साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यो कथा सिंहदरबार जाला !!

Nepal Telecom ad

एकादेशमा क्या…, एउटा गाउँ थियो रे ! सुदूरपूर्वको त्यो गाउँमा दुई जना बूढाबूढी बसोबास गर्ने गर्थे रे ! उनीहरूको एक मात्र छोरो थियो रे । साह्रै दुःख गरेर उनीहरूले आफ्नो छोरोलाई गाउँकै स्कुलमा पढाएछन् । छोरो गोफ्ले भने पढाइमा नाम जस्तै गोफ्ले–गोफ्ले नै परेछ । गोफ्ले हरेक कुरामा फूर्तिलो र बोलक्कड थियो रे । सानैदेखिको उसको फूर्तिफार्ती र गफगाफले गाउँभरीको रोज्जा केटो बनाएको थियो रे । तर पनि स्कुले जाँचमा भन्ने ऊ कहिलै अग्गा हुन सकेनछ । गफैको भरमा ऊ जो कोहीलाई एकै छिनमा साथी बनाउँथ्यो। तर एस.एल.सी.को परीक्षामा उसको फूर्तिफार्ती र गफगाफले केही नाप्न सकेनछ । परीक्षामा फेल भएछ । गोफ्लेले फेरि जाँच दिएछ, फेरि पनि फेल भएछ । अनि फेरि दिएछ, फेरि पनि फेल भएछ । छैटौँ पटकको परीक्षाको परिणाममा पनि असफल भएपछि आजित हुँदै गोफ्लेले हार स्वीकार गरेछ र परीक्षा दिनै छोडेछ । वि.ए. र एम्.ए. पढिसकेका जवाँमर्द समेत बेरोजगार बस्नु परेको देशमा गोफ्ले जस्तो अन्डर एस्.एल्.सी.वालाले जागिर खोज्नु स्यालको सिङ खोज्नु जस्तै थियो । त्यसैकारण पनि उसले घरमै बसेर आफ्नो भएको थारै जग्गामा खनीखोस्री गर्दै बूढाबूढी बाउआमालाई पाल्न थालेछ ।

गोफ्लेको घर नजिकै सानो गाउँले बजार थियो र बजारको एक छेउमा गाविस भवन थियो । थोरै जग्गाजमीन, एक हल गोरु, दुई–तीनवटा बाख्रापाठा, विहानभरी घरेलु काममा लागे पनि दिउँसो गोफ्लेलाई फुर्सदै हुन्थ्यो । फुर्सदको समयमा ऊ बजारतिर जान्थ्यो । गाविसको कार्यालयतिर यसो पस्थ्यो र गफगाफ गरेर दिन बिताउँथ्यो। गोफ्लेका दिनहरू यसै गरेर बितिरहेका थिए । एक पटक गाविस भवनमै जनस्वास्थ्य शाखाको आयोजनामा सात दिने एउटा तालीम सम्पन्न भएछ । प्राथमिक स्वास्थ कार्यकर्ता उत्पादन गर्ने लक्ष रहेको उक्त तालीममा गोफ्लेको पनि सक्रिय भहभागिता थियो । ओरिपरि बुट्टा भरेको प्रमाणपत्र पाएर गोफ्ले दङ्ग परेछ ।

त्यो एकादेशमा प्रजातन्त्र पुनस्र्थापना भएको आठौँ वर्ष पुग्दा नपुग्दैको एक दिन गोफ्लेको गाविसमा स्वास्थ्य चौकी स्थापना भएछ । अरु गाउँबासीसँगै गोफ्ले पनि खुसी थियो । त्यसपछि अरु दुईतीन महिना बितेछन् । स्वास्थ्य चौकीमा एउटा पिउनको दरबन्दी आयो रे भन्ने गाईंगुईं चल्दानचल्दै एक दिन वडा अध्यक्ष साउती प्रसादले गोफ्लेलाई सुटुक्क भनेछन् “ए गोफ्ले, मौका आउँछ पर्खदैन, तालीम–सालिम पनि लिएकै छस्, लहै चान्स तेरै छ ।” गोफ्लेले कुरा बुझेछ र दौडिदत्त हुँदै स्वास्थ्य चौकी पुगेछ । चौकी इन्चार्ज खिलखिलानन्दलाई नमस्कार गर्दै नयाँ आएको पिउनको दरबन्दीमा आफूलाई नियुक्त गर्न विनम्रतापूर्वक अनुरोध गरेछ । खिलखिलानन्द अलिकति खिलखिलाएछन् र नियुक्तिका निम्ति गोफ्लेलाई सदरमुकाममा रहेको जिल्ला जनस्वास्थ्य कार्यालयमा जाने सल्लाह दिएछन् । पन्द्रबिस जना स्थानीय पठित–अपठित बेरोजगार युवाहरूले आँखा गाडेको त्यो नयाँ दरबन्दीमा गोफ्लेलाई खुसुक्क नियुक्त गरेर आफ्नै जागिरमाथि खतरा निम्त्याउन खिलखिलानन्द तयार भएनछन् । सत्तापक्ष र विपक्षी दुवै दलका स्थानीय नेताहरूद्वारा घुमाउरो पारामा आएका धम्कीहरूको सामना गरिहाल्ने मुड र मनस्थितिमा उनी थिएनछन् ।

