अभय श्रेष्ठपूर्वसन्ध्या
खच्चरको पिठ्युँ झैँ
दुःख बोक्नलाई मात्र थिएन मेरो जीवन ।
दुःखको बेहिसाब भारी बोकेर
हृदयको रगत कटकटिँदा
जब जब सुस्ताउन उभिन्थेँ
खच्चरलाई झैँ निर्दयतापूर्वक हिर्काइन्थ्यो मेरो पिठ्युँमा ।
मेरो विशाल र लाटो हृदयमा
हरेक कारबाहीपछि
ज्वारभाटा झैँ उठ्दै, फैँलँदै र बस्दै जान्थे
विद्रोहका तरङ्गहरू ।
हरेक पटक स्वतन्त्र प्यारको एक चुम्बनका लागि
तिम्रो जस्तै मेरो पनि कलेजाको रगत निचोरिएर
भिज्थे नसा नसा
रसाउँथ्यो मुटु ।
हरेक पटक जात र वर्णको बन्धन नाघेर
प्रेमिल मिलनको आकाङ्क्षामा
जब मेरो आँत रतिन्थ्यो
निर्ममतापूर्वक तातो पन्युँले डामिन्थ्यो मेरो अण्डकोश ।
झ्यालिन्चाको भाग्य झैँ
पुर्खाको दुखान्तबाट मुक्त भएर
जब आएँ आफ्नो भाग्य आफैंले कोर्न
ङ्ंकटकाल झैँ मेरो हकमा
हरेक क्षण निषेधित थिए
उदात्त प्रेम
दिलको बोली
र, आफ्नै ओठमा गुन्जिरहने मातृभाषाको लयालु गीत ।
द्रोणाचार्यको संकल्प झैँ
यो देशको राष्ट्रियता परिभाषित थियो
तिम्रै आँखाबाट,
म आफ्नै देशभित्र भइरहेको थिएँ परदेशी ।
विक्षिप्त प्रेमी झैँ
म आएँ यसरी नै यहाँसम्म
तिम्रो शासनको बन्दी भएर ।
इतिहासमा सबै छाडेर
जब प्यार र जिउने आधारमा पर्न थाल्छ बाधा
त्यसपछि नै बल्झिन्छ पुराना हिसाब–किताब
र, सुनामी झैँ सुरु हुन्छ सारा गडबडी ।
तालमा बिस्फोटको तरङ्ग झैँ
हरेक प्रहारले उब्जाउँदै गए मभित्र अनेक प्रश्नहरू
र, प्रश्नहरूको पहिलो धक्काले
धर्मरायो व्यवस्थाको पुरानो घडी
तर, चलिरह्यो निरन्तर
जब दोस्रो धक्काले पनि केही भएन
झन्झन् अनिवार्य हुँदै गयो मेरो मुक्ति
र, भीषण वर्षाअघिको आँधीजस्तै
तेस्रो धक्काको पूर्वसन्ध्यामा
मान्छे भएर म तिमीसँगै उभिन आइपुगेँ ।
त्यसपछि नै एकाएक रोकिएको हो यो देशमा
बिग्रँदै बिग्रँदै गएको लोकतन्त्रको घडी
बिनाबादल मेघ गर्जे झैँ
त्यसले नै गरेको हो सारा गडबडी ।
खच्चरको पिठयुँ झैँ
दुःख बोक्नलाई मात्र थिएन मेरो जीवन ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































