साइबर अपराध सम्बन्धी सचेतना सामग्री

को ठूलो ? ईश्वर ठूलो कि मनुष्य ?

Nepal Telecom ad

अहिले सम्मका रिषिमुनिले यस प्रश्नको सही जवाफ दिन सकेका छैनन् । तपाई ठूलो कि मपाइँ भन्ने प्रश्नमा भने मनुष्य र मनुष्य इतरका सबैका एक मत्तो जस्तै देखिन्छ । पुरान कुरान नियाल्दा, पशुपन्छी नियाल्दा पनि मेरा मनले भने एक मतोको टुङ्गो झिक्न सकेको छैन । न त मुत्यूपछिको अर्को संसार छ भन्ने कुरा पत्याउँछ, न छैन भनेर ढुक्कैसँग पुख्र्यौली संस्कार लत्याउँछ । एक मनले भन्छ जुनीका कुरा नहुनीका निम्ति बाँधिएको नियम हो । हुनेहरूले आफ्नो हुकुम दह्रो बनाउन तपाईको जुनी सोचेर सत्कर्म गरेको ठान्दै नठान्नु । उनीहरूले त आफ्ना निम्ति नै तपाई हामीलाई पैदा गरेको भन्दै हाम्रो श्रम मैदा मानेर रोटी बेल्दै, खाँदै खेल्दै आएका छन् ।

मनुष्यले अज्ञान र त्रासका खाडलमा खसेर नर्कको भुवरीमा फसेर रचेको काल्पनिक इश्वरसमेत मपाइत्वका पक्षमा देखेपछि नै भैरव र श्यामले मपाईका बारेमा लेख लेखे । मैले त भेटेरै सोधेको हुँदा ढुक्कै छु । यदि तपाईलाई पत्यार लाग्दैन भने उनीहरूलाई भेट्न जानुभए पनि विस्मात् मान्ने छैन । मपाईवादको विश्वव्यापी रुप ठम्याएर नै ठूलाठालूहरूको प्रार्थना¬–पुकार, सेवा–सत्कार गर्दै धुप चढाउने चलन चल्यो । समयको खेलमा राजाको शासन पनि नेतालाई नैवेध चढाउने र जनतालाई गीता पढाउने रीत मानिएन ।

कृष्णजीका लीला र गीताकाव्यसम्म पनि, लवकुश अर्थात्. कुसुण्डा बंशका पिता सम्झे पनि । देवासुर संग्रामको गर्भमा होस् वा मनुष्य मनुष्यका युद्धमा होस् वुद्ध र युद्धको द्वन्द्वमा होस् या प्रवुद्ध र पटमुर्खको द्वन्द्वमा होस् स्वच्छन्द विचरण गर्ने सोचाई नै म बन्दछ । अहं ब्रम्हास्मी ।

तै पनि मेरा मनको प्रश्न यथावत् छ मनुष्य ठूलो कि इश्वर ? मेरा बाबु बराजुले भन्दै आए–सारा सृष्टि–स्थिति, लय आलय रच्ने इश्वर ठूला । इश्वरका सामु मनुष्य जङ्गम सबै लुला । चित्त बुझ्दैन, काल्पनिक कुरा भन्दा त वास्तविकता पो ठूलो हुनुपर्ने । तपाई पनि विचार्नुस्त । जन्माउने आमा ठूलो कि कहिलेकाहीँ पापा दिने आपा ठूलो ? पढाउने लेखाउने गुरु माष्टर ठूलो कि ज्ञानभण्डार बनेको सास्तर ठूलो ? हुर्काउने हात ठूलो कि फुर्काउने बात ठूलो ? साथी ठूलो कि माथि ठूलो ? प्रकृति ठूलो कि पराक्रम ठूलो ? ज्ञान ठूलो कि ज्यान ठूलो ? जाति ठूलो कि देश ठूलो ? धर्म ठूलो कि मर्म ठूलो ? कर्म ठूलो कि शर्म ठूलो ? आगो ठूलो कि पानी ठूलो ? आदि–इत्यादि कुन ठूलो ?

लौ एकछिनलाई मानौ– पुख्र्यौली भनाई नै । धर्तिको यथार्थ भन्दा त आकाशको कल्पना ठूलो । कल्पनाको अनन्त आकाशमा मन जति छिटो उड्न सक्छ त्यति छिटो मान्छेका पुरुषार्थले बनाएको विमान उड्न सक्दैन । रकेटका लामा यात्राहरूले जब त्यलाई उछिन्न सक्दैन भने तब हामीले मान्नैपर्छ । नेपाली तुक्काले मुक्का हान्दै गौरवका साथ वेदपाठ गर्छौं । भुईको धुलो मनै हो ठूलो । मनले मानेको देवता झनै ठूलो । त्यसो हुँदा मनुष्यभन्दा देवता ठूला ।

