डा. दामाेदर पुडासैनी किशाेरयक्ष प्रश्न : दुई
ऊ कार्टून हेर्छ
मोटु–पत्लु जेनेरेसको
मेरो सानो छोरो
आकाशमा उडिरहेका चराहरूलाई
आफ्नो सानो औँलाले देखाउँछ
र कार्टुनीकरण गर्छ तुरुन्तै
हम्मे हम्मे पार्छ मलाई
उसकी आमालाई हम्मे हम्मे पार्छ,
ऊ सधैं सधैं प्रश्नवाचक अनुहार लिएर उभिन्छ
मेरै अघिल्तिर
म सधैं सधैं नाजवाफ हुन्छु ।
स्कुलबाट फर्कंदा
जुन फुल्दै गर्दा माथि आकाशमा
मानिसहरूका हातमा आगो फुलेको देख्छ
उसले कतै पढेको प्रमिथसको आगो
किन झुटको साक्षी बसीरहेछ ?
ऊ बुझ्ने भएपछि सोच्छ होला
यी तथाकथित आधुनिक प्रमिथसहरूको हातमा यो आगो
बेअर्थको लाग्न सक्छ उसलाई
जस्तो कि
आफनो टेडीलाई
जाडोबाट बचाउन
लगाइदिएको छ उसले आफ्नै कमिज…
प्रत्येक दिनको अग्निश्पर्शले अभ्यस्त छ मेरो सड़क
अभ्यस्त छौँ हामी,
सानो छोरो त्यही सडक टेकेर सपना लखेट्छ ।
कहिलेकाहीँ बलेनन् भने टायरहरू
सोध्छ–
“आज यो सडकमा किन केहि गन्हाउँदैन बाबा ?”
देखेन भने मान्छेहरूको जुलुस
सोध्छ–
“बाबा ! खोइ त आज अङ्कलहरूको एसेम्ब्ली ?”
अवाक् भएर जो कोही बाबु
मर्न सहज ठान्दो हो
देखाउनु भन्दा विदीर्ण र घिनलाग्दो देश
आफ्ना सन्ततिलाई
टिभीको रिमोट समातेर
आँखैमा टाँसेर स्क्रिन
छोरो जब चिच्यायो एक्कासी
“कस्तो खतरा रेस्लिङ् !
ग्रुप फाइट– चीयर स्मास् ! वाउ !”
कसरी भनुँ म छोरोलाई
त्यो रेिस्लङको रिङ होइन
मेरो देशको संसद हो ।
ए चीयर स्मासर !
ए कुर्सी भाँच्ने दाइ !
तिमीले कुर्सी भाँचिरहँदा
भाँचिएको हाम्रो मन पनि हो
भाँचिदा भाँचिदा एकतमास…
पहिरो मुनिको घर भएका छौँ हामी
अब भन्देऊ
कुर्सी भाँच्ने दाइ
म मेरो छोरोलाई के जवाफ दिउँ ?
म नाजवाफ छु ।
Subscribe
Login
0 Comments
Oldest






































