेरूग्रस्त कलम । यसलाई उन्नति नभनेर के भन्ने ? म स्वयम् ऐँजेरू पढ्छु, ऐँजेरू लेख्छु र ऐँजेरू पढाउँछु । शिक्षा क्षेत्रमा उत्पादित भएको ऐँजेरू उत्पादनको म स्वयम्ं एउटा राम्रो उदाहरण हुँ । परीक्षा र पखाला सँगसँगै चल्छ । पखाला स्थगित नभए पनि बेला बेलामा परीक्षा स्थगित हुने गरेको छ । फेल हुने पास हुनु र पास हुने फेल हुनु कुनै अनौठो एवं अद्भूत कुरा हुँदै होइन ।

मुलुकका यी चार महत्वपूर्ण मेरुदण्डहरू यसरी ऐँजेरू आक्रमणले आक्रान्त बनेका छन् र साँच्चै मुलुक अहिले ऐँजेरूमय बनेको छ । मुलुकको बटवृक्षमा लागेको यो ऐँजेरूको झाङ फाल्ने ह्याउ र हिम्मत छ कसैको ?
०५३ असोज ७
जनघोषणा मासिक वर्ष १ अङक १

Fitkauli Publication Books comming soon
Nepal Telecom ad