हामीले कल्पनाका देवतालाई कल्पनाकै कार्चोपी भरेर विचित्रै बनाएका छौँ । हात्तिसुँढेदेखि बाधमुखेसम्म, सहस्रशीर्षा सहस्रपादा भन्ने गरेको त जगजाहेरै छ । विना हातेदेखि अनन्त हातेसम्म, लालगेडी तौलदेखि विशाल अनि सुडौल जीउसम्मका त थिए थिए, लिङ्ग र भग जोडेर पनि भगवान् मान्ने हाम्रो मन छ । भगलाई बाँध्न भगबान् भनेका हुन कि भगलाई मान्न भगमान भनेका हुन् कुरा अलि अद्भूत पनि छ । आफू झोपडीमा सिउसिउ गरे पनि इश्वरका निम्ति बौद्ध, पशुपति र अङ्कोरवाटका मन्दिर बनाएर सुनको छाना हाल्ने मनुष्य देख्दा छक्क लाग्छ । आफू अनिकालको चपेटामा पर्दा पनि घिउ तेल बालेर, खुवा हालेर हलुवा चढाउने मलुवा मन पनि मान्छेकै छ ।

कृष्ण मन्दिरको के कुरा त्यो त ढुङ्गे जगको निर्माण भने हुन्छ– ढुङ्गै ढुङ्गाबाहेक के पो छ र । तर स्वर्णयुगको सभ्यतामा बनेका सुनका मन्दिरले मान्छे निकै दयालु र दानशील प्राणी हो भन्न दर्शाएकै छ । पशुपतिका ढोका सुनचाँदीले सिँगार्ने अर्जेल हुन वा टन्डन ती त मनुष्य नै हुन् । कुनै कथाको अवतारी लामा होइनन् । इश्वरको घरगोठ सजाउने मानिस नै हो । तर ऊ कुनै ज्यालादारी सिकर्मी डकर्मी भएर काम गरेको होइन । साँच्चिकै भन्ने हो भने मान्छेले आफ्नो सांस्कृतिक सभ्यतामा जति श्रम, सिप, साधन, सम्पत्ति इश्वरको दरवार बनाउन लगाएको छ सायद त्यति अरु काममा लगाएको छैन । गणितशास्त्रको यत्रो विकास भएर पनि त्यसको गणना अझै भएको छैन । चर्च र मस्जिद, गुम्बा र विहार, गुरुद्वार र स्तूपका ढुकुटीको बहिखाता निरीक्षण–लेखापरीक्षण कसले गर्ने ? ‘दरवार र तरवारको हिसाब–किताव हुँदैन‘ सायद यसै भएर नै भनिएको हुनुपर्दछ । बुद्ध गन्न सक्ने मनले युद्ध गन्न सक्दो रहेनछ । युद्ध जो छ त्यसका सञ्चालक उही इश्वरलाई मानेर हामीहरू थाप्लो ठोक्छौँ, भाग्यदाता भगवान् भन्छौँ । नियतिको नियम भन्दै निरीहता व्यक्त गर्छौँ र मान्छे भन्दा इश्वरै ठूलो भन्ने निष्कर्षमा पुग्छौँ । वास्तवमा इश्वर मान्छेकै मनको उपज हो भन्ने कुरा भुल्छौँ ।

मनको विश्वास जीवनको निश्वासमा समाप्त हुन्छ भन्दै मान्छेले आफ्नो मनलाई जडवत् बनाइदिएको छ । चिन्तनको गतिशीलताद्वारा उद्वोधित हुनुपर्ने मन–भौतिक मान्छेकै मष्तिष्कको गुण हो भन्ने भुलेर लीला नाचमा रमाउँछ, कहिले हरिकीर्तनको खैँजडी मजुरा समाउँछ त कहिले शिवजीको डम्मरु बजाउँछ । त्यतिले पुगेन भने ‘कालीतन्त्र गाउँदै मान्छेकै भोग खान लामो जीब्रो लपलपाउँछ । इश्वरको लीला अपरम्पार, मान्छे निरीह नै हुन्छ लम्पसार ।

तपाई जे भन्नुस् मपाईँको मन मान्दैन । मान्छे कसरी निरीह ? जसले इश्वरलाई पालन–पोषण गर्छ, उसको सिंगारपटार गर्छ, अझ भनौ घरजम बसालीदिन्छ, ऊ कसरी सानो भयो ? जुन मनुष्यको मोहमा बाँधिएर तपाईको इश्वरले मपाईका माझ– मान्छे भइकन बारम्बार अवतार लिन्छ ऊ कसरी ठूलो हुन्छ ? सबैभन्दा ठूलो देवता मानिएका महादेवको वाहन गोरुलाई त मान्छेले नारेर जोत्छ । छाला काढेर ढोल पिट्छ, ऊ सानो हुने कुरै भएन । महादेवी मानिने भगवतीको वाहन बाघलाई पनि त मान्छेले चरामचुरुम चपाउँछन् र छाला टाँगेर वा विच्छाएर आफ्ना बैठकहरू सजाउँँछन् ।