हातमा टोपी लिएर गोफ्ले भोलिपल्टै जिल्ला जनस्वास्थ्य कार्यालयको ढोकामा हाजिर भएछ । गफैको मेसो र निकै मेहनत पछि उसले जनस्वास्थ्यका जिल्ला हाकिम डा. हिमचिम कान्तसँग भेट गर्ने अवसर पाएछ । उनले गोफ्लेको कुरा खुबै गौर गरेर सुनेछन्, दूरवर्ती गाउँबाट भेट्न आउनुको कारण बुझेछन्, उसको मनसाय र उद्धेश्य थाह पाएपछि लामो सुस्केरा तान्दै गोफ्लेलाई अथ्र्याएछन्– “हेर भाइ, यो बेला अलि यस्तै छ, सरकार खस्ने हो कि बस्ने हो केही ठेगान छैन, मन्त्रीज्यूका आफन्तहरूले दपेटी रहेका छन् । तिमी ती आफन्तहरूको आफन्त हो कि विरोधी यो पनि थाह छ्रैन । मैले गरेर केही हुने पनि हैन ।” हाकिम हिमचिम कान्तको यस्तो आउँठेबाउँठे कुरा सुनेर गोफ्ले छक्क परेछ । अनि स्वरलाई अलि कडा र खरो पारेर भनेछ– “त्यसो भए सर, मेरो यो काम कहाँ जाँदा हुन्छ, तपाईंले देखाइ दिनोस्, म त्यहीं जान्छु ।” बिनामेसै आइलागेको यो काउसो पन्साउने जुक्ति हिमचिमकान्तले निकाली हालेछन्– “हेर भाइ, तिम्रो यो काम स्वास्थ्य निर्देशनालयबाट हुनसक्छ कि, तिमीले तिम्रो दलको नेतासेतालाई भन्नु पर्ने कुरा…. खै म के भनौं ? तै पनि एक पटक निर्देशनालयको कार्यालय पुगिहेर न है भाइ ¹” उनले यसो भनिदिएछन् ।

गोफ्ले थोत्रो बस चढेर रन्थनाउँदै अर्को सा“झ घर आइपुगेछ । बृद्ध बाबु आमाले उसलाई सुनाएछन्– गोफ्लेले स्वास्थ्य चौकीमा जागिर पाउने भयो रे भन्ने हल्ला गाउँभरी चली सकेको रहेछ । ऊ लरतरोे चोटले हिम्मत हार्नेवाला पनि थिएन । तीन रुपैंया दरको ढ्याके ब्याज नै सही, गोफ्लेले पुगनपुग हजार रुपैयाँ क्रण काडेछ र भोलिपल्ट बिहानै विराटनगर जाने एक्सप्रेस बस चडेछ । त्यो दिन क्षेत्रीय निर्देशनालय खोज्दैमा बितेछ । ऊ यो सहर कहिले आइपुगेको थिएन– यताबाट उता त उताबाट यता गदागर्दै कति चोटी त “म हराएँ कि” भन्ने समेत सोच्न पुगेछ । आखिर रात पर्यो र सस्तोखाले लजमा गोफ्लेले त्यो रात काटेछ । भोलिपल्टको पनि विहान भरी भौतारिएपछि उसले खोजेको कार्यालय फेला परेछ । कार्यालय फेला पार्न गोफ्लेलाई जति मुस्किल परेको थियो, त्यो भन्दा बढ्ता कार्यालयमा विराजमान निर्देशक हो कि उपनिर्देशकलाई भेट गर्न मुस्किल परेछ । घरि मिटिङमा, घरि बैठकमा, घरि को पस्नु भएको छ, घरि कता बस्नु भएको छ भन्दै पिएले लन्ठ्याउनुसम्म लन्ठ्याइ दिएछ । झण्डै दुई घण्टाको कुरेच काटेर बल्लतल्ल हाकिमको कोठामा पस्ने अनुमति गोफ्लेले पाएछ । आफू आउनुको उद्धेश्यको आधा अंश पनि सुनाउन नभ्याउँदै हाकिमले गोफ्लेलाई भनेछन्– “भाइ, तपाईं भोलि आउनोस् है, मेरो जरुरी काम छ, हेर्नोस् न, यसै हप्ता मन्त्रीज्यू आउँदै हुनुहुन्छ …. तपाईंको के कुरा हो भोलि गरौँला ।” यसरी भोलिको झोली थापेर गोफ्ले कोठाबाट बाहिरिएछ ।