वुद्धिका देवता मानिने गणेशको वाहन मुसोदेखि स्वर्गका राजा मानिने इन्द्रको वाहन हात्तीसम्म हेर्दा मान्छेका मुखमा आहारा नबन्ने कोही छैन । आफ्नै वाहनलाई कपाकप खाइदिदा पनि इश्वरको कुनै दया चल्दैन । टुलुटुलु हेर्नु सिवाय के उपाय रह्यो ? आखिर इश्वरको अन्नपानी उब्जाउने शक्ति जुन हो त्यो त मनुष्य नै भयो । मान्छेका पाखुरामा नै इश्वरको परान अडिएको छ । पौरख पुरुषार्थ गरेर, ज्ञानको उज्यालो छरेर मनुष्य जति जति अघि बढ्दै जान्छ उति उति उसको चिन्तनमा रहेको इश्वरवादी भ्रम पनि परिवर्तन हुँदै जान्छ । इश्वरका वाहनको के कुरा यमराजको त मान्छेले डर मान्दैन ।

उनको वाहनलाई छुकुना–छुकुनी पारेर मोमो खाने मान्छेलाई निर्भीक मान्नै प¥यो । पुराना काङ्ग्रेसी नेता गणेशमानले काठमाण्डूका जनतालाई डरछेरुवा–पानी मरुवा भने पनि म त्यो मान्दिन । जसले जेमराजको वाहनलाई त खाजा अर्नी बनाएर चटनीसँग खुपुखुपु खान्छ–मृत्यूको डर क्यै मान्दैन, उनीहरूलाई कसरी काँतर भन्नु ? ती त बहादुर हुन् बहादुर । सबैभन्दा बढी बहादुर । आखिर नेपालमा जे जति ठूला परिवर्तन भएका छन् ती काठमाण्डूबाटै भएका छन् । अघिअघि पनि त भनिन्थ्यो– ‘नेपाल गए पनि कपालसँगै ।’ त्यसर्थ मनुष्यका सामु महादेवको पनि जोड चल्दैन ।

नेपाल र कपालको साइनो जोडिँदा मनुष्यकै वस्ति र मस्तिष्कलाई संझना गरिन्छ । त्यतिखेर भाग्य संझनेहरू नभएका होइनन् । तर ती दुईतिर बज्ने डम्मरु जस्ता प्राणी हुन् भन्दा फरक पर्दैन । भित्री भेतना खोक्रो– निर्जीव छालाको बोक्रो, अरुले नचाउँदा नाच्ने बज्ने । ज्ञानी मानिसले इश्वरको सत्तालाई सदै चुनौती दिई आएका छन् । परन्तु मान्छेकै अर्को हिस्सा जो अज्ञानी मात्र छैन, स्वार्थी पनि छ, त्यसले ति ज्ञानीहरूलाई नै इश्वरको दर्जा दिँदै आफ्नो भ्रम जोगाउने श्रम पनि गरिआएका छन् ।

मनुष्यका केही अद्भूत लीलाहरू औँल्याउँदै मनुष्यलाई नै इश्वर बनाएका पनि छन् । त्यसो त इश्वरलाई लोप्पा ख्वाउने मान्छे स्वयम् इश्वर बन्नु बनाइनुभित्र केही कल्याणकारी काम–कुराहरूको सार्वजनिक प्रभाव पनि मेही बनेको हुन्छ । बुद्ध, कृष्ण, इसा, मोहम्मदको नाम संझेर काम बिर्सने हो भने कुरा अलग भयो नत्र भने ती सबै नै मनुष्यकै माइकालाल हुन् । ओसो र बाबाको पगरी प्रकृतिपुजक मनुष्य र पित्रृपुजक संस्कारले दिएको सम्मान मात्र हो । त्यसले इश्वरलाई मनुष्यकै अधीनस्थानमा बसाल्छ । असल मान्छे इश्वर भन्ने निष्कर्ष निकाल्छ । तपाईका कुरा र मपाईका कुरा माझ मेल भए पनि नभए पनि साँचो कुरा हो– इश्वरभन्दा मनुष्य ठूलो । मनुष्य नै हाम्रो धरती र आकाश छिचोल्ने बल–वैभवले सम्पन्न स्रष्टा हो, जसले आफ्नै आवश्यकता, अज्ञान र अन्यौलमा इश्वरको कल्पना गर्यो र समाजलाई सुखको तिर्सनामा डोर्याउँदै स्वर्ग र नर्कको कथा रच्यो । आफूले रचेको त्यही कथामा भुल्दै, झुल्दै र डुल्दै संस्कृतिको सुरचना गर्यो । समयको ज्ञानले

झक्झक्याउँदै विज्ञानको सुन्दर बगैँचामा पुगेपछि उसैले फेरि घोषणा गर्यो–इश्वर मर्यो । इश्वर मर्यो । त्यसैले इक्काइसौं सदीका मानिसहरूले भन्न पुगे–इश्वरभन्दा मनुष्य ठूलो । इश्वर भन्दा मनुष्य ठूलो ।
काठमाडाैं

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x