दिनभरी यताउता डुलेर रात हिजोकै लजमा बिताएछ र भोलिपल्ट विहान दश बजे नै ऊ पुनः अफिस पुगेछ । हिजोको हाकिमसँग उसको भेट भएनछ । अर्को हाकिम हुमकान्तसँग आफ्नो विवरण बृतान्त बताइ सकेपछि फेरि अर्को पटक तीन छक्क परेछ । “हिजोआज सोझै मन्त्रालयको आदेश निर्देश नभई तलतल केही हुँदैन भन्ने कुरा भाइ जस्तो मान्छेलाई थाह हुनु पर्ने हो । यहाँबाट कुनै उपाय छैन । तै एक पटक राजधानी गएर यसो कोही नेता मार्फत कुरो मिलाउनु भए राम्रै हुन्थ्यो कि !” हाकिम हुमकान्तले पनि हिमचिम प्रसादकै नक्कल गर्दै भनिदिएछन् ।

काटेको कुखुरा छट्पटाए झैं गोफ्ले छट्पटाएछ । तर छट्पटाएर मात्रै हुृने कुरा केही थिएन । फाँदमा थोरै खर्चबर्च छँदैं थियो, ऊ त्यतैबाट राजधानी हानिएछ । यति ठूलो राजधानी ऊ कल्पनामा पनि पुगेको थिएन । ठ्याक्कै एघार दिन ऊ राजधानीमा भौतारिएछ । स्वास्थ्य विभाग पनि पुगेछ, महानिर्देशकलाई पनि भेटेछ, स्वास्थ्यमन्त्रीको पिएसँग त उसको झगडै परेछ । अन्तमा पिएले जिल्लाकै हाकिम हिमचिम प्रसादलाई तिम्रो बारेमा फोनमा भनिदिइ सकेँ, लौ उहीँ गएर भेट भनेछन् । त्यसपछि खर्चबर्च निख्रिसकेको गोफ्ले नानाभाँतीका हण्डर खाँदै आफ्नै जिल्ला फर्किएछ, सदरमुकाम पुग्नुभन्दा पहिले बूढा आमाबाबुको के गत भयो होला भन्दै घरतिर निस्किएछ । गाउँ पुग्नासाथ गोफ्लेलाई थाह भएछ– स्वास्थ्य चौकीको पिउन दरबन्दीमा लौरे तिवारीको छोरो तेजनाथ नियुक्त भई काम गर्न थालेको एक हप्ता भइसकेछ । सबै भन्छन्– तेजनाथ हालका स्वास्थ्य मन्त्रीकी श्रीमतीकी फुपूकी छोरीको भदा हो रे ! खैर ऊ जोसुकै होस् आखिर यो भने एकादेशको उहिलेको हैन बिलकुल अहिलेको कथा हो । त्यसैले सुन्नेलाई सुनको माला, भन्नेलाई फूलको माला, यो कथा सिंहदरवार जाला, कहिले सत्ता पक्षमा बसेर भत्ता खाला, कहिले विपक्षमा बसेर जोडीदेला गाला ।
हिमालय टाइम्स, २०५४